अमेरिका पुगेर राहुलको बीजेपीविरोधी बोली- आदिवासी, अडानी, अम्बानी र आरएसएसबारे के भने ? – Nepal Press

अमेरिका पुगेर राहुलको बीजेपीविरोधी बोली- आदिवासी, अडानी, अम्बानी र आरएसएसबारे के भने ?

काठमाडौं । हालसालै अमेरिकाको जर्जटाउन विश्वविद्यालय पुगेर भारतीय कंग्रेसका नेता तथा भारतीय सदनका प्रमुख प्रतिपक्षी दलका नेता राहुल गान्धीले बहसमा भाग लिए । एक घण्टा हाराहारी बोलेका उनको बोलीलाई लिएर भारतीय मिडियामा बहस भएको छ । भारतीय जनता पार्टी (बीजेपी) ले राहुलको बहसलाई चर्को आलोचना गरेको छ ।

विदेशमा पुगेर भारत र बीजेपीको विपक्षमा बोलेको र चीनको पक्षमा बोलेको भन्दै उनको चर्को आलोचना गरिरहेका छन् । तर, भारतीय अवार्ड बिजेता पत्रकार रविश कुमारले भने राहुलको तारिफ गरेका छन् । भारतका जेएनयू, बीएचयू जस्ता विश्वविद्यालयहरूका बहस तथा ‘गोदी मिडिया’ का कन्क्लेभहरूमा निम्तो नगरिएका राहुललाई विदेशीले निम्तो गर्नुपर्ने बाध्यता भएको बताएका छन् ।

उनले आफ्नो भिडिओमा बोल्दै राहुललाई विश्वविद्यालयमा निषेध गरिएको तर मोदीले सन २०१४ को चुनाव अगाडि भारतका विभिन्न क्याम्पसहरूमा बोल्दा कुनै विश्वविद्यालयका अधिकारीहरू कारवाहीमा नपरेको बताएका छन् । जर्जटाउवन विश्वविद्यालयको स्कुल अफ फरेन सर्विसमा बोल्दा मुलतः राहुलले आरएसएस, आरक्षण, आदिवासी, अडानी, अम्बानी, निर्वाचन, गठबन्धन आदिबारेमा बोलेका छन् ।

बीजेपी जातप्रथाको पक्षमा, कंग्रेस विपक्षमाः पछिल्लो चुनावपछि मोदीसँग मान्छे डराउन छोडे

राहुलले अहिले देखिएको बीजेपी र कंग्रेसको समस्या अहिलेको मात्रै नभएर लामो भएको बताएका छन् । हजार वर्षभन्दा धेरै अगाडिबाट भारतमा जातप्रथाको समस्या भएको र बीजेपी पक्ष तर कंग्रेस विपक्षीमा भएको उनले बताए । उनले बीजेपीसँगै राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को पनि आलोचना गरे । भारतको शिक्षामा आरएसएसले खराबी गरेको बताए । बीजेपीले भन्ने भारत विगतको भारत भएको तर आफूहरूले भन्ने भारत भविष्यको भन्दै उनले पटकपटक बीजेपी र आरएसएसको आलोचना गरे ।

बीजेपीले सन २०२४ को चुनावमा भने खराब प्रदर्शन गरेर मोदीको नुर गिरेको उनले बताए । मोदी गुजरातमा मुख्यमन्त्री हुँदा र भारतमा दश वर्ष प्रधानमन्त्री हुँदा सरकार र सदन एकछत्र चलाएकोमा अहिले त्यस्तो नभएको भन्दै राहुलले भने, ‘अब मोदीसँग कोहि डराउँदैनन् ।’

मोदीले आफूले भगवानसँग कुरा गर्छु भन्दा आफूहरुले चुनावमा त्यो कुरालाई ध्वस्त बनाएको राहुलले बताए । तर, मोदीसँग विचार फरक भएपनि आफू उनले भने, ‘तर, म मोदीलाई घृणा चैँ गर्दिनँ ।’

भारतका अनुसन्धान निकाय बीजेपीको कब्जामा, बैंक रोक्का हुँदा चुनावमा कंग्रेस

भारतका सबै अनुसन्धान निकाय बीजेपीको कब्जामा भएको राहुलले बताए । पछिल्ल्लो चुनावमा कंग्रेसले आफ्नो बैंक खाता रोक्का हुँदाहुँदै चुनाव लडेको बताए ।

उनले भने, ‘हाम्रा कोषाध्यक्षले बैंक खाता रोक्का भएको छ भने । मैले केहि चुनावमा जाउ भने ।’

भारतमा कंग्रेस राहुलका हजुरबा देखि अहिले ज्यादै कमजोर भएको भन्दा राहुलले कंग्रेस खराब समयबाट जुधेर आएको र आफूलाई पुनःनिर्माण गर्न सफल भएको बताए । भारतका बैंकहरुको सरकारीकरण र पछि नीजिकरण दुवैमा कंग्रेस भएको भन्दै उनले कंग्रेस बदलिन समस्या नहुने बताए ।

९० प्रतिशत भारतीय जनतामा स्वतन्त्रताको लाभ आएको छैन

राहुलले भारतका २०० शीर्ष व्यापारिक घरानामा भारतका ९० प्रतिशत जाति नभएको, भारतीय मूलधारका मिडियामा उनीहरू गयल भएको र सरकारले उनीहरूलाई नहेरेको बताए । त्यही भएर आफूले जाति गणनाको कुरा गरेको बताए । सबैजातिको राज्यमा ‘भागिदारी’ बढाउन आफूले यस्तो ल्याएको उनले बताए ।

उनले भने, ‘९० प्रतिशत जनतालाई अवसर हुँदै नहुने देशमा मलाई बस्नु छैन । यो हो मेरो अडान ।’

आफूले भारतका आदिवासी, दलित, तल्ल्लो तप्कालाई हेर्ने काम चाहेको र बीजेपी सरकारबाट त्यो नभएको उनले बताए । सरकारले धनीहरूको ऋण मिनाहा गरेको र साना तथा मझौला व्यवसायीहरूको नगरेको भन्दै उनले आलोचना गरे । भारतमा पास अंकमात्रै ल्याउनेले डाक्टर बन्न पाउने तर ९० प्रतिशत कटाउनेसँग पैसा नहुँदा डाक्टर बन्न नपाउने राहुलले बताएर आफू यस्तो पक्षमा नभएको बताए ।

बीजेपी र मिडियाले खेल्ने भएकोले चुनाव जितेरमात्रै विपक्षी दलको नेता चयन गर्ने

प्रश्नकर्ताले भारतमा इण्डिया गठबन्धनको एक नेता कहिले बन्छ ? को हो नेता भन्ने प्रश्नमा राहुले आफूले त्यो नभन्ने बताए । किन नभन्ने भन्ने सवालमा उनले अहिले नै त्यसो गर्दा को नेता बन्ने कस्तो नेता बन्ने भनेर बीजेपी र मिडियाले गिजोल्ने भएर घोषणा नगरेको भन्दै उनले भने, ‘चुनाव जितेपछि मात्रै हामी यसबारेमा काम गर्छौ ।’

कंग्रेसले धेरै गठबन्धन सरकारको नेतृत्व गरेको अनुभव भएकोले गठबन्धन टिकाउन कुनै समस्या नहुने पनि उनले बताए । चुनाव जित्ने भन्नुको अर्थ उनले बहुमत ल्याउने भनेका हुन् । प्रश्नकर्ताले शिवसेना जस्ता हिन्दूवादीेदेखि धर्मनिरपेक्ष दलहरु सबैको गठबन्धन भएको भन्दै मोदीलाई सत्ता बाहिर लाने बाहेक अरु के कुरा मिल्छ भन्ने प्रश्नमा राहुलले भने, ‘हाम्रा धेरै कुरामा समान मत छ ।’

अडानी अम्बानीले उत्पादन गदैैनन्, चीनबाट किनेको समान बेच्छन्

मोदीले जनताको लागि होइन दुई-तीन थान व्यापारिक समुहको लागि काम गर्ने उनले बताए ।

राहुलले भारतीय सत्तासँग निकट भएका मानिने व्यापारिक घरानाका दुई ठूला अनुहार अम्बानी र अडानकोको नामै लिए । उनले उनीहरुले कुनै उत्पादनमा काम नगरेको तर सामान किनेर बेचेर नाफा लिने काम मात्रै गरेको उनले बताए । उनीहरुले चीनबाट किनेको सामान बिक्रि गर्ने गरेको राहुले बताए ।

सन् १९४०, ५० र ६० को दशकमा गाडीदेखि विद्युतीय सामानहरू अमेरिका तथा यूरोपमा बनेको मात्रै पाइनेमा अहिले त्यस्तो नभएर चीनमा बन्ने बताए । चीनले उत्पादनमा ध्यान दिएको तर भारतले खपतमा ध्यान दिएको भन्दै उनले भने, ‘जीएसटी लाउनु खपतमा जोड गर्नु हो । जीएसटी उत्पादनमा खराब हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर