राप्ती प्रतिष्ठानमा १५ करोडको क्याथ ल्याब मेसिन खरिद – Nepal Press

राप्ती प्रतिष्ठानमा १५ करोडको क्याथ ल्याब मेसिन खरिद

३ अर्ब बढी लागतमा ४ सय बेडको भवन निर्माण गरिने

रुपन्देही । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब ‘हर्ट अट्याक’ को उपचार हुने भएको छ । प्रतिष्ठानले मुटु सम्बन्धी सम्पूर्ण उपचारका लागि आवश्यक तयारी थालेको छ ।

मुटु उपचारका लागि आवश्यक पर्ने मेसिन क्याथ ल्याब खरिदको तयारी गरिएको छ । सम्पूर्ण प्रक्रिया समयमै पूरा हुन सकेमा आगामी ८ महिनाभित्र मुटुको उपचार सेवा सुरु गरिने प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले जानकारी दिए ।

दाङमा अहिले सबै विधाका उपचार सेवा सुरु भए पनि मुटु र न्यूरो सर्जरी सम्बन्धी उपचार सुरु हुन सकेको छैन । चालु आर्थिक वर्षभित्र मुटुको उपचार सेवा सुरु गरिने छ ।

‘मेसिनसहित सम्पूर्ण सेवा सञ्चालनका लागि कुल १५ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ’ डा. लामिछानेले भने, ‘हामीले मुटु सम्बन्धी अपरेसनको काम गर्नेछौं ।’

मुटुको सेवा सञ्चालनका लागि प्रतिष्ठानले छुट्टै युनिट सञ्चालन गर्नेछ । अहिले दाङमा मुटु सम्बन्धी उपचार सेवा नहुँदा यस क्षेत्रका जनताले निकै सास्ती व्यहोर्नुपरेको छ ।

‘दीर्घ रोगको उपचारका लागि अन्यत्र जान सकिने भए पनि मानिसहरूलाई हर्ट अट्याक आकस्मिक रूपमा हुन्छ,’ लामिछानेले भने, ‘तुरुन्त उपचार नगरे मानिसको ज्यान नै जाने खतरा हुन्छ, त्यही संवेदनशीलताका कारण हामीले जतिसक्दो छिटो मुटु रोगको उपचार सेवा सञ्चालन गर्ने तयारी गरेका हौं ।’

प्रतिष्ठानमा मुटु र न्यूरो बाहेकको अपरेसनसहितको सेवा भने सञ्चालन भइरहेको छ । विभिन्न सेवाहरू विस्तार भएपछि बिरामीहरूको चाप निकै बढेको उपकुलपति लामिछानेले जानकारी दिए ।

अहिले प्रतिष्ठानमा एकै पटक ६ वटा अपरेसन थ्रिएटर सञ्चालन भइरहेका छन् । प्रतिष्ठानबाट दैनिक ८ सय बढी बिरामीले विभिन्न विभागबाट ओपिडि सेवा लिइरहेका छन् ।

प्रतिष्ठानमा ४ सय बेडको भवन निर्माणका लागि सम्भाव्यता अध्ययनसहित लागत इस्टिमेटको काम पूरा भइसकेको छ ।

उक्त भवन निर्माणका लागि भ्याटबाहेक ३ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । उक्त रकम एकै आर्थिक वर्षमा विनियोजन गर्न गाह्रो हुने भएकाले बहुवर्षीय योजनामा राखेर काम गरिने लामिछानेले जानकारी दिए ।

पछिल्लो समय राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवामा निकै सुधार आएको छ । प्रतिष्ठानमा उपचारसँगै चिकित्सा सम्बन्धी पढाइहरू सुरु भइरहेका छन् ।

अहिले बीएससी नर्सिङमा ४० जना विद्यार्थीहरूले अध्ययन गरिरहेको प्रतिष्ठानकी लेक्चरर पूजा शर्माले जानकारी दिइन् ।

उनका अनुसार चारवर्षे बीएससी नर्सिङमा अहिले दोस्रो वर्षको कक्षा सञ्चालन भइरहेको छ । त्यसैगरी तीनवर्षे बीएनएममा पनि पहिलो र दोस्रो वर्षका कक्षाहरू सञ्चालन भइरहेका छन् ।

दुई तहको कक्षामा २०/२० जना गरेर ४० जनाले अध्ययन गरिरहेको प्रतिष्ठानकी असिस्टेन्ट प्रोफेसर विनिता खत्रीले जानकारी दिइन् । उनका अनुसार यस मध्ये ७५ प्रतिशत छात्रवृत्ति र २५ प्रतिशत शुल्क तिरेर अध्ययन गरिरहेका छन् ।

प्रतिष्ठानमा अहिले एमडीएमएसको पढाइ सञ्चालन भइरहेको छ । यस वर्षदेखि एमबीबीएसको पढाइ सञ्चालनका लागि प्रतिष्ठानले ५० जनाको कोटा प्राप्त गरेको छ । अहिले प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालनका लागि ११ वटा कोठा प्रयोग भइरहेको छ ।

नयाँ भवन निर्माण भएपछि उपचार सेवा र शैक्षिक कार्यक्रम सञ्चालनका लागि थप सहयोग पुग्ने प्रतिष्ठानका उपकुलपति लामिछानेले जानकारी दिए ।

‘अबको केही वर्षमा राप्ती प्रतिष्ठान मुलुककै उत्कृष्ट स्वास्थ्य उपचार गर्ने संस्थाको रूपमा स्थापित हुन्छ,’ उनले भने, ‘अहिले पनि केही जटिल प्रकारका उपचारका लागि हामीले रिफर गर्नुपर्ने बाध्यता रहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *