बुटवलमा दुई इन्जिनियरिङ कलेज खोल्ने होडबाजी – Nepal Press

बुटवलमा दुई इन्जिनियरिङ कलेज खोल्ने होडबाजी

बीटीआईमा सबै क्षेत्र र अटो भिलेजले अटो इन्जिनियरिङलाई बनाए आधार 

रुपन्देही । बुटवलमा दुई इन्जिनियरिङ कलेज सञ्चालनका लागि सम्बन्धन लिने होडबाजीजस्तै चलेको छ । लामो समयदेखि प्राविधिक शिक्षाको आधारभूत कक्षा सञ्चालन गर्दै आएको बीटीआईमा समग्र विषयमा अध्ययन हुने गरी र बुटवल अटो इन्जिनियरिङ एसोसिएसनमा अटो क्षेत्रको मात्रै अध्ययन गराउने गरी इन्जिनियरिङ कलेज सञ्चालन गर्ने गरी तयारी गरिएको हो ।

दुई वटामै अलग विद्यागत अध्यापन हुने भएकाले यहाँको स्थानीय सरकारले यी दुवैलाई आफ्नो अध्ययन अघि बढाउन सघाएको छ तर एकै पटक एकै पालिकामा कसरी यी दुई इन्जिनियरिङ कलेज चलाउन सकिन्छ भन्ने प्रश्न पनि सँगै उठेको छ ।

बीटीआईमा अहिले सञ्चालन भइरहेको प्राविधिक शिक्षालाई निरन्तरता दिँदै काठमाडौं विश्वविद्यालयको आंगिक क्याम्पसजस्तै बृहत् खालको प्राविधिक शिक्षालय बनाउन अर्थमन्त्री विष्णुप्रसाद पौडेल कस्सिएका छन् । उनले यसलाई बुटवललाई आर्थिक हब बनाउन यो प्राविधिक शिक्षालय अत्यावश्यक रहेको बताउँदै आएका छन् ।

बुटवल उपमहानगरले भने यी दुवैमध्ये कुनै एकले जसले पहिले स्वीकृति ल्याउन सक्छ उही मात्रै पहिलो चरणमा चल्न सक्ने जनाएको छ । चालु वर्षको नीति तथा कार्यक्रममै बजेट राखेर अटो इन्जिनियरिङ कलेजको सम्भाव्यता अध्ययन भइसकेको छ भने मेयर खेलराज पाण्डे आफै सहभागी भएर बीटीआईलाई प्राविधिक शिक्षालय बनाउने छलफल गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर काठमाण्डौं विश्वविद्यालयसँग छलफलमा सहभागी भएका छन् ।

‘स्थानीय सरकारले यहाँ त्यो आवश्यकता महसुस गरेर नीति तथा कार्यक्रममै प्राथमिकता साथ राखेर अघि बढेको हो, अहिले दुवैले चाहना राखेर अघि बढेको अवस्था छ, दुवै सञ्चालन हुन समस्या होला जसले पहिले प्रक्रिया पूरा गरेर अघि बढ्छ उसैलाई हाम्रो साथ रहन्छ’ पाण्डेले भने ।

बुटवलको मैनावगरमा इन्जिनियरिङ कलेजको स्थापनाको सम्भाव्यता अध्ययन गरिएको छ । स्थानीय सरकारको योजनामै अटो इन्जिनियरिङ कलेजलाई प्राथमिकतामा राखिएपछि यसको अध्ययनलाई अगाडि बढाइएको हो ।

बुटवल उपमहानगरपालिकाको आर्थिक र काठमाडौँ विश्वविद्यालयको प्राविधिक सहयोगमा बुटवलमा अटो इन्जिनियरिङ कलेज स्थापनाको लागि सम्भाव्यता अध्ययन गरिएको बुटवलमा अटो इन्जिनियरिङ एसोसिएसनले जनाएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै बुटवलमा इन्जिनियर कलेजको आवश्यकता रहेको र त्यो चलाउन पर्याप्त आधार रहेको एसोसिएसनले जनाएको छ । एसोसिएसनका अध्यक्ष तुलसीराम न्यौपानेले बुटवलमा अटो एसोसिएसनको पहलमा सुरुवात गरिएको कलेजको स्थापनाका लागि वर्तमान शिक्षा ऐन नै बाधक रहे पनि तत्काल डिप्लोमा अध्ययन गराउन सकिने बताए ।

न्यौपानेले बुटवलमा प्राविधिक धारको अटो इन्जिनियरिङ कलेज आवश्यक रहेको विषयमा बुटवल उपमहानगरपालिकाले पनि पटकपटक आवाज उठाउँदै आएको र चालु आवको नीति तथा कार्यक्रममा समेटिएको बताए । सोही आधारमा प्रतिवेदन तयार पार्न काठमाण्डौं विश्व विद्यालयका डा. हरि न्यौपाने नेतृत्वको टोलीले तयार पारेको हो ।

बुटवलमा रहेको अटो भिलेजमा हाल १ हजारभन्दा बढी व्यवसायीहरू रहेको जनाइएको छ । जसमा ८ हजारभन्दा बढी कर्मचारीहरुले रोजगारी पाएको अटो इन्जिनियरिङ एशोसिएशसनको तथ्यांक छ । जसमा करिब २० प्रतिशत मात्रै डिप्लोमा लेभलको कोर्स पूरा गरेका दक्ष जनशक्ति रहेका छन् भने अन्य सबै अन्य विषय पढेका वा व्यवहारिक सीप, दक्षता भएका जनशक्तिहरूले काम गर्दै आएको बताइएको छ । यो क्षेत्रमा बीटीआई, केएनआइटी, लुम्बिनी इन्जिनियरिङ कलेजमा यसको सैद्धान्तिक अध्ययन भए पनि यसको प्राविधिक तालिमका लागि यहीँ पठाउने गरिन्छ । यहाँ नेपाली सेनाले पनि शान्ति सेनामा जानेहरुलाई तालिमका लागि पढाउने गर्दछ । यो कार्यकालमा ४४ जना नेपाली सेनालाई यहाँबाट तालिम दिएर बाहिर पठाएको एशोसियसनका अध्यक्ष न्यौपानेले जनाए ।

बीटीआईलाई इन्जिनियरिङ क्याम्पस बनाउने तयारी

लुम्बिनी प्रदेशको आर्थिक राजधानी बनाउने प्रयास भइरहेको बुटवलमा प्राविधिक क्षेत्रको विकासका लागि सरकारी तहबाटै इन्जिनियरिङ क्याम्पस सञ्चालन गर्ने तयारी सुरु भएको छ ।

अर्थमन्त्री विष्णु पौडेल, काठमाडौं विश्वविद्यालयका उपकुलपछि डा. भोला थापा र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले त्यसको प्रक्रिया अघि बढाएका हुन् । बुटवलको विकासका लागि बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई) प्रमुख संस्था मानिन्छ । त्यसलाई अहिले प्राविधिक शिक्षालय (इन्जिनियरिङ कलेज) बनाउन थालिएको हो । बीटीआईमा अहिले अध्यापन भइरहेका कोर्सलाई यथावत् राख्दै काठमाडौं विश्वविद्यालयको आंगिक क्याप्सन गराउने गरी प्रस्ताव गरिएको छ ।

बुटवल र पश्चिम नेपालकै इलेकट्रिकल क्षेत्रको दक्ष जनशक्ति उत्पादनमा महत्त्वपूर्ण योगदान गरिरहेको बीटीआईलाई काठमाडौं विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा प्राविधिक शिक्षालय बनाउने गरी अर्थमन्त्री विष्णु पौडेलले प्रक्रिया अघि बढाएका हुन् । त्यसमा बुटवल उपमहानगरपालिकाले सहकार्य गर्ने जनाइएको छ ।

अर्थमन्त्री पौडेलसँग केही समयअघि काठमाडौंमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, बीटीआईका पूर्व विद्यार्थी पोखराका हरि पाण्डेसहितले छलफल गरेका छन् ।

छलफलमा बीटीआईलाई काठमाडौं विश्वविद्यालय (केयू)को आंगिक क्याम्पसको रूपमा स्थापित गरी इन्जिनियरिङ विषयको अध्यापनका लागि अनुसन्धान प्रक्रिया अघि बढाउने सहमतिसहित छलफल भएको अर्थमन्त्री पौडेलले बताएका थिए ।

उनले बीटीआईले उत्पादन गरेको अधिकांश जनशक्ति अहिले पनि रोजगारीमा रहेको र विदेशमा पनि दक्ष जनशक्तिको रूपमा स्थापित भइरहेको बताए ।

‘बुटवलको विकासमा बीटीआई एक प्रतिष्ठित र पुरानो संस्था हो, त्यसलाई अब एक उत्कृष्ट शैक्षिक संस्थाको रूपमा विकास गरेर पश्चिम नेपालकै प्राविधिक शिक्षाको गन्तव्य बनाउने प्रयास सुरु गरेका छौँ,’ उनले भने, ‘त्यसका लागि काठमाडौं विश्वविद्यालयसँग पहिलो चरणको छलफल सकेर अध्ययन सुरु गरेका छौँ ।’

बीटीआईमा नेपाल हाइड्रो र इलेक्ट्रिक कम्पनीको १ दशमलव ३ प्रतिशत सेयर छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भए पनि त्यसलाई सरकारले २०६० सालमा सरकार मातहत ल्याएर गैरनाफामूलक प्राविधिक शैक्षिक संस्थामा परिणत गरेको थियो । अहिले बीटीआई सञ्चालन समितिमा बुटवल उपमहानगरपालिकाका प्रमुख अध्यक्ष, अर्थ मन्त्रालय, उद्योग मन्त्रालयसहित ४ जना सरकारी, उद्योग वाणिज्य संघ, रूपन्देही उद्योग संघ र इन्जिनियरिङ एशोसियसन लुम्बिनीबाट एक/एक प्रतिनिधि रहने व्यवस्था छ ।

यस क्षेत्रमा प्राविधिक शिक्षा अध्यापन गर्नका लागि लुम्बिनी इन्जिनियरिङ कलेज भलबारी, केएनआईटी तामनगर रहेका छन् भने प्रदेश प्राविधिक विश्वविद्यालय भने बाँकेमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर