विश्व बैंकको सहयोगमा तीन सडक स्तरोन्नति गरिँदै – Nepal Press

विश्व बैंकको सहयोगमा तीन सडक स्तरोन्नति गरिँदै

गलकोट । विश्व बैंकको अनुदान सहयोगमा यहाँका तीन सडक तीव्र गतिमा स्तरोन्नति भइरहेका छन् । गत असारमा शिलान्यास गरिएका तीनवटै सडकको एकैसाथ स्तरोन्नति थालिएको हो ।

स्तरोन्नतिसँगै सडक कालोपत्र गर्न निर्माण व्यवसायीसँग गत जेठ २३ गते एक वर्षभित्र सम्पन्न गर्नेगरी रु ४९ करोड २२ लाखमा ठेक्का सम्झौता भएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । उक्त सडक हालसम्मकै नमूना हुनेगरी स्तरोन्नतिसहित कालोपत्र गरिने उनले बताए ।

विसं २०७७ मा विश्व बैंक र बागलुङ नगरपालिकाबीच अनुदान सम्झौता भए पनि ढिलोगरी सडक निर्माणको ठेक्का सम्झौता भएको छ । विश्व बैंकको अनुदान सहयोगमा बागलुङ–७ को मुलपानीबाट तितौरेसम्म आठ दशमलव छ किलोमिटर, ओडारचौरबाट ढोडेनीसम्म दुई दशमलव दुई किमी र गणेश घुम्तीबाट नीरयघाटको एक दशमलव पाँत किमी सडक कालोपत्रसहित स्तरोन्नति भइरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

नगरभित्र सडक कालोपत्र गर्न पहिलोपटक ठूलो रकममा ठेक्का सम्झौता भएको बताउँदै आगामी जेठभित्र कालोपत्र सक्नेगरी निर्माण व्यवसायीले सडक चौडा पार्ने, पर्खाला लगाउने र ग्याबिन जाली भर्ने काम गरिरहेका नगरप्रमुख श्रेष्ठले उल्लेख गरे ।

नगरपालिका र विश्व बैंकको सम्झौता अनुसार रु ५८ करोड रकम अनुदानमार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गर्ने उल्लेख गरिएको छ । सडक निर्माणको जिम्मा आशिष÷फेवा जेवीले लिएको छ । नगरपालिका भित्र निर्माण हुने तीन ठूला सडकले विकासको मोडेलसम्बन्धी हुने अपेक्षा गरिएको छ । उक्त सडक प्रविधिमैत्रीसमेत हुनेछन् ।

उक्त सडकहरु आठ मिटर चौडा हुनेछन् भने तीन सडकको लम्बाइ १३ किमी हुनेछ । देशभरका नगरपालिकामध्ये १७ नगरपालिकाले मात्रै विश्व बैकको अनुदान पाएका बागलुङ नगरपालिकाले जनाएको छ ।

अहिले तीनवटै सडक चौडा पार्न, पर्खाल लगाउने काममा दुई सय मजदुर, आठवटा ठूला स्काभेटर परिचालन गरिएको निर्माण व्यवसायी आशिष फेवा जेवीका राजेन्द्र पहाडीले बताए । भारी वर्षाका कारण काम गर्न समस्या भइरहेको भन्दै वर्षा रोकिएपछि पुनः कामको गतिलाई वृद्धि गरिने उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर