मध्यरातमा सेतो चैत्य हेर्दा… – Nepal Press
ब्लग

मध्यरातमा सेतो चैत्य हेर्दा…

चीनबाट फर्केर कुलमणि ज्ञवाली

‘लौ न बर्बारद भयो, खत्तम भयो’ –  रातको नौ बजेतिर हामीले खानपिन गरिरहेको टेबुलमा आत्तिँदै लिज आइपुगिन् । एक छिन त हामी पनि अलमल्ल पर्यौं, के भयो भनेर । पछि थाहा भो, रेष्टुरेन्टको बिल १,०५४ युआन चाइना रेडियो इन्टरनेशनल बेइजिङ्गमा कार्यरत पत्रकार चेतनाथ आचार्यले तिर्नुभएछ । ९ जनाले खाएको बिल एउटैले तिरिदिनु उनका लागि बिलकुल नौलो र अनौठो भएछ । हाम्रोमा भने साथीभाइसँग खाँदा एउटैले बिल तिर्नु सामान्य मानिन्छ । तर उनको रोंतरोंत पछिसम्म पनि जारी रह्यो । लिज हाम्रो चीन यात्राको लागि तोकिएकी दोभासे थिइन् । अंग्रेजीलाई कम महत्त्व दिने चिनियाँहरुसँग संवाद गर्ने हाम्रो माध्यम नै उनै थिइन् ।

जति रात छिप्पिन्थ्यो, मलाई डर लाग्थ्यो, कतै नेपालका राष्ट्रिय विभूति कलाकार अरनिकोले ७ सय ४५ वर्षअघि बनाएको सेतो चैत्य पुग्न भ्याइँदैन कि भनेर । नेपाल चाइना मिडिया फोरमको सिफारिसमा पत्रकारहरू मनोजकुमार दाहाल, अमृतनाथ तिमिल्सिना, नागरिक उड्डयन प्राधिकरणका अमृत आचार्य, राष्ट्रिय सहकारी बोर्डका ओमप्रकाश गैरे, चितवनका युवा किसान शरद चौधरी सहित यो पङ्क्तिकार नेपालबाट दुई साताको लागि चीन पुगेको थियो । अफ्रिकी उप प्राध्यापक टेण्डाइ गोण्डो पनि हामीसँगै सामेल थिए ।

अगस्त १८ अर्थात् भदौ २ गते आइतबारको दिन । बिहानैदेखि ग्रेट वाल तथा ऐतिहासिक एवं पर्यटकीय स्थल ग्रीष्मकालीन दरबार (समर प्यालेस) घुम्दा समय नमिलेर खाना खाने मेसो परेको थिएन । भोक तथा थकाइले लखतरान हामीहरू बेइजिङ डक (यहाँको लोकप्रिय हाँसको परिकार) खानका लागि ‘बेइदउ नेभिगेशन सेटेलाइट बिग डाटा डिजाष्टर प्रिभेन्सन एण्ड रिलिप अप्लिकेशन फर डेभलपिङ्ग कन्ट्रिज’ सम्बन्धि सेमिनारमा भाग लिन आएका अफगानिस्तान, इजिप्ट, म्यानमार र क्युबाका २१ सहभागी तथा कुइचाऊ एकेडेमी अफ साइन्सेजका अधिकारीहरुलाई छाडेर ट्याक्सीमा सिछेन काउण्टीको फुछेन्ङ्गमेन्नेइस्थित एक रेष्टुरेन्टमा पुगेका थियौँ । यहाँ खानपिन गरी सेतो चैत्य हेर्न जाने योजना थियो ।

हाम्रो उद्देश्य खाना भन्दा नेपाल र चीनबीचको सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको रूपमा रहेको नेपाली कलाकार अरनिकोले बनाएको प्यागोडा शैलीको सेतो चैत्य हेर्नु थियो । बेइजिङ भ्रमण तालिकामा यो ठाउँ परेको थिएन । राष्ट्रियताको हुटहुटीले हामीले भने यसलाई नहेरी नछाड्ने भयौँ । हाम्रो अन्तर मनलाई बुझेर नै चेतनाथजीले हामीलाई त्यहाँ पुर्‍याउने हुनुभएको थियो । त्यही भएरै हामी ग्रीष्मकालीन दरबारबाट अरू सहभागीसँग छुट्टिएर यता लागेका थियौँ । हतार हतार रेष्टुरेन्टबाट निस्कनै लाग्दा त्यसका सञ्चालकहरूले ढाका टोपी लगाएका हामीलाई नेपाली भनेर चिनिहाले । बाहिरसम्म बिदाइ गर्न आए र हामीसँग सामूहिक फोटो खिचाए । यो नेपालीप्रतिको सम्मान थियो ।

रेष्टुरेन्टबाट निस्किएर हतारिँदै नगर बस चढ्यौँ । दश बज्नै लाग्दा सेतो चैत्यमा पुगियो । रात छिप्पिनै लागेको समयमा पुगेका चौकीदारले हामीलाई भित्र पस्न भने दिएनन् । नेपाली भनेर परिचय दियौँ, तैपनि रातको समयमा प्रवेश बन्द भइसकेले पस्न पाउने अवस्था रहेन । नियमका अगाडि चौकीदारको पनि केहि चल्दैनथ्यो । सडक र गल्लीबाट चैत्यको सेतो टुप्पो देखियो, तर धीत मरेन ।

अन्तिममा एउटा उपाय जुर्‍यो, साइडको पाँच तल्ले रेष्टुरेन्टको छतबाट चैत्य नियाल्ने । ‘याओ क्याफे’ रेष्टुरेन्ट सञ्चालकसँग दोभासे लिजले कुरा मिलाइन् । छतमा रमाइरहेका ग्राहकलाई वाधा नपुग्ने गरी स्तूप हेर्न अनुमति पाएपछि नौ जनाको समूह कोही लिफ्ट चढेर त कोही सिढीं चढेरै छतमा पुग्यौँ ।

छतैभरि युवायुवतीहरू कफी, बियर र वाइनसँग रमाइरहेका थिए । रातको सवा दश भैसकेको थियो । त्यहाँबाट मधुरो प्रकाशमा टल्किरहेको सेतो स्तूप हेर्‍यौँ, एक अफ्रिकी र एक चिनियाँसहितको टीमले फोटो खिचायौँ । नेपाली कलाकारले विशाल छिमेकी देशको राजधानीमा बनाएको विशाल चैत्य परैबाट हेर्दा पनि छाती गर्वले फुल्यो । त्यति टाढाबाट यहाँ आएर अरनिकोले कीर्ति राख्ने गरी बनाएको चैत्य बेइजिङ पुग्ने प्रायः सबैको रोजाइमा पर्छ ।

राजा जय भीमदेव मल्लको पालामा कलाकार अरनिकोले १३ औँ शताब्दीमा बेइजिङ पुगेर बनाएका थिए सेतो चैत्य । प्रसिद्ध प्यागोडा शैलीको उक्त चैत्य अहिले पनि नेपाल–चीन सम्बन्धको सेतु बनिरहेको छ । नेपाली नागरिकलाई निःशुल्क प्रवेश पाइने एक मात्र स्थान हो यो । चिनियाँ र अन्य देशका पर्यटकले २० युआन तिर्नुपर्छ ।

सन् १२७१ मा निर्माण शुरु भएर आठ वर्षमा सन् १२७९ मा सम्पन्न भएको यो स्तूपलाई चिनियाँहरू ‘ह्वाइट प्यागोडा’ ले चिन्छन् । यसलाई चिनियाँ भाषामा पाइथा स भनिन्छ जसको अर्थ सेतो चैत्य हो । ५०.९ मिटर अग्लो र ८१० वर्गमिटर क्षेत्रफलमा फैलिएको यो चैत्य चीनको सबैभन्दा पुरानो र ठूलो चैत्य रहेछ ।

अरनिकोले यो चैत्य निर्माण गर्दा चीनमा युआन वंशको शासन रहेको थियो । पछि यसलाई मिङ वंशमा पुनर्निर्माण गरियो र मिआवोयिङ मन्दिर नामकरण गरियो । मिआवोयिङको अर्थ अद्भूत फल प्राप्त गर्नु हुन्छ । चिनियाँहरु यो मन्दिरमा आएर वर माग्दा उद्भूत फल प्राप्त हुन्छ भन्ने विश्वास गर्दा रहेछन् । पत्रकार आचार्यका अनुसार चैत्यको अगाडि दुई वटा बौद्ध मन्दिरहरू रहेका छन् । बौद्ध मन्दिरमा विभिन्न मुद्रामा शाक्यमुनि बुद्धका मूर्तिहरू रहेका छन् । स्तूपा काठमाण्डौंको स्वयम्भू र बौद्धनाथको स्तूपासँग मिल्दोजुल्दो छ ।

चीनमा अरनिकोले थुप्रै चैत्य निर्माण गरेका थिए । तर भूकम्प र अन्य प्राकृतिक विपत्तिबाट नष्ट भए पनि बेइजिङ्गसँगै वल्लो सान्सी प्रान्तको वु थाइसानमा भने जीवन्त छ । थाइसानको चैत्यमा बुद्धका छोरा प्रह्लादको मूर्ति समेत रहेको छ ।

चीनका तत्कालीन प्रभावशाली सम्राट् कुब्ला खाँका राजगुरु पाहसपाले अरनिकोसहित ८० नेपाली कलाकारलाई चीन लगेका थिए । न् १२४५ मा अहिलेको ललितपुर पाटनमा जन्मिएका अरनिको नेपालमा विवाहित श्रीमती छाडेर चीन गएका थिए । उनले उतै रजौटाका छोरीहरू समेत गरी नौ वटा औपचारिक विवाह गरेका थिए भने केहि ल्याइते श्रीमती पनि थिए भनिन्छ । उनको मृत्यु ६२ वर्षको उमेरमा सन् १३०६ मा चीनमै भएको थियो ।


सरकारले राष्ट्रिय विभूति घोषणा गरेर उच्च सम्मान दिएका कलाकार अरनिकोको बाल्यकालको नाम बलबाह रहेको र चीनमा आउँदा कलिलो उमेरको महिला जस्तै भएकाले चिनियाँहरूले आनिक भनेर बोलाउँदा बोलाउँदै अरनिको नाम रहेको इतिहास रहेछ । रात छिप्पिन लागिसकेको थियो । भित्रै पसेर चैत्यको कुना कुना हेर्ने धोको भने अधुरै रह्यो । भोलिपल्ट पनि सार्वजनिक बिदा परेकाले हामीले चाहेर पनि अवलोकन गर्ने अवस्था थिएन । चीनमा अध्ययन गरेर नेपाल फर्किएकाहरूको संस्था अरनिको समाजले नेपाली कलाकारको उच्च सम्मानमा उनको शालिक स्थापना गरेका रहेछन् । सेतो चैत्य घुम्ने चिनियाँ र अन्य देशका पर्यटकले नेपाल र नेपाली कलाकारको नाम कण्ठै पारेर जाँदा रहेछन् ।

(तस्बिरहरू : चेतनाथ आचार्य, शरद चौधरी, ओम प्रकार गैरे र पङ्क्तिकार स्वयं)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *