करिब ३ महिना लगाएर मर्मत गरिएको नेपाल एयरलाइन्सको बाइडबडी जहाज काठमाडौं आइपुग्यो
काठमाडौँ । नेपाल एयरलाइन्सको वाइडबडी जहाज मर्मत पछि आज काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको छ । गत जुनमा नियमित मर्मतका लागि इटालीको नेपोल्समा लगिएको जहाज सी चेक पछि आज काठमाडौँ ल्याइएको हो ।
बाइडबडी ३३०-९ एन एलवाइ करसाइन भएको जहाजलाई आकाशमा उड्न योग्य भएको प्रमाण पत्र (सर्टिफिकेट अफ एयरवर्थी) नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले दिनुपर्नेछ ।
सम्भवतः यस्तो प्रमाणपत्र आजै दिने र भोलिबाट नियमित उडान शुरु हुने नेपाल एयरलाइन्सका इन्जिनिरयरिङ मेन्टेनेस विभागका उपनिर्देशक मनोजकुमार शाहले नेपाल प्रेसलाई जानकारी दिए । भोलिको उडान बेलुका १०:३० मा काठमाडौँ देखि नारितासम्मको हुनेछ ।
सामान्यतया प्रत्येक २/२ वर्षमा जहाजको मर्मत सम्भार गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार नेपाल एयरलाइन्सले वाइडबडी जहाजको मर्मत सम्भार इटालीको नेपोल्सबाट गराउँदै आएको शाहले बताए ।
अहिले मर्मत गरेर ल्याइएको अन्नपूर्ण विमान ६ वर्ष पुरानो विमान हो । हाल नेपाल एयरलाइन्ससँग २ वटा वाइडबडी र २ वटा न्यारोबडी गरी ४ जहाज रहेका छन् ।