हंगेरीले किन पत्याएन ओलम्पियाड खेल्न आउने नेपाली चेस खेलाडीलाई ? – Nepal Press

हंगेरीले किन पत्याएन ओलम्पियाड खेल्न आउने नेपाली चेस खेलाडीलाई ?

काठमाडौं । चेसको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिता चेस ओलम्पियाडमा हंगेरीले भिसा नदिएका कारण नेपाल सहभागी हुन सकेन ।नेपालबाट प्रयास सफल नभएपछि नेपाली टोली भिसा प्रक्रियाका लागि भारतसम्म पुगेको थियो । तर फर्किने ग्यारेन्टी नभएको भन्दै भिसा दिन अस्वीकार गरेको बुझिएको छ ।

प्रतियोगितामा महिलातर्फ ५ र पुरुषतर्फ ५ गरी १० जना नेपाली खेलाडी सहभागी हुने तय भएको थियो । विश्व बुद्धिचाल महासंघ-फिडेको आधिकारिक प्रतियोगिता र निमन्त्रणा भएका कारण नेपाली खेलाडीहरूले भिसा नपाउने कल्पनासमेत गरेका थिएनन् ।

त्यसमा पनि हंगेरी चेसका लागि विश्व प्रसिद्ध भएकाले त्यही खेल खेल्न आउने टोलीलाई उनीहरूले स्वागत गर्ने अनुमान स्वभाविक थियो ।

चेस ओलम्पियाड टिम च्याम्पियनसिप हो जसमा देश-देशबीच टिमको प्रतिस्पर्धा हुन्छ । एउटा प्रतिस्पर्धामा एउटा टिममा ४ जना खेलाडी हुन्छन् र टिमले त्यो खेल जित्न २.५ अंक प्राप्त गर्नुपर्छ । एउटा खेलाडीले खेल जितेमा एक अंक र बराबरी भएमा ०.५ अंक प्राप्त गर्छन् । एउटा देशले ११ वटा देशसँग ११ वटा टिम प्रतिस्पर्धा गर्छ ।

नेपालबाट पुरुषतर्फ सुश्रुत दाहाल, क्षितिज भण्डारी, राजन सुवेदी, रुपैस जैसवाल र विवेक थिङ सहभागी हुने तय थियो । गत जेठमा सम्पन्न नेपाल बुद्धिचाल महासंघले आयोजना गरेको २४ औँ राष्ट्रिय प्रतियोगितामा राजन प्रथम, सुश्रुत दाहाल दोस्रो र क्षितिज भण्डारी तेस्रो भएका थिए । जैसवाल पूर्व राष्ट्रिय च्याम्पियन हुन् भने हाल अस्ट्रेलियामा रहेका थिङ सबैभन्दा बढी रेटिङ भएका नेपाली खेलाडी हुन् ।

यस्तै नेशनल वुमन च्याम्पियन सिन्दिरा जोशी, दोस्रो कृतिसरा अधिकारी, तृतीय पूजा भण्डारी र चौथो हुने शान्ति धिमाल र पूर्व राष्ट्रिय च्याम्पियन सुजना लोहनी सहित ५ जनालाई ओलम्पियाडका लागि छनोट गरिएको थियो ।

अस्ट्रेलियामा रहेकी पूर्व च्याम्पियन डब्लू एफएम सुजना लोहनी व्यक्तिगत कारण सहभागी नहुने भए पछि पाँचौँ स्थान प्राप्त गरेकी रिया श्रेष्ठले मौका पाएकी थिइन् ।

फिडेले आफ्ना सबै सदस्य राष्ट्रलाई ओलम्पियाडमा सहभागी गराउँछ । नेपाल सन् २००४ देखि यो प्रतियोगिता खेल्दै आइरहेको छ । हरेक दुई वर्षमा आयोजना हुने चेस ओलम्पियाड यसअघि स्पेन, इटाली, जर्मनी, नर्वे, रुस, जर्जियालगायत देशमा आयोजना हुँदा हरेक पटक नेपाल सहभागी भएको थियो ।

भिसामा कुनै समस्या थिएन। तर यस पटक हंगेरीले दुई दुई पटक प्रयास गरे पनि नेपाली चेस टोलीलाई पत्याएन जबकि प्रतियोगितामा सहभागी हुन भनेर फिडेले नेपाललाई १२ हजार युरो छुट्याएको थियो ।

स्रोतका अनुसार नेपाल बुद्धिचाल महासंघले हंगेरीको बुडापेस्टमा भइरहेको यो प्रतियोगितामा सहभागिता जनाउन १० खेलाडीसहित २१ जनालाई पठाउन भिसाका लागि आवेदन दिएको थियो। नेपाली चेसकै एक पदाधिकारीका अनुसार चेस ओलम्पियाडमा फिडेलाई १४ जनासम्मलाई अफिसियल टोलीमा अनुमति दिइन्छ।

‘महिला र पुरुष टिमका ५/५ जना खेलाडी, एक एक जना टिम क्याप्टेन, एक जना हेड अफ डेलिगेट्स र एक जना डेलिगेट्स गरेर १४ जनासम्मलाई फिडेलाई अफिसियल टोली मान्छ’, एक अधिकारी भन्छन् । तर खेलाडीभन्दा बढी पदाधिकारी र अन्य व्यक्तिहरू लैजान खोजिएको ती पदाधिकारी बताउँछन्।

‘अफिसियलका सहयोगी बनाएर लैजान खोजिएको थियो’, उनी भन्छन् । नेपाल बुद्धिचाल महासंघले हेड अफ डेलिगेट अध्यक्ष हेराकाज महर्जनको नेतृत्वमा फिडे डेलिगेट महासचिव धरम बहादुर लामा, पुरुष टिम क्याप्टेन कोषाध्यक्ष तारा बहादुर रानाभाट र महिला टिम क्याप्टेन सदस्य राजु ताम्राकार पठाउने निर्णय गरेको थियो।

यस्तै पूर्व उपाध्यक्ष नारायण दास गमाल, काठमाडौं जिल्ला बुद्धिचाल संघका पूर्व अध्यक्ष अमृत चन्द्र श्रेष्ठ र विश्वविद्यालय खेलकुद संघका केन्द्रीय अध्यक्ष अनिल कुमार रिजाललाई साथमा लग्ने तय गरेको थियो । एक जना पत्रकार पनि टोलीमा राखिएको थियो ।

किन महत्त्वपूर्ण हुन्छ चेस ओलम्पियाड क्यान्डिडेट मास्टर-सीएम, फिडे मास्टर-एफएम, इन्टरनेसनल मास्टर-आईएम, ग्रान्ड मास्टर-जीएमजस्ता उपाधि प्राप्त गर्न खेलाडीका लागि चेस ओलम्पियाड महत्त्वपूर्ण मानिन्छ ।

नेपालका मनिष हमाल, रिजेन्द्र राजभण्डारी, विमललाल श्रेष्ठले ओल्पियाडबाटै एफएम उपाधि पाएका थिए। कुनै पनि नेपाली खेलाडीले हालसम्म एफएमभन्दा माथिको उपाधि प्राप्त गरेको छैन ।

कम्तीमा ९ खेल खेलेर ६६.६ प्रतिशत अंक प्राप्त गरेमा एफएम र कम्तीमा ७ खेल खेलेर ५० प्रतिशत अंक प्राप्त गरेमा सीएम प्राप्त गर्ने बाटो खुल्छ । ओलम्पियाड खेलिसकेका भुपेन्द्र निरौला त्यो अवस्थामा करियरमा कुनै समय २१ सय रेटिङ छोएको रहेछ भने सोझै एफएम हुने र २ हजार रेटिङ छोएको रहेछ भने सोझै सीएम हुने बताउँछन् ।

‘यदि रेटिङ छोएको रहेनछ भने उक्त उपाधिका लागि अप्लाइ गर्नुपर्छ’, उनी भन्छन् ।

बुडापेस्टमा आयोजना भइरहेको प्रतियोगिता खेल्न जान लागेको नेपाली टोलीमा दुई जना एफएम क्षितिज र रुपेश थिए। त्यस्तै सुश्रुत दाहाल र विवेक थिङ सीएम हुन् । सामान्य रेटिङ भएका नेपाली खेलाडीहरूलाई सीएम र एफएमजस्ता उपाधि प्राप्त गर्न ओलम्पियाड महत्त्वपूर्ण हुने उनी बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *