विजय कृष्णमुर्तिलाई प्रहरीले नै झूटो चारित्रिक प्रमाणपत्र दिएको पुष्टि, असईमाथि कारवाहीको तयारी – Nepal Press

विजय कृष्णमुर्तिलाई प्रहरीले नै झूटो चारित्रिक प्रमाणपत्र दिएको पुष्टि, असईमाथि कारवाहीको तयारी

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कोटीहोमका आयोजक विजय कृष्णमुर्ति महाराज भनिने विजय भण्डारीले प्रहरीबाटै झूटो चारित्रिक प्रमाणपत्र प्राप्त गरेको पुष्टि भएको छ । उनले कीर्ते गरेर चारित्रिक प्रमाणपत्र बनाएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान गरेको थियो ।

प्रहरीको आन्तरिक छानबिनमा भण्डारीले प्रहरीबाटै उक्त प्रमाणपत्र लिएको खुलेको हो । ठगीमा मुद्दा परेर दोष ठहर भई जेल सजाय समेत भोगेका भण्डारीले कोटीहोम आयोजनापूर्व प्रहरीबाट ‘निस्कलङ्क’ प्रमाणपत्र लिन सफल भएका थिए । सोही प्रमाणपत्रबारे अनुसन्धानका लागि प्रहरीले उनलाई कोटी होमस्थलबाट पक्राउ गर्न खोजे पनि सफल भएको थिएन ।

स्रोतका अनुसार केही महिनाअघि भण्डारीले चारित्रिक प्रमाणपत्रका लागि निवेदन दिएका थिए । त्यसपछि काठमाडौं प्रहरी परिसरले उनीविरुद्ध मुद्दा परे पनि सफाइ पाइसकेको भनेर प्रहरी प्रधान कार्यालयलाई जवाफ पठाएको थियो । त्यही आधारमा भण्डारीले उक्त प्रमाणपत्र पाएको देखिएको छ ।

पशुपति कोटीहोम आयोजना भइरहेका बेला उनको आपराधिक गतिविधिमा संलग्नतालाई जोडेर समाचारहरू आएपछि उनले चारित्रिक प्रमाणपत्र सार्वजनिक गरेका थिए । त्यसपछ काठमाडौं प्रहरी परिसरले यो विषयमा छानविन गर्न समिति बनाएको थियो । उक्त समितिले प्रहरीबाटै त्रुटि भएको निस्कर्ष निकालेको छ ।

‘हाम्रै प्रहरी अधिकारीले उनको विगत हेर्ने क्रममा त्रुटि गरेको देखिन्छ’, समितिको निष्कर्षबारे एक अधिकारीले भने ।

ती अधिकारीका अनुसार परिसरका एक सहायक निरिक्षक– असईले भण्डारीले सफाई पाएको भनेर जवाफ पठाएका थिए ।

‘ती असईले आफु झुक्किएको बताएका छन्’, उनले भने । काठमाडौं प्रहरी प्रहरीले ती असईमाथी कारबाहीको तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर