एक वर्षपछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किँदै सन्दीप लामिछाने – Nepal Press

एक वर्षपछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किँदै सन्दीप लामिछाने

काठमाडौं । प्रभावशाली नेपाली स्पीनर सन्दीप लामिछाने झन्डै एक वर्षपछि एकदिवसीय अन्तर्राष्ट्रिय फर्किँदैछन् । विश्वकप लिग–२ अन्तर्गत आगामी साता क्यानडामा सुरु हुने त्रिदेशीय शृंखला सन्दीप खेल्दैछन् । शृंखलामा नेपालले क्यानडा र ओमानसँग दुई दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ ।

एक वर्षअघि आयोजित एसिया कप उनले खेलेको अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । त्यतिबेला उनले अन्तिम खेल भारतसँग खेलेका थिए ।

त्यसपछि बलात्कार अभियोगमा जिल्ला अदालतबाट दोषी ठहर भएका कारण उनले यसबीचमा भएका एकदिवसीय अन्तर्राष्ट्रिय खेल र प्रतियोगिताहरु खेल्न पाएनन् ।

गत मे÷जुनमा उच्च अदालत पाटनले सफाई दिएपछि सन्दीप पुन अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका छन् । यसबीचमा उनले वेस्ट इन्डिज र अमेरिकामा आयोजित टी–२० विश्वकप खेलेका थिए । सन्दीपको पुनरागमनले नेपाली टोली लय समात्ने विश्वासमा छ ।

गत फेब्रुअरीमा घरेलु मैदानमा भएको विश्वकप लिग–२ शृंखलामा सन्दीपबिना उत्रिएको नेपालले चारमध्ये ३ खेल हारेको थियो । एक खेलमा नेदरल्यान्ड्समाथि जित हात पारेको थियो । सन्दीपले क्यानडा शृंखलामा नेपालले लय समात्ने विश्वास व्यक्त गरेका छन् ।

‘नेपालले विदेशी भूमिमा गएर आफुलाई एसोसिएटको बलियो टोलीका रुपमा स्थापित गर्नुपर्छ’, सन्दीपले केही दिनअघि आयोजित बिदाई कार्यक्रममा भनेका थिए, ‘म पनि झन्डै एक वर्षपछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कँदै छु ।’

विश्वकप लिग–२ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल–आईसिसीका एसोसिएट सदस्यले मात्र खेल्ने सबैभन्दा ठुलो एकदिवसीय प्रतियोगिता हो ।

जादुमयी विगत, विपक्षीलाई दबाब

सन्दीप लामिछाने विश्वकप लिग–२ को गत संस्करणका दोस्रो सर्वाधिक विकेट लिने बलर हुन् । प्रतियोगितामा सन्दीपले ३१ खेल खेल्दै ७२ विकेट लिएका थिए । शीर्षस्थानमा रहेका ओमानका बिलाल खानको नाममा ३५ खेलमा ७६ विकेट थियो । उनी बलिङ र ब्याटिङ दुवैतर्फ शीर्ष–५ भित्र रहेका एक मात्र नेपाली खेलाडी थिए ।

सन्दीपले खेलेका ती खेलमा ४.०४ को बलिङ इकोनोमी राखेका थिए भने ५ खेलमा कम्तिमा ४÷४ विकेट लिएका थिए । अमेरिकाविरुद्धको एकै खेलमा उनले ६ ओभरमा १६ रन खर्चिएर ६ विकेट हात पारेका थिए ।

विश्वकप लिग–२ मा अन्तिम १२ खेल बाँकी रहँदा नेपाल कमजोर अवस्थामा थियो । बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सन्दीप त्यहीबेला निस्किएर राष्ट्रिय टोलीमा फर्किएका थिए । त्यसअघि उनले विश्वकप लिग–२ को एउटा शृंखला थुनामा रहेका कारण गुमाएका थिए ।

सन्दीप टोलीमा फर्किएपछि नेपालले अन्तिम १२ मध्ये ११ खेल जितेर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नुका साथै विश्वकप छनोटमा स्थान बनाएको थियो । त्यसपछि नेपालले एसिसी प्रिमियर कप जितेर पहिलोपटक एसिया कपमा स्थान बनाएको थियो । एसीसी प्रिमियर कपमा उनी प्लेयर अफ दी सिरिज घोषित भएका थिए ।

एसिया कपमा नेपालले पहिलो चरणमा भारत र पाकिस्तानसँग खेलेको थियो । पाकिस्तानविरुद्ध उनले १० ओभरमा ६९ रन खर्चिएर एक विकेट लिएका थिए । यस्तै, भारतविरुद्ध ४ ओभरमा ३९ रन खर्चिएका थिए भने विकेट लिन सकेका थिएनन् ।

सन्दीप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने नेपाली बलर हुन् । उनले हालसम्म ५१ खेलमा ११२ विकेट लिएका छन् । अन्य कुनै पनि नेपाली बलरले सय विकेट पुरा गर्न सकेका छैनन् ।

टी–२० विश्वकपमा अमेरिकाले भिषा नदिएका कारण उनले त्यहाँ भएका खेलहरुमा सहभागिता जनाउन सकेनन् । तर त्यसपछि वेस्ट इन्डिजमा भएका बाँकी दुई समूह चरणका खेलमा भने उनले शानदार प्रदर्शन गरेका थिए ।

उनले दक्षिण अफ्रिकाविरुद्ध ४ ओभरमा १८ रन खर्चिएका थिए भने बंगलादेशविरुद्ध ४ ओभरमा १७ रन खर्चिएर २ विकेट हात पारेका थिए । दुवै खेलमा नेपाल जित नजिक पुगेर निराश बनेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *