तीन महिनादेखि संस्कृत विश्वविद्यालयमा लागेको तालाबन्दी खोल्न उपकुलपतिको आह्वान – Nepal Press

तीन महिनादेखि संस्कृत विश्वविद्यालयमा लागेको तालाबन्दी खोल्न उपकुलपतिको आह्वान

रुपन्देही । तीन महिनादेखि नेपाल संस्कृत विश्वविद्यालयमा लागेको तालाबन्दी खोल्न उपकुलपति प्रा. डा. भीमप्रसाद खतिवडाले लिखित रूपमा सार्वजनिक आह्वान गरेका छन् ।

उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले साउन अन्तिम साता राजीनामा दिएपछि उपकुलपतिको जिम्मेवारी खतिवडाले पाएका छन् । खतिवडा यसअघि विश्वविद्यालयको शिक्षाध्यक्ष थिए । तीन महिनादेखि संस्कृत विश्वविद्यालयमा लागेको ताला खोल्ने वातावरण बनाउन उनले बुधबार सरोकारवाला निकायलाई आग्रह गर्दै लिखित आह्वान गरेका हुन् ।

विद्यार्थी संघसंगठन र आंशिक शिक्षकहरूले विभिन्न माग राखेर यहाँ भएको  तालाबन्दी अन्तिम समयमा यसअघिका उपकुलपति र रजिष्ट्रारबीचको कारबाहीसम्म पुगेको थियो ।

उपकुलपतिले रजिष्टारलाई निलम्बन गरेपनि त्यो प्रकृयामा लैजान नपाउँदै उपकुलपतिले राजीनामा दिएपछि विश्वविद्यालयको विवाद समाधान भएको छैन । विश्वविद्यालयको बेलझुण्डीस्थित केन्द्रीय कार्यालय र आंगिक निकायमा तीन महिनादेखि ताला लाग्दा आर्थिक, शैक्षिक, प्राज्ञिक र प्रशासनिक काम पूर्णरूपमा प्रभावित छन् ।

विद्यार्थी, प्राध्यापक र कर्मचारीका साझा संगठनहरू, स्ववियु लगायत सरोकारवाला सबै पक्षलाई यसप्रति संवेदनशील हुन आह्वान गर्दै उपकुलपति खतिवडाले समाधानको लागि सबै पक्षलाई आग्रह गरेका हुन् ।

विश्वविद्यालयका तर्फबाट जनता विद्यापीठ बिजौरीका प्राचार्य योगराज शर्माको संयोजकत्वमा गठित वार्ता समितिसँग संवाद गरी शीघ्र निकास निकाल्न र सबै प्रकारका अवरोधको अन्त्य गर्न उनले आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।

तालाबन्दीका कारण असार २० मा मन्त्रिपरिषद्बाट विश्वविद्यालयको सयौं बिघा जग्गाको व्यवस्थापन गर्न गठित समितिले काम गर्न नपाएको उनको भनाइ छ । विश्वविद्यालय स्थापनामा भूमिका खेल्ने अभिभावक, संस्कृत शिक्षाप्रेमी, भूमिदाता, राजनीतिक दल, सरकारी निकाय, स्थानीय सरकार, राष्ट्रसेवक, व्यवसायी, पत्रकार लगायत सबैले विश्वविद्यालयमा निरन्तर प्रेरणा, सुझाव र निगरानीको आग्रह गर्दै उनले ताला खोल्ने कार्यमा सकारात्मक सहयोग गर्न सार्वजनिक आह्वान गरेका छन् ।

विद्यार्थीका शैक्षिक मागहरूप्रति विश्वविद्यालय संवेदनशील रहेको खतिवडाले बताए । विश्वविद्यालयको आर्थिक क्षमता अनुसार माग पूरा गर्न प्रतिबद्ध रहेको उनले जानकारी दिए ।

विश्वविद्यालयको एकमात्र आयुर्वेद विद्यापीठमा १२ वर्षदेखि सञ्चालन भैरहेको आयुर्वेद स्नातक बीएएमएस तहको शिक्षण, परीक्षा, मूल्यांकन र प्रायोगिक पक्षमा भइरहेका समस्या समाधानका लागि विद्यार्थी, आयुर्वेद अध्ययन संस्थान र विद्यापीठसँग विमर्श गरी सकारात्मक पहलका साथ अघि बढ्न विश्वविद्यालय प्रतिबद्ध रहेको उनले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर