पशुपतिनाथमा विदेशी श्रद्धालुको लागि छुट्टै लाइनको व्यवस्था गर्न पर्यटन विभागको परिपत्र – Nepal Press

पशुपतिनाथमा विदेशी श्रद्धालुको लागि छुट्टै लाइनको व्यवस्था गर्न पर्यटन विभागको परिपत्र

काठमाडौं । पर्यटन विभागले पशुपती क्षेत्र विकास कोषलाई विदेशी धार्मिक पर्यटकको लागि विशेष सुविधा सुनिश्चित गर्न परिपत्र गरेको छ ।

विभागका महानिर्देशक डा.नारायण प्रसाद रेग्मीले बुधबार कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीलाई पत्राचार गर्दै पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने विदेशी श्रद्धालुलाई लामो समय लाइनमा बस्नुपर्ने समस्याको समाधान गर्न छुट्टै लाइनको व्यवस्था गर्न परिपत्र गरेको हो ।

महानिर्देशक रेग्मीले गरेको परित्रमा भनिएको छ, ‘विदेशी मुलुकबाट आउने ती श्रद्धालुको सहजता सुनिश्चित गर्न यो व्यवस्था अत्यन्त आवश्यक छ । हिन्दु धर्मका आराध्यदेव भगवान पशुपतिनाथको दर्शन गर्न विभिन्न मुलुकबाट आउने धार्मिक पर्यटकलाई लाइनमा वसी दर्शन गर्न लामो समय लाग्ने समस्याको समाधान गर्न छुट्टै लाइनको व्यवस्था मिलाउनु महत्वपूर्ण छ।’

यो व्यवस्था लागू भएसँगै पशुपतिनाथको दर्शन गर्ने विदेशी पर्यटकको अनुभवमा सकारात्मक सुधार आउने अपेक्षा गर्दै विभागले परिपत्र गरेको हो ।

यसले धार्मिक पर्यटनलाई थप आकर्षक बनाउन र स्थानीय तथा अन्तर्राष्ट्रिय श्रद्धालुको सन्तुष्टि सुनिश्चित गर्न मद्दत गर्ने विभागले जनाएको छ । अहिलेसम्म स्वदेशी तथा विदेशी पर्यटकले घण्टौसम्म एउटा लाइनमा बसेर पशुपतिनाथको दर्शन गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर