*सन्दीपलाई अमेरिकाले दियो भिसा ? – Nepal Press

*सन्दीपलाई अमेरिकाले दियो भिसा ?

(संशाेधित समाचार)

काठमाडौं। आइसीसी विश्वकप लिग २ खेल्न क्रिकेटर सन्दीप लामिछाने अहिले नेपाली टिमसँगै क्यानडा पुगेका छन् । क्यानाडाबाट नेपाली टीम अमेरिका जाने कार्यक्रम छ ।

सन्दीपलाई अमेरिकी दूतावासले यसअघि टि–२० विश्वकप खेल्न जान भिसा दिएको थिएन । उनले दुईपटक प्रयास गर्दा पनि भीसा अस्वीकार गरिएको थियो । यसपटक पनि सन्दीपकाे भीसा लागिसकेकाे छैन । तर दूतावासले सकारात्मक संकेत भने दिएकाे क्यान स्रोतले बताएको छ ।

स्रोतका अनुसार मौखिकरुपमा भिसा लाग्ने भनेर आश्वस्त गराइएको हो । अरु खेलाडीको भिसा हानिए पनि सन्दीपलाई भने आलटाल गरिएकाे छ   । दूतावासले सन्दीपको पासपोर्ट केही दिन राखेको थियो । क्यानाडा जाने डेट आएपछि सन्दीपले अमेरिकाको भिसाबिनै पासपोर्ट लिएका थिए ।

बुझिएअनुसार दूतावासले यसपाली खेलाडीहरुलाई दूतावासले तीन महिनाको मात्र भिसा दिएको छ । क्यानाडाबाट अमेरिका जाने डेटसम्ममा सन्दीपको पनि भिसा लागिसक्ने सम्भावना रहेको र यसको समन्वय क्यानले गर्ने स्राेतले बतायाे ।

नेपालले सेप्टेम्बर १६ र २२ मा क्यानडासँग र सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्ने छ । दुवै देशसँग नेपालले त्रिकोणात्मक टि २० सिरिज पनि खेल्ने छ । क्यानाडासँग सेप्टेम्बर २८ र अक्टोबर १ मा तथा ओमानसँग सेप्टेम्बर २९ र अक्टोबर २ तारिखमा नेपालले टि–२० म्याच खेल्नेछ ।

क्यानाडापश्चात अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ । त्यहाँ नेपाल अमेरिका र स्कटल्यान्डले प्रतिस्पर्धा गर्नेछन् ।

स्मरणीय छ कि नेपाली टिम क्यानाडा प्रस्थान गर्नुअघि विहीबार आयोजित पत्रकार सम्मेलनमा क्रिकेट संघका सचिव पारस खड्कालाई सन्दीपको भिसाबारे सोधिएको थियो । पारसले अमेरिकी दूतावासबाट ग्रीन सिग्नल रहेको मात्र बताए ।

उनले घुमाउरो तरिकाले भनेका थिए, ‘केस क्लोज भइसकेकाले हामीलाई विश्वास छ कि यो विषय सकियो । हामी सबै नयाँ सोच विचारबाट अगाडि बढ्नुपर्छ ।’

(यसअघि पारिवारिक स्रोतले भिसा लागिसकेको भनि आश्वस्त गरेपछि प्रकाशित भएको समाचार सत्य नभएको पाइएकाले सच्याइएको छ । पारिवारिक स्रोतमा भर पर्दा सूचना सम्प्रेषणमा हुन गएको कमजोरीप्रति क्षमायाचना गर्दछौं । -सम्पादक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर