धनराजका धन कमाउने अनेक धन्दा- यी हुन् ३० वर्षका आधा दर्जन काण्ड – Nepal Press

धनराजका धन कमाउने अनेक धन्दा- यी हुन् ३० वर्षका आधा दर्जन काण्ड

काठमाडौं । सामाजिक सञ्जालको उत्पति भएपछि जन्मिएको वा हुर्किएको पुस्ताका लागि केही वर्षअघिसम्म नेताहरूमा धनराज गुरुङ सुशासनका आइकन नै थिए । सामाजिक सञ्जालमा उनले लेख्ने र बोल्ने शब्दहरू यस्ता हुन्छन् कि यी व्यक्तिलाई देशको नेतृत्व दियो भने रामराज्य नै खडा गर्नेछन् ।

तर, पछिल्लो समय विशेषगरी उनी कानून न्याय तथा संसदीय मामिला मन्त्री भएपछि भने धनराज आफ्नो पुरानै लयमा मात्र देखिएनन्, उनको विगतका हर्कतहरू समेत उत्खनन् हुन थाले । पुरानाले बिर्सिसकेको र नयाँले थाहै नपाएको उनको रातो पासपोर्ट तस्करीको धन्दा समेत खोतल्न थालियो ।

न्याय मन्त्री भएका बेला जघन्य अपराधीलाई माफी दिने कानून मस्यौदादेखि प्राध्यापकको ज्यान मार्न खोज्नेलाई सजाय माफी र न्यायाधीश नियुक्तिमा आर्थिक चलखेलका कारण उनी पार्टीभित्र र बाहिर विवादमा परे । संसदमा उनको चर्को आलोचनामात्र भएन, नैतिक कठघरामा समेत उभिनुपर्‍यो ।

मन्त्री भएर दागी बनेपछि पनि धनराजले आफूलाई बेदागी देखाउन भने छाडेनन् । २०४६ सालपछि सार्वजनिक पदमा पुगेकाहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव संसदमा दर्ता गर्नेदेखि रवि लामिछानेलाई सहकारी ठगीमा कारवाही गर्ने माग राख्दै संसदभित्र एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि हातपातकै तहमा उत्रिनसमेत पछि परेनन् ।

गुरुङलाई उनका समकालीन कांग्रेसका नेताहरू कम्बल ओढेर घिउ खाने ढोंगी भन्ने गर्छन् । कांग्रेसका १० जना नेता बसेका ठाउँमा धनराजको चर्चा चल्यो भने कम्तीमा ८ जनाले ढोंगी भन्छन् । उनका कारण केही नेताको त राजनीतिक जीवन नै सकिएको थियो, रातो पासपोर्ट प्रकरणमा । धनराजको बारेमा बाहिरी दुनियाँ भ्रममा रहे पनि कांग्रेसको ठूलो पंक्ति चाहिँ जानकार नै थियो र छ ।

पछिल्लोपटक सहकारी ठगी प्रकरणमा उनको नाम मुछिएपछि र उनीमाथि समेत अनुसन्धान गर्न माग गर्दै मितेरी सहकारीका सञ्चालक नै राज्यका निकाय गुहारेपछि धनराजको वास्तविक रूप थप ‘एक्सपोज’ भएको छ । लोकप्रियताका लागि अर्थात सामाजिक सञ्जालमा वाहवाही पाउनका लागि जे पनि बोल्ने धनराजको विगत खोतल्ने हो भने उनी हरेक चरणमा आर्थिक अनियमिततामा जोडिने गरेका छन् ।

नेपाल प्रेसले धनराजको ३० वर्षका केही काण्डहरूलाई संक्षिप्तमा उधिन्ने प्रयास गरेको छ ।

सम्मेलनका नाममा मानव तस्करी

एनपी साउद नेतृत्वको कार्यकाल सकिएपछि धनराज गुरुङलाई नेपाली कांग्रेसले नेविसंघको सभापतिमा मनोनित गरेको थियो । २०५२ सालतिर धनराजले नेविसंघको नेतृत्व सम्हाल्दा युजी भन्ने अन्तर्राष्ट्रिय संस्थासँग नेविसंघको भ्रातृ सम्बन्ध थियो ।

युजीको सम्मेलनमा भाग लिनका लागि नेपाल विद्यार्थी संघलाई निम्तो आउँथ्यो र धनराजले एकाध नेविसंघका नेता राखेर अरु मान्छे लैजान्थे । उनीहरू जाँदा धनराजसँग गए पनि फर्किने बेला हुँदैनथे । पछि थाहा भयो धनराजले पैसा लिएर उनीहरूलाई भिसा लगाइदिने र युरोपमा छाड्ने गर्दा रहेछन् ।

यो कुरा खुलेपछि जर्मनीलगायतका युरोपेली दूतावासले भिसा दिन छाडे । धनराजपछि गोविन्द भट्टराई अध्यक्ष भएका बेला युजीको सम्मेलनमा जान भिसा लगाउन खोज्दा कालोसूचीमा रहेको थाहा भयो । त्यसबेला चक्र बास्तोला परराष्ट्रमन्त्री भएकाले गोविन्दको भिसा लागे पनि अरु जेन्युइन विद्यार्थी नेताले समेत धनराजको मानव तस्करी धन्दाका कारण भिसा नपाएको नेविसंघका तत्कालीन नेताहरू बताउँछन् ।

अनि रातो पासपोर्टतिर

नेविसंघबाट अवकाश भएपछि धनराज तरुण दलमा आबद्ध भए । तरुण दलको अध्यक्ष बालकृष्ण खाँण थिए । खाँणको नेतृत्वमा तरुण दलले भ्रष्टाचारविरोधी अभियान चलाइरहेको थियो । त्यहि बेला तरुण दलकै नेता धनराज गुरुङ विभिन्न सांसदहरुको कुटनीति राहदानी अर्थात रातो पासपोर्टसहित पक्राउ परे ।

धनराजको धन्दा त्यतिबेला खुल्यो जतिबेला पूर्वसहायकमन्त्री तथा कांग्रेस नेता रामचन्द्र अधिकारीले आफ्नो रातो पासपोर्ट तरुण दलका नेता धनराजले लिएर गएको बताए । धनराजले यसअघि नै हस्तबहादुर मल्ल, महेन्द्रध्वज जिसीलगायतका कांग्रेस सांसदको रातो पासपोर्टबाट अरुलाई नै विदेश पठाइसकेका रहेछन् ।

रातो पासपोर्ट तस्करीको धन्दा गर्ने गिरोहसँगै धनराज पनि पक्राउ परे । यो घटना २०५५ सालतिरको थियो, पछि उनले २०६० सालतिर अदालतमा रट्ठ पट्ठ मिलाएर सफाइ लिए । एकजनाबाट १२ लाख रुपैयासम्म त्यसबेला रातो पासपोर्टमा विदेश पठाएबापत उक्त गिरोहले असुल्ने गरेको थियो ।

गोल्डक्वेस्ट, युनिटी र अवैध नेटवर्किङ धन्दा

रातो पासपोर्ट तस्करी धन्दामा संलग्न रहेको पुष्टि भएपछि कांग्रेसले धनराजलाई कारवाही गरेको थियो । किनकी उनका कारण केही नेताको राजनीति नै समाप्त भयो । धनराजका लागि भने कारवाहीको अवधि अर्को अवैध धन्दा गर्ने मौका बन्यो ।

धनराजले पहिलेदेखि नै भारतीय र ब्रिटिस गोर्खाका भूपू लाहुरेहरूलाई मुर्गा बनाउँदै आएका थिए । त्यसक्रममा हङकङमा आधारित गोल्डक्वेस्ट भन्ने नेटवर्क व्यापार नेपालमा भित्रियो । धनराज त्यसका प्रचारकमात्र भएनन्, गोल्डक्वेष्टमा किन लगानी गर्ने ? कसरी रातारात कमाइ हुन्छ ? भनेर मान्छेहरू जम्मा गरेर जावलाखेलमा प्रशिक्षण नै दिन थाले ।

गोल्डक्वेस्टमा धेरै ठगिएका घटनाहरू आउन थालेपछि धनराजले अर्को समूहसँग मिलेर युनिटी भन्ने ठगी गिरोहमा आबद्ध भए । यस्तै यस्तै अवैध नेटवर्किङ धन्दामा लागेकाहरू धेरै पलायन र जेलमा गए पनि धनराज भने कानूनी हिसाबले जोगिँदै आए ।

पछिल्लोपटक २०६५ सालमा सार्वजनिक लेखा समितिको सदस्य भएका बेला उनले नेटवर्किङ व्यापारलाई बैधानिकता दिन सरकारलाई समितिबाट निर्णय गराउने भन्दै हर्बोलगायत विभिन्न नेटवर्क व्यवसायमा संलग्न व्यक्तिहरुसँग एकमुष्ठ रकम समेत असूलेको आरोप छ ।

युनिभर्सल पिस, होली वानको किस्सा

पार्टी कारवाहीमै रहेका बेला नेटवर्किङ व्यापारसँगै धनराज कोरियाली क्रिश्चियन धर्म प्रचारकहरूको समूहमा लागे । युनिभर्सल पिस फेडरेशन नामको संस्थाले बाहिर अन्य आवरणमा धर्म परिवर्तनको धन्दा चलाउँथ्यो । त्यसमा हाल एमालेका सांसद एकनाथ ढकालादेखि धनराज गुरुङसम्म जोडिए । नेपालमा सम्मेलन पनि आयोजना भए र उनीहरूले त्यसमा गिरिजाप्रसाद कोइरालाजस्ता नेतालाई समेत एकपटक फसाएका थिए । होली वाइन प्रवर्द्धनमा जोडिएका धनराजका त्यसबेलाका कतिपय भिडिओ क्लिपहरू अहिले पनि भेट्न सकिन्छ ।

ले खा देखि सहकारी ठगीसम्म

धनराज पार्टी कारवाहीमै भएका बेला जनआन्दोलन सफल भयो । त्यसपछि हुलमुलमा सबैको कारवाही फुक्यो । धनराजले आदिवासी जनजाति कोटा मिलाएर समानुपातिक सभासद पनि बन्न सफल भए । लेखा समितिको सदस्य भएपछि उनले इच्छाराज तामाङको सीटीसी मल निर्माण विवाद मिलाइदिनेदेखि नेटवर्किङ व्यवसायलाई वैधानिकता दिलाउने भनेर ‘ले खा’ शैलीमा राम्रै कमाइ गरेको चर्चा त्यसबेलै चलेको हो ।

यसबीचमा उनले गोर्खा सैनिकहरूले खोलेको मितेरी सहकारीमा श्रीमती ज्योति गुरुङलाई घुसाएर सहकारीमा पनि सुँड घुसारे । मितेरी सहकारीको १५ करोड घोटालामा धनराज दम्पतीको संलग्नताबारे अहिले बहस चलिरहेकै छ । यससम्बन्धी विस्तृत समाचार नेपाल प्रेसले नै खुलासा गरेको हो ।

न्याय मन्त्री अन्यायी काम

आफूलाई बेदाग नेताका रूपमा बाहिरी दुनियाँलाई भ्रममा पार्न खोज्ने धनराजको दागी चरित्र उनी कानून न्यायमन्त्री हुँदा खुलिहाल्यो । पितृलाई मत हाल्न दिने निर्वाचन अधिकृत रहेका सरकारी वकिललाई न्यायाधीश नियुक्तिको पुरस्कार दिनेदेखि न्यायाधीशको नियुक्ति गरेबापत घर नै पास गर्नेसम्मका प्रकरणहरू अहिले बाहिर आइरहेका छन् ।

मितेरी सहकारीमा भाटभटेनीका मीनबहादुर गुरुङले धनराजको नाममा काटेको ८० लाखको चेक उनी मन्त्री भएका बेला जम्मा भएको र डिभोर्स भइसकेकी श्रीमती ज्योतिको समेत ऋण उनले त्यही पैसाबाट तिरेको पाइएको छ । यी सबै विवरण सम्भवतः अब सहकारी छानविनका क्रममा आउलान् नै, तर धनराजले न्याय मन्त्री भएका बेला जघन्य अपराधीलाई समेत माफी दिन मिल्ने कानून मस्यौदा गरेको दागबाट भने मुक्ति पाउने छैनन् ।

धनराजलाई नजिकबाट बुझ्न र विभिन्न प्रकरणबारे जानकारीका लागि तलका समाचार लिंकभित्र जान सकिन्छ ।


प्रतिक्रिया

7 thoughts on “धनराजका धन कमाउने अनेक धन्दा- यी हुन् ३० वर्षका आधा दर्जन काण्ड

  1. निर्वाचनको बेलाको काण्ड छुट्यो । मत प्रतिशत र उनको अभिब्यक्तिलाई जोडेर छुट्टै काण्ड बनाउनुपर्यो ।

  2. युसीको सम्मेलनमा जाने नेता हरुमा माननीय रामहरि खतिवडा पूर्व मन्त्री अम्मीर बाबु गुरुङ पनि थिए रेन्त ! किन छुटाएको होला ?

  3. यष्ता खाले अपराधी लाई कुनैपनी हालतमा छोड्नु हुदैन अब हेरुम अहिलेको शरकारले केगर्दो रहेछ रबिलाई फसाउन निकै उफ्रीयकोत उता कारोबार मिलाय भनेर ढुक्कले नक्लि छोडपत्र बनायर ढुक्कले उफ्रियको रहेछ यष्लाई हदै शम्मको कार्बाहिहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर