गगन थापाको स्टाटस र मीन भामको कांग्रेस कनेक्सन – Nepal Press

गगन थापाको स्टाटस र मीन भामको कांग्रेस कनेक्सन

तपाईं आफ्नो परिवारको सदस्य हुनु कांग्रेसीले थप गर्व गर्ने विषय : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्देशक मीन भामको प्रशंसा गर्दै हिजो एउटा स्टाटस लेखेका छन् । भामले निर्देशन गरेको पछिल्लो चलचित्र ‘साम्बाला’ को प्रिमियरपछि उनले लेखेका स्टाटस केहीले आपत्तिसमेत जनाएका छन् ।

थापाले उक्त स्टाटसमा ‘साम्बाला’ ओस्कार जित्नसक्ने चलचित्र भएको टिप्पणी गरेका थिए । आपत्ति यसमा होइन । स्टाटसमा मीन भामप्रति ‘कांग्रेसी’ हरुले थप गर्व गर्नुपर्ने गगनले बताएका छन् । यसमा धेरैको असन्तुष्टि रहेको छ ।

हेर्नुस गगन थापाको स्टाटसः

प्रिय भाइ मीन, तिमी हाम्रो पुस्ताको अब्बल सिनेकर्मी हो । Oscar Worthy चलचित्र ‘साम्बाला’ निर्माण गरेकोमा बधाई र सफलताको शुभकामना । कांग्रेसीहरूले त आफ्नो परिवारको एउटा सदस्य अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सिनेकर्मी हो भन्दा थप गर्व गर्न सक्ने विषय हो । ‘साम्बाला’ सिनेमा हलमा भदौ २८ गते आउदैछ, प्रतीक्षामा छु । सबैलाई हेर्न आग्रह पनि गर्दछु ।’

‘ओस्कार जित्नसक्ने’ भने पनि थापाले यो चलचित्र नहेरिसकेको उनकै स्टाटसबाट बुझिन्छ । उनी तीन दिन अगाडि भएको चलचित्रको प्रिमियरमा उपस्थित थिएनन् । बरु कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा आएका थिए ।

थापाले भामको सफलतालाई किन ‘कांग्रेसी’ सँग जोड्नुको कारण चाहीँ उनको राजनीतिक पृष्ठभूमि हो । भाम लामो समयदेखि नेपाली कांग्रेसमा आवद्ध छन् ।

उनलाई गत वर्ष मंसिरमा भएको प्रतिनिधिसभाको चुनावमा कांग्रेसले मुगुबाट समानुपातिकमा सिफारिससमेत गरेको थियो । तर बन्दसूचीमा भने अटाउन सकेनन् । पिछडिएको खस आर्यतर्फबाट सिफारिस भएका भामको नाम पार्टी केन्द्रमा आए पनि निर्वाचन आयोगसम्म नपुग्दा उनी माननीय बन्न बञ्चित भए ।

भाम २०५० सालदेखि नै कांग्रेस राजनीति छन् । २०५० सालदेखि २०५३ सालसम्म नेविसंघको गाउँ समिति अध्यक्ष भएका भाम २०५४ देखि २०५६ सम्म नेविसंघको जिल्ला महासचिव बनेका थिए । २०७७–७८ सालमा कांग्रेसको सूचना तथा सञ्चार विभागको सदस्य बनेका भाम पछिल्लो समय भने पार्टीका त्यति सक्रिय छैनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर