सीटीईभीटीको उपाध्यक्षका लागि वहालबाला २ निर्देशकसहित १३ जनाको उम्मेदवारी (सूची) – Nepal Press

सीटीईभीटीको उपाध्यक्षका लागि वहालबाला २ निर्देशकसहित १३ जनाको उम्मेदवारी (सूची)

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)को रिक्त रहेको उपाध्यक्षका लागि बहालवाला २ जना निर्देशकसहित १३ जनाको उम्मेदवारी परेको छ । परिषद्को उपाध्यक्ष मनोनयनका लागि सिफारिस गर्न गठित सिफारस समितिको बिहीबारको निर्णय अनुसार दरखास्त परेका १३ जनाको आवेदन स्वकिृत गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

उपाध्यक्षका लागि सीटीईभीटीको स्तर निर्धारण महाशाखाका निर्देशक टैलेन्द्र आचार्य र सीटीईभीटीकै सूचना तथा अनुसन्धान महाशाखा निर्देशक भुवनेश्वर ढुंगानाले उम्मेदवारी दिएका छन् । ्

यस्तै सीटीईभीटीकै पूर्व सदस्य सचिव जिवनारायण काफ्ले, पूर्व निर्देशक मिस्टरकान्त मैनाली र सौरभराम जोशी, पूर्व उपनिर्देशक कुस्माकर भट्ट, राष्ट्रिय योजना आयोगको पूर्व सदस्य राजबहादुर गिरीले पनि आवेदन दिएका छन् । यस्तै डा.खेमराज जोशी, ओमप्रसाद बराल, हरिशंकरप्रसाद साह, डा.ज्ञानबहादुर थापा, डा.महेन्द्रप्रसाद भट्ट र बिमला भट्टले पनि आवेदन दिएका छन् ।

सीटीइभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारीको गत साउनमा कार्यकाल सकिएपछि उपाध्यक्ष मनोनयन सिफारिस समितिले खुला प्रतिस्पर्धाबाट छनौट गर्नका लागि आवेदन माग गरेका थियो । भदौ २६ गते भित्र योग्यता पुगेका उम्मेदवारले दिएको आवेदन सिफारिस समितिले स्वीकृत गरेको हो ।

स्नातकोत्तर तह उत्र्तीण गरेको, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको, ४० वर्ष पूरा भई ६० वर्ष उमेर ननाघेको व्यक्ति सीटीईभीटीको उपाध्यक्ष बन्नका लागि योग्य हुने जनाइएको छ ।

यस्तै प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका क्षेत्रमा विद्यावारिधिको उपाधि हासिल गरेको, सरकारी क्षेत्र, विश्वविद्यालय परिषद् वा सार्वजनिक क्षेत्र, प्रतिष्ठान वा अन्य कुनै क्षेत्रमा व्यवस्थापकीय पदको जिम्मेवारीमा रहेको, सार्वजनिक पदमा मनोनयनको लागि अयोग्य नभएको, परिषद्सँग कुनै स्वार्थ नबाझिएको हुनुपर्ने पनि जनाइएको छ ।

त्यस्तै सहसचिव वा सो सरह, त्यो भन्दा माथिल्लो पद, सीटीइभीटीको उपाध्यक्ष, सदस्य सचिव, निर्देशकले पनि उम्मेदवारी दिन पाउने व्यवस्था गरिएको छ ।

साथै कम्तीमा ११ औ तह, औद्योगिक क्षेत्रको प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समितिको अध्यक्ष सदस्य पदको अनुभव हासिल गरेको व्यक्तिले पनि सीटीइभीटीको उपाध्यक्षका लागि आवेदन दिन पाउने व्यवस्था छ ।

समितिले उपाध्यक्ष पदका लागि शैक्षिक योग्यता, अनुभव, कार्य योजना सहितको सोचपत्र प्रस्तुतीकरण तथा अन्तर्वार्ता सम्बन्धी अंक विभाजन समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर