रुपन्देहीको सैनामैनास्थित स्टार सहकारीका बचतकर्ताको धर्ना, बचत फिर्ता माग्दै ४०० जनाले दिए निवेदन – Nepal Press

रुपन्देहीको सैनामैनास्थित स्टार सहकारीका बचतकर्ताको धर्ना, बचत फिर्ता माग्दै ४०० जनाले दिए निवेदन

रुपन्देही । रुपन्देहीको सैनामैनास्थित मुर्गियामा रहेको स्टार बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा समस्या उत्पन्न भएको छ । सदस्य सेवा केन्द्रको रुपमा रहेको यस सहकारीले एक करोडभन्दा बढी बचत रकम फिर्ता गर्न आनाकानी गर्दा बचतकर्ता विचल्लीमा परेका हुन् ।

मजदुर, किसान, सैलुन व्यवसायी जो आर्थिक रुपमा कमजाेर भएका बचतकर्ता बढी मारमा परेको जनाएका छन् । इलाका प्रहरी कार्यालयमा बिहीबार ४ सयभन्दा बढी बचतकर्ताको पुगेर धर्ना दिएको सहभागीको दाबी छ ।

इलाका प्रहरी कार्यालय रन्यौराले स्टार बहुउद्देश्यीय सहकारी संस्था सदस्य सेवा केन्द्र सैनामैनाका अध्यक्ष चिरञ्जिवी भण्डारीलाई नियन्त्रणमा लिएको छ ।बचतकर्ताले आफूहरुले जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने माग गर्दै सो सहकारीविरुद्ध प्रहरीकोमा निवेदन दिएका थिए ।

बचतकर्ता बमबहादुर आचार्यले आफ्नो रकम फिर्ता नपाएसम्म आन्दोेलन थप चर्काउने र कानुनी बाटो अपनाउने बताएका छन् । बचत रकम हिनामिना गरेको आरोपसमेत बचतकर्ताले लगाएका छन् ।

सो विषयलाई लिएर सहमतिको प्रयास भैरहेको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक आदित्यराज विष्टले जानकारी दिए ।

उक्त सहकारीमा ४५० जनाभन्दा बढीको बचत रकम रहेको भन्दै बचतकर्ताको रकम फिर्ताका लागि सहमति गर्न लागिपरेको प्रहरी निरीक्षक विष्टको भनाइ छ । सहकारीको अनुगमन गर्ने निकाय नै प्रभावकारी नहुँदा समस्या थपिएको बचतकर्ताको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *