आत्महत्याको बढ्दो ग्राफ र रोकथाममा हाम्रो भूमिका
आफूले आफ्नै ज्यान लिने कामलाई ‘आत्महत्या’ भनिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार मर्ने उद्देश्यले आफूले आफैँलाई हानी गरेर ज्यान गुमाउनु आत्महत्या हो । सँगै अर्को शब्द पनि छ, ‘आत्महानी’ । आत्महानी भनेको आफूले आफैँलाई चोट, पीडा या हानी पुर्याउने कार्य गर्नु हो, तर मर्छु नै भन्ने उद्देश्य नहुन पनि सक्छ ।
अहिले विश्वभरि नै आत्महत्याको दर निरन्तर बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेका विभिन्न अध्ययन प्रतिवेदन अनुसार मान्छेहरुले विश्वमा प्रत्येक ३ सेकेन्डमा आत्महत्याको प्रयास गर्छन् । प्रत्येक ४० सेकेण्डमा एक जनाले, दिनमा तीन हजार र वर्षमा ७ लाख ३ हजार व्यक्तिले आत्महत्या गर्ने गरेका छन् ।
नेपाल विश्वमा सातौं र दक्षिण एशियामा श्रीलंकापछि दोस्रो बढी आत्महत्या हुने देशमा पर्छ । विश्वमा प्रत्येक एक लाख जनसंख्यामा ११ जनाले आत्महत्या गर्ने गर्छन् । तर, नेपालमा भने प्रत्येक एक लाखमा २४ जनाले आत्महत्या गर्ने गर्छन् ।
नेपाल प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा सात हजार दुई सय २३ जनाको ज्यान आत्महत्याको कारणले गएको छ । यसरी नेपालमा दैनिक सरदर २० जनाको मृत्यु आत्महत्याको कारण हुन्छ ।
आ.व २०८०/८१ मा प्रतिलाखमा करिब २५ जनाले आत्महत्याको कारणबाट ज्यान गुमाए । सरकारले सन् २०३० मा ४ दशमलब ७ प्रति लाखमा पुर्याउने लक्ष लिएको छ । नेपालमा एक दिनमा करिब २० जनाले र प्रत्येक दुई घण्टामा एकजनाले आत्महत्या गरिरहेको दुःखद स्थिति छ । यति विकराल अवस्था हुँदाहुँदै आत्महत्या रोक्ने प्रयत्न गर्नुको साटो आत्महत्या कोसिस गरेकाहरूलाई समाजमा अझै पनि कलंकको रूपमा हेरिन्छ ।
विकसित देशहरूमा आत्महत्याबाट ज्यान गुमाउने संख्या महिलाको तुलनामा पुरुषको तीन गुणा बढी रहेको देखिन्छ भने कम विकसित देशहरुमा महिलाको तुलनामा पुरुषको एक दशमलब पाँच गुणाले बढी देखिन्छ । विश्वमा हत्या र युद्धभन्दा बढी आत्महत्याका कारण मानिसहरुको मृत्यु हुने गर्दछ । विश्वभर मृत्युको प्रमुख कारणमध्ये आत्महत्या पन्ध्रौं कारण हो ।
विश्वभर ७० वर्षमाथिका मानिसहरुको आत्महत्याको दर उच्च रहेको देखिन्छ । १५-२९ उमेर समूहमा विश्वभर आत्महत्या तेस्रो सबैभन्दा धेरै मृत्यु हुने कारण हो । प्रत्येक आत्महत्याको पछाडि २५ वटा प्रयासहरु हुनेगर्छन् ।
नेपालमा १५ देखि ४९ बर्षका प्रजनन उमेर समूहका महिलाहरु मध्ये मत्यूको प्रमुख कारण आत्महत्या हो जसको दर विश्वमै सर्वाधिक तेस्रो हुन आउँछ । यो उमेर समूहका महिलाहरूले प्रमुख रुपमा विष सेवनका माध्यमबाट आत्महत्या गर्छन् ।
आत्महत्याको जोखिमका कारणहरू
आत्महत्याको मनोवैज्ञानिक र सामाजिक असर परिवार तथा समुदायमा अत्यधिक पर्ने गर्दछ । आत्महत्या एक बहुकारकीय तत्व हो जसमा वातावरणीय, जैविकीय, सामाजिक, मनोवैज्ञानिक र वातावरणबीच गहिरो सम्बन्ध हुन्छ ।
नेपालमा बढ्दो आत्महत्याका कारणहरू सामाजिक, सांस्कृतिक विचलन, मानसिक रोग, शारीरिक अपाङ्गता, दीर्घ रोगले व्यक्तिमा नैराश्यता हुनु, पारिवारिक कलह, यौन दुर्वलता, असुरक्षा, अन्यायमा पर्नु, द्वन्द्व, बेरोजगारी, गरिबी, सञ्चार माध्यम तथा इन्टरनेटको दुरुपयोग, व्यक्तिगत गुण, मादक तथा लागुपदार्थको दुर्व्यसनी, असफलता आदि उल्लेखनीय छन् । घरेलु हिंसा, नैतिक शिक्षाको अभाव र नक्कल गर्ने मनोविज्ञान पनि उत्तिकै जिम्मेवार कारक तत्व देखिन्छ ।
डिप्रेसन, एनजाइटी डिसअर्डर र बाइपोलार डिसअर्डर जस्ता मानसिक स्वास्थ्य समस्याले आत्महत्या गर्ने सम्भावनालाई बढाउँछन् । यी समस्याहरूले व्यक्तिलाई निराश र अशक्त महसुस गराउँछन् । आर्थिक संकट, बेरोजगारी र सामाजिक दबाबहरूले पनि आत्महत्या गर्ने सम्भावना बढाउँछन् । वित्तीय समस्याले व्यक्तिलाई निराश बनाउँछ र उनीहरूको आत्मसम्मानमा कमी ल्याउँछ ।
सामाजिक एक्लोपन, साथीहरूको कमी र सामाजिक समर्थन अभावले व्यक्तिलाई असहाय महसुस गराउँछ । फलस्वरूप आत्महत्याको सोच उत्पन्न हुनसक्छ ।
आत्महत्याको जोखिम भएका व्यक्तिहरूले विगतमा आत्महत्याको प्रयास गरेको पारिवारिक इतिहास, सुसाइड नोट लेख्नु, बारम्बार आत्महत्याको कुरा गर्नु, हीनताबोध, हरेश, निराशा र आत्मग्लानीजस्ता परिस्थिति भएमा व्यक्तिहरु आत्महत्याको जोखिममा रहेका हुन्छन् ।
आत्महत्याको रोकथाम
आत्महत्याको जोखिममा रहेका व्यक्तिलाई घर परिवार र साथीभाइबाट प्रोत्साहन, हौसला प्रदान गर्नुपर्छ । उनीहरूलाई निराश हुन दिनु हुन्न । मनोवैज्ञानिक, मनोचिकित्सक, मनोविमर्शकर्ता र मनोसामाजिक कार्यकर्ताको उचित परामर्श लिन सहयोग गर्नुपर्छ । आत्महत्याको रोकथामको लागि हाल हटलाइन सञ्चालनमा छ । ११६६ मा सम्पर्क गरेर सेवा लिन सकिन्छ ।
आत्महत्या रोकथामका लागि आत्महत्यासम्बन्धी कानूनी व्यवस्थाको सम्बोधन गर्नु महत्वपूर्ण छ । आत्महत्या रोकथामका लागि मानसिक स्वास्थ्य सचेतना कार्यक्रम देशैभरि अनिवार्य गर्न आवश्यक छ ।
आत्महत्याको उच्च जोखिममा रहेको समूह र मानसिक रोगीहरूको लागि विशेष मानसिक स्वास्थ्य नीति कार्यान्व्यन गरी आवश्यकताअनुसार मानसिक स्वास्थ्य केन्द्र र मनोविमर्शकर्ताको व्यवस्था गरी आत्महत्या न्यूनीकरण गर्न आमरुपमा पहल गर्दा आत्महत्याको वढ्दोक्रमलाई रोकथाम गर्न सकिन्छ । मानसिक स्वास्थ्य एवं आत्महत्याको बारेमा पर्याप्त जनचेतना जगाउनु अर्को आवश्यकता हो ।
आत्महत्या रोकथामका लागि हाम्रो भूमिका
कहिलेकाहीँ परिवार, नातागोता, साथीसंगी, छिमेकी, सहकर्मी आदिबाट टाढिएका हुन्छौं । यस्तो बेला हामी वरिपरि रहेका व्यक्तिहरुको भूमिका निकै महत्वपूर्ण हुन्छ । आत्महत्या रोकथामका लागि हामी सबैको आ-आफ्नै खाले भूमिकाहरू हुन्छन् ।
जनप्रतिनिधि तथा नीति निर्माताहरूको भूमिका
आत्महत्या रोकथामका लागि स्थानीयस्तरमा रहेका आत्महत्याका कारक तत्वहरूको पहिचान गरी बहुपक्षीय योजना तर्जुमा गर्ने, निर्माण गर्ने र कार्यान्यवन गर्ने गर्नुपर्छ । मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका लागि निति निर्माण तथा बजेट विनियोजन र कार्यान्यवन गर्नपर्छ । गरिबी निवारणजस्ता कार्यक्रम सञ्चालन गरि जनताको जिवीकोपार्जनमा सहयोग गर्नुपर्छ । मानसिक र मनोसामाजिक स्वास्थ्य प्रवद्र्धन गर्नसक्ने निकायहरूको पहिचान गरी समन्वय र सहकार्यका साथै क्षमता वृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
रोकथाममा साथीको भूमिका
साथीलाई एकलै छाड्नु हुन्न । आवश्यक सहयोग गर्ने गर्नुपर्छ । उदासी व्यवहार बारेमा सोध्ने, साथीले सहयोग लिन नमानेको खण्डमा उसले कुरा सुन्ने अथवा सहयोग लिन चाहने आफन्त, दाजुभाइ, साथिभाई वा अभिभावकलाई जानकारी दिने गर्नुपर्छ । साथीका कुराहरूको गोपनीयता राख्दै समानुभूतिका साथ कुराकानी गर्ने गर्नुपर्छ ।
शिक्षकको भूमिका
विद्यार्थीहरूलाई निर्धक्कसँग भावना व्यक्त गर्ने वातावरण बनाउने, आत्महत्याको जोखिम देखिएका विद्यार्थीलाई एक्लै नछोड्ने, विद्यार्थीको नाम ठेगाना र अभिभावकको सम्पर्क नम्बर थाहा पाई राख्ने गर्नुपर्छ । विद्यार्थीहरुलाई समय समयमा मनोसामाजिक समस्या र यसको व्यवस्थापन सम्बन्धि चेतना मुलक कार्यक्रम संचालन गर्ने गर्नुपर्छ ।
समुदायको भूमिका
व्यक्तिलाई सम्मानपूर्वक व्यवहार गर्ने गर्नुपर्छ । उपनाम वा मानसिक रोगीको संज्ञा दिनु हुँदैन । आत्मसम्मानको भावना जगाउन सहयोग गर्नुपर्छ ।
विश्व स्वास्थ्य संगठनले आत्महत्या रोकथामको लागि जीवन जीउने पद्धति कार्यान्वयन गर्न मार्गदर्शन जारी गरेको छ । यस पद्धतिमा ४ वटा रणनीति छन् ।
पहिलो, अत्यधिक खतरनाक कीटनाशक औषधि र बन्दूकजस्ता आत्महत्या गर्ने साधनहरूमा पहुँच सीमित गर्ने । सबैभन्दा खतरनाक कीटनाशक औषधिमा प्रतिबन्ध लगाउनु उच्च प्रभावकारी कार्य हो । किनकि नेपालमा आत्महत्याको प्रयासमा अधिकतर कीटनाशक औषधिको प्रयोग गरिने देखिएको छ ।
दोस्रो, आत्महत्याबारे पत्रकारहरूलाई मिडियालाई प्रशिक्षित गर्ने । त्यसैगरी, आत्महत्याको कुरा गर्ने प्रत्येक मिडिया रिपोर्टमा राष्ट्रिय आत्महत्या हेलख्पलाइन ११६६ राख्ने ।
तेस्रो, किशोरकिशोरीहरूमा सामाजिक-संवेगात्मक जीवनोपयोगी सीप विकास गर्ने । किशोरावस्था सामाजिक-संवेगात्मक सीप हासिल गर्ने अत्यन्त महत्वपूर्ण उमेर हो । किनकी मानसिक स्वास्थ्यसम्बन्धी समस्या प्रायः १४ वर्षभन्दा पहिले नै देखिने गर्दछ ।
चौथो रणनीति भनेको आत्महत्याका प्रयास गरेका वा आत्महत्या गर्ने जोखिममा रहेका व्यक्तिहरूको प्रारम्भिक पहिचान, मूल्याङ्कन, व्यवस्थापन र अनुगमन गर्नु हो । आत्महत्याको सोच र व्यवहारबाट प्रभावित कुनै पनि व्यक्तिको प्रारम्भिक पहिचान, मूल्यांकन, व्यवस्थापन र अनुगमन जीवन रक्षाका लागि महत्वपूर्ण कार्यक्रम हो ।