खाँचो नैतिक बन्धनको – Nepal Press

खाँचो नैतिक बन्धनको

समाज विश्लेषकहरूका अनुसार यतिबेला समाजमा हुने अदृश्य सामाजिक बन्धन कमजोर बन्दै गएका छन् । उनीहरूको दाबीलाई आधार लिने हो भने समाजमा अपराध बढ्नुको कारण यी अदृश्य सामाजिक, सांस्कृतिक तथा नैतिक बन्धन कमजोर हुनु हो ।

समाजलाई पथप्रदर्शन गर्ने, सुव्यवस्थासाथ चलाउने अदृश्य बन्धन जुन हुन्छ, ती बन्धनहरू आजभोलि कमजोर भएका छन् । नैतिक सामाजिक बन्धनले मानिसभित्रको आत्म अनुशासन बढाउँछ । आत्म अनुशासनको कमिकै कारण दिनानुदिन हाम्रो समाजमा अराजकता आगोझैं फैलिएको छ ।

समाजका यी अदृश्य बन्धनहरू कमजोर हुँदा अपराधहरू बढेको र प्रहरी प्रशासन तथा अदालतमा धेरै मुद्दाहरू परेको उनीहरूको तर्क छ । व्यक्तिमा नैतिक बन्धन कमजोर हुँदा मैले जे गरेपनि हुन्छ, जसो गरेपनि हुन्छ भन्ने भावना बढ्दै जान्छ । यतिबेला अधिकांश मानिस आफ्नो निहीत स्वार्थ पूरा गर्न क्रियाशील हुनुको कारण नैतिक बन्धनको अभाव हो, जसले समाजलाई विचलित गराउँदैछ ।

मानिसको अदृश्य व्यवहारलाई व्यवस्थापन गर्न देशको संविधान र कानून मात्रले पर्याप्त हुँदैन । इमानबाट चल्ने नैतिक बन्धन, सामाजिक, सांस्कृतिक बन्धन, वाचा बन्धन, लिखतका बन्धनलाई प्रोत्साहन गर्नुपर्ने आजको टट्कारो आवश्यकता हुन्छ ।

यो शिक्षा, मनोवैज्ञानिक उपचार लगायतका प्रश्नहरूमार्फत गरिने कुरा हो । यसो नगर्दाखेरी हामीले जति कानूनमा संशोधन गरेपनि जति नै थुना र कारागार बनाएपनि नपुग्ने अवस्था आउनसक्छ ।

‘अरु कसैले नदेखेपनि भगवानले देख्लान्’ भन्ने त्रासबाट मान्छे मुक्त हुँदै गएकै कारण वर्तमानमा यी समस्या देखापर्दै गएका छन् । पाप र धर्मले समाजमा नैतिक, सामाजिक र सांस्कृतिक बन्धन बल पुर्‍याउन मद्दत गर्छ । बिस्तारै त्यो स्खलित हुनुमा धर्मप्रतिको नास्तिक प्रवृति बढ्दै जानु पनि हो, भनिन्छ ।

नैतिकता मानिसको एक प्रकारको जीवनशैली हो । व्यक्तिले कसरी आफ्नो र अरूका बारेमा सोच्छ, अरूसँग कसरी अन्तरक्रिया गर्छ र समाजमा कसरी व्यवहार गर्छ भन्ने कुरालाई मार्गदर्शन गर्ने साझा मान्यता नै नैतिकता हो । नैतिक मूल्य-मान्यता देश, काल, परिस्थिति, सामाजिक-सांस्कृतिक अवस्था र धार्मिक प्रचलनअनुसार फरक-फरक भएतापनि मानवका रूपमा गर्ने व्यवहारमा भने केही सर्वमान्य नैतिक मान्यता रहेका हुन्छन् ।

नैतिकता व्यक्तिको व्यवहारलाई सही र गलत मार्गदर्शन गर्ने मूल्यमान्यता र सिद्धान्तको सँगालो हो । नैतिक नियमले सधैं व्यक्तिको सुव्यवहारलाई निर्देशित गर्छ । उसलाई सही बाटोमा डोहोर्‍याइरहेको हुन्छ । व्यक्तिमा जब निजी स्वार्थले सार्वजनिक स्वार्थलाई जित्छ तब नैतिक समस्या अगाडि आउँछ ।

समाजलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्नका लागि सामाजिक, सांस्कृतिक तथा नैतिक बन्धनहरूको प्रवर्द्धन गर्नुपर्छ । मानिसहरू स्वयं नैतिक बन्धनमा नबाँधिए कानूनलाई जति संशोधन गरेपनि अपराध न्यूनीकरण हुनसक्दैन । ठूलाठूला दण्ड र सजायले मात्रै अपराधको अन्त्य गर्न सक्दैन ।

नैतिक बन्धनको अभावमा प्रहरी, अदालत, अपराध भइसकेपछि अनुसन्धान गर्नेले अथवा अपराध भइसकेपछि अभियोजन गर्नेले, अभियोजन भइसकेपछि बहस गराएर सुनेर फैसला गर्ने निकायहरूले मात्र रक्षा गर्न सक्दैन । त्यतिमात्र नभएर उनीहरूले शान्ति, सुव्यवस्थाको पनि रक्षा गर्न सक्दैनन् । यदि नागरिक सचेत भएनन् भने नागरिकले आफ्नो दायित्व बुझेन भने सुशासन दिलाउने जिम्मेवारी पाएको निकायले मात्र केही काम गर्न सम्भव छैन ।

सार्वजनिक नैतिकता, विधिको शासन, पारदर्शिता र उत्तरदायित्व सुशासनका आधारभूत तत्व हुन् । साथै सार्वजनिक ओहोदामा बसेको पदाधिकारीले आफ्नो जिम्मेवारी पूरा गर्दा संवैधानिक कानूनी तथा विशेषज्ञ अधिकार तथा बजेट र कानूनी सीमा प्राप्त गरेको हुन्छ । उसले आफ्नो दायित्व र नैतिक आचरण पालना गर्नु अनिवार्य शर्त हुन्छ । सार्वजनिक कार्यसम्पन्न गर्दा अधिकारको प्रयोग गरी निर्णय लिने र बजेट खर्च गर्ने गरिन्छ । निर्णय गर्दा कानून र प्रक्रियाको पालना, अधिकारको सुप्रयोग, बजेट खर्च तथा सोको उपलब्धिप्रति निर्णयकर्ता उत्तरदायी हुनुलाई उत्तरदायित्व बहन गर्नु भनिन्छ ।

सार्वजनिक पद धारण गरेको व्यक्तिको गोपनीयता कम र पारदर्शीता बढी हुनुपर्छ । राजनीतिक नेतृत्वमा बसेको व्यक्तिले गरेका सार्वजनिक सरोकारसँग सम्बन्धित कामकारबाहीबारे नागरिकलाई थाहा दिनु सम्बन्धित पदाधिकारी तथा नेतृत्वको नैतिक दायित्व हो । तर, हाम्रो राजनीतिक नेतृत्वमा पारदर्शिताको अभावकै कारण जनता चरम निरासामा छन् ।

चुनाव खर्च, पार्टी सञ्चालन र नेतृत्वको पारिवारिक आयस्रोतबारे नागरिक अझै पनि सशंकित र अनभिज्ञ छन् । कतिपय राजनीतिक नेतृत्वको पारिवारिक जीवनशैली र चालचलनबारे नागरिकले नजिकबाट चासो राख्छन् । खर्चिलो जीवनशैलीको आर्थिक स्रोत के हो भन्ने प्रश्न आमजनमानसमा उठ्न थालेको छ । सामाजिक जीवनशैलीजस्तो बन्छ, राजनीतिक सत्ता-संरचना पनि त्यस्तै बन्छ । समाजको प्रत्यक्ष प्रतिविम्ब राजनीतिक सत्तामा पर्छ भने राजनीतिक सत्ताको प्रत्यक्ष असर समाजमा हुन्छ ।

भलै हिजोको प्रतिबन्धित जीवन र साँघुरा विचार आज स्वतन्त्र र फराकिला बन्दै गएका छन् । तर, त्यही मेसोमा समाजमा अराजकता बढ्दै जानुका पछाडि विभिन्न कारण हुनसक्छन् । प्रशासनिक अस्तव्यस्तता र राजनीतिक अराजकताका कारण पनि समाजमा विचलन आउनसक्छ । हाम्रा सामाजिक मूल्य-मान्यता खस्किँदै गएका छन् । हाम्रा विश्वास र भरोसाका धरोहर बिस्तारै धर्मराउन थालेका छन् । आशा र सपना मर्दै गएका कारण समाजिक विचलन हुन्छ । आखिर किन हाम्रा विचार र भावना विचलित हुँदै छन् ?

हाम्रा विश्वासहरू अविश्वासमा, हाम्रा भरोसाहरू आशंकामा, मित्रताहरू शत्रुतामा, आशाहरू निराशामा, एकताहरू विभाजनमा, प्रेमहरू घृणामा, इमानहरू बेइमानमा बदलिँदै जानुको पछाडि नैतिक तथा सामाजिक बन्धनको अभाव नै हो । नैतिक बन्धन कमजोर बन्दै गएकै कारण हामीमा नजानिँदो गरी यी समस्या सृजित हुँदैछन् ।

यतिबेला नेपाली समाजमा आत्म अनुशासनको खाँचो छ । आत्म अनुशासनको अभावमा नैतिक बन्धन कमजोर हुँदा सामाजिक अराजकता बढ्दै गएका छन् । आत्मा साक्षी राखी विवेकीहरूबाट प्रस्फुटित अनुशासनका व्यहोराहरू अवलम्बन गर्नु आत्मानुशासित हुनु हो । यसर्थ शिक्षा तथा जनस्तरमा चेतना, योगका माध्यवबाट आत्मनुशासित बढाउन सकिन्छ । यतिबेला नेपाली समाजमा आत्म अनुशासनको खाँचो छ । आत्म अनुशासनको अभावमा नैतिक बन्धन कमजोर हुँदा सामाजिक अराजकता बढ्दै गएका छन् ।

आत्मा साक्षी राखी विवेकीहरूबाट प्रस्फुटित अनुशासनका व्यहोराहरू अवलम्बन गर्नु आत्मानुशासित हुनु हो । यसर्थ शिक्षा तथा जनस्तरमा चेतना, योगका माध्यमबाट आत्मनुशासित बढाउन सकिन्छ । आत्मअनुशासनले मानिसको आफ्नो जीवन, घर-परिवारदेखि समाजलाई समेत फाइदा पुग्दछ । मानिसका लागि आत्म अनुशासन र सामाजिक एकता एकदमै महत्त्वपूर्ण हुन्छ जसले व्यक्तिगत जीवनदेखि समाजमासमेत प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *