कांग्रेसबाट चुनाव जितेर एमाले प्रवेश गरेपछि दलित महिला वडा सदस्य पदमुक्त – Nepal Press

कांग्रेसबाट चुनाव जितेर एमाले प्रवेश गरेपछि दलित महिला वडा सदस्य पदमुक्त

रुपन्देही । नेपाली कांग्रेसबाट निर्वाचन जितेर एमाले प्रवेश गरेपछि गुल्मीको छत्रकोट गाउँपालिका वडा नं ५ को दलित महिला वडा सदस्य उर्मिला आचार्य नेपाली पदमुक्त भएकी छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित भएकी उर्मिलाले गत चैतमा पार्टी छाडेपछि कांग्रेसले नै उनलाई हटाउन निर्वाचन आयोगमा निवेदन दिएको थियो । निर्वाचन आयोगका अनुसार दलित महिला वडा सदस्यमा निर्वाचित उर्मिला आचार्य नेपाली अन्य दलमा प्रवेश गरेकाले स्वतः पदमुक्त गरिएको हो ।

कांग्रेस केन्द्रीय समितिले उनलाई पदमुक्त गर्न आयोगलाई गरेको सिफारिस अनुसार पदबाट हटाइएको आयोगले जनाएको छ ।नेपाली राजनीतिक दलसम्बन्धी नियमावली, ०७४ को नियम २२ को उपनियम २ र ३ बमोजिम पदमुक्त भएकी हुन् ।

छत्रदेव वडा नं ५ का वडाध्यक्ष रामप्रसाद कँडेलका अनुसार दल बदल गरेको विषयमा नै पार्टीले आचार्यलाई कारबाहीको सिफारिस गरेको र सोही अनुसार आयोगले निर्णय गरेको हो ।

गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीले सामाजिक सञ्जालबाट यो विषय सुने पनि औपचारिक रूपमा आयोगबाट केही पत्र नआएको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर