अमेरिकामा मृत्युसँग लड्दै दाइ, मोटरसाइकल दुर्घटनामा बिते भाइ – Nepal Press

अमेरिकामा मृत्युसँग लड्दै दाइ, मोटरसाइकल दुर्घटनामा बिते भाइ

तीजकै दिन कवितालाई पति वियोग, एक वर्षको छोरा काखमा लिएर किरियामा

रुपन्देही । भनिन्छ नि, ‘दिन’ लागेपछि कसैको केही लाग्दैन । बर्दियाको बढैयाताल गाउँपालिका- ५ राजपुरका ५६ वर्षीय मीनराज पंगेनीको जीवनमा यस्तै भएको छ । उनी एकपछि अर्को पीडाको दुष्चक्रमा परिरहेका छन् ।

डेढ वर्षअघि मीनराजले श्रीमतीलाई अल्पायूमै गुमाएका थिए । त्यो पीडाबाट बाहिर निस्किन नपाउँदै जेठो छोरा विवेकलाई ब्रेन क्यान्सर भयो । विवेक अमेरिकाको अस्पतालमा मृत्युसँग लडिरहेका छन् । पत्नी सृजना उनीसँगै छिन् । यता नेपालमा मीनराजका कान्छा छोरा विपीनको सडक दुर्घटनमा असामयिक निधन भएको छ ।

विपीन भदौ २१ गते शुक्रबार तीजको दिन मोटरसाइकल चलाएर आफू काम गर्ने नेपालगञ्जस्थित गाडी कम्पनीको शो रूममा गएका थिए । श्रीमान काममा गएपछि पत्नी कविताले तीजमा नाचगान गरेका तस्बिरमा सामाजिक सञ्जालमा राखिन् थिइन् । कमेन्टहरू पढेर रमाउँदै थिइन् । तर, अफसोच । पति वियोगको अकल्पिनीय खबर कानमा आइपुग्यो ।

मोटरसाइकलमा फर्कँदै गरेका विपीनको साँझ ८ बजे खजुराबजार नजिकै दुर्घटनामा परेर मृत्यु भएको थियो । अघि दिउँसोसम्म श्रीमानसँग नाचेर रमाइलो गरिहेकी कविता अचानक विधवा भइन् । तस्बिरको प्रशंसा गर्दै आइरहेका प्रतिक्रियाहरू श्रद्धाञ्जलीमा बदलिए ।

सुरूमा कतिपयले घटनाप्रति आशंका व्यक्त गरे पनि अन्य केही कारण नभेटिएपछि प्रहरीले दुर्घटना नै ठहर्‍यायो । विपीनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । मोटरसाइकल सडक किनाराबाट चिप्लिएर लडेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार विपीनको शरीरमा कतै पनि गम्भीर चोट र ठूलो रक्तश्राव देखिएको छैन । मुखबाट केही रगत बगेको थियो । मोटरसाइकलमा पनि कुनै क्षति नभएको स्रोतले बतायो ।

‘दुर्घटना ठूलो देखिँदैन, मोटरसाइकलबाट खसेपछि हक्कानिएर (आत्तिएर) मृत्यु भएको अनुमान छ’, प्रहरी स्रोतले भन्यो ।

अहिले कविता १ वर्षको छोरा काखमा लिएर श्रीमानको किरियामा बसेकी छन् ।

जेठो छोरा मृत्युसँग लडिरहेका बेला कान्छो छोरा गुमाएपछि मीनराज असैह्य पीडाको भारीले थिचिएका छन् । उनका आँखाहरू निरन्तर रसाइरहेका हुन्छन् । तर, घरको मूली नै आफू भएकाले सबैलाई सम्हाल्नुपर्ने चुनौती छ । उनी साविक सोरहवा गाविसको अध्यक्ष पनि भएकाले सामाजिक काममा पनि उत्तिकै लाग्ने गर्दथे । तर, निजी जीवनमा एकपछि अर्को वेदनाले घेरिरहेको छ ।

पछिल्लो घटनाले पंगेनी परिवारलाई मात्रै होइन बढैयातालको जगतपुरबासी नै शोकाकुल बनेको वडाध्यक्ष तुलाराम थारु बताउँछन् ।

‘यो पीडालाई वर्णन गर्ने कुनै शब्द नै छैन,’ तुलारामले भने, ‘हामी सबै स्तब्ध छौं ।’

अब पंगेनी परिवारको व्यवस्थापन, कविता र उनको १ वर्षको छोराको भविष्यका विषयमा के गर्न सकिन्छ भनेर आफूले पालिकामा छलफल गर्ने उनले बताए ।

सामाजिक सञ्जालमा धेरैले पंगेनी परिवारलाई समवेदना दिइरहेका छन् ।

शुभेच्छुक भावना विष्ट लेख्छिन्, ‘कसले भन्छ फेरि भगवान् छन् भनेर ? जहाँ बुढा बाआमाको साहारा, श्रीमतीको सर्वस्व र ती साना नाबालकले भविष्य गुमाउँछ र बज्रपात पार्छ त्यो भगवानलाई कसरी पुज्ने हामीले ?’

अर्का शुभेच्छुक केशव खत्री लेख्छन्, ‘योभन्दा दुःखद घटना अरु के होला र ?’

विपीनकी श्रीमती कविता सामाजिक सञ्जालमा खुबै रमाउने गर्थिन् । बर्दिया घर भएका विपीन र कविताको ३ वर्षअघि मात्रै विवाह भएको थियो । उनीहरूले भदौ १९ गते छोराको पहिलो जन्मदिन मनाएका थिए । यही दिन उनीहरूले घरमा रमाइलो गरी चेलिबेटी बोलाएर तीज पनि मनाए । त्यो दिन कविताले श्रीमानसँग नाचेको भिडिओ लाइभ गरेकी थिइन् ।

मीनराजका जेठा छोरा विवेक र बुहारी सिर्जना अध्ययनका लागि अमेरिका गएलगत्तै नेपालमा आमाको निधन भएको थियो । त्यसपछि उनीहरू आमाको काजक्रिया गर्न नेपाल फर्किए । काजक्रिया सकेर अमेरिका फर्केको एक सातामै विवेक बिरामी परेका थिए । अस्पतालमा परीक्षण गराउँदा ब्रेन क्यान्सर देखियो ।

त्यसयता सृजनाले एकछिन पनि श्रीमानको साथ छोडेकी छैनन् । सामाजिक सञ्जालबाटै सहायता आह्वान गरेर श्रीमानको उपचार गराइरहेकी छन् । जति कठिन परिस्थितिसँग जुध्न परे पनि, मनमा जति पीडा भए पनि उनको अनुहारमा मुस्कान हराएको छैन । श्रीमानलाई पनि मुस्काउन प्रेरणा दिइरहेकी हुन्छिन् । प्रेम र समर्पणकी एक बिम्ब बनिरहेकी छिन् सृजना ।

जेठो दाइ गम्भीर बिरामी परेपछि भाइ विपिनले घर-परिवार सम्हालिरहेका थिए । तर, अब भाइ नै रहेनन् ।

कवि बालकृष्ण समको कविता यो परिवारका लागि चरितार्थ भएझैं लाग्छः

दु:खीको घरमा मात्रै तेरो बास हुने भए

हे ईश्वर दया राखी मलाई अझ दु:ख दे


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर