लिपुलेक भारतको हो भन्दा जसपाकी सरिता गिरीको सांसद पद गुम्यो, नेकपा एसले मेटमणिलाई के गर्छ ? – Nepal Press

लिपुलेक भारतको हो भन्दा जसपाकी सरिता गिरीको सांसद पद गुम्यो, नेकपा एसले मेटमणिलाई के गर्छ ?

झलनाथ भन्छन्–पहिले स्पष्टिकरण हेर्छौ,त्यसका आधारमा थप कारवाही हुन्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा मेटमणि चौधरी लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी पुग्छ भन्ने अभिव्यक्ति दिएपछि विवादमा फसेका छन्।

भदौ २५ गते प्राइम टिभी ऋषि धमलासँग दिएको अन्तर्वार्तामा चौधरीले महाकाली सन्धिपछि भारतले कालापानी क्षेत्रमा आफ्नो दाबी गर्न थालेको दाबी गरेका छन्।

उनले अन्तर्वार्तामा यसो भनेका थिए-

महाकाली सन्धिपछि भारतले महाकाली नदी मेरो पनि आधा हो भनेर दाबी गर्न थाल्यो । आज चुच्चे नक्सा निकाल्यो, पहिलो नदी बेच्ने, त्यसैको कारणले भारतले लिपुलेक, लिपुलेक र कालापानी भारतले आफ्नो दाबी प्रस्तुत गरेको छ। मलाई लाग्दा दाबी पुग्छ उसको। दाबी पुग्छ, लिन पाउँछ उसले। त्यो भूमिका कसले निर्माण गर्‍यो ? त्यसो भए आज तपाईँले लिम्यिाधुरा, लिपुलेक र कालापानी भारत हो भनेर घोषणा गर्नुहुन्छ भनेर धमलाले सोधेपछि चौधरीले थपे, भारतको हो नि। त्यो चुच्चे नक्सा मेरो देशको भन्न मिल्छ। यस्तो फाटाहागिरिकाम कसैले गर्नु हुँदैन । म अहिले पनि भन्छु त्यसबेला नेकपा एमालेको भूमिकामा गल्ती थियो। कोशी र गण्डकी नदी बेच्ने काम भयो। यसमा हाम्रो र कम्युनिष्ट पार्टीको भूमिका थिएन। पछिल्लो महाकाली सन्धि गर्दाखेरि त्यो भूमि अहिले भारतले दाबी गरिरहेको छ। उसको दाबी पुग्छ। तर, आज मान्छेलाई भ्रमित पार्ने काम भइरहेको छ। मान्छेलाई बेवकुफ बनाउनको लागि चुच्चे नक्सा ।

यो विवादित अभिव्यक्ति दिएपछि चौधरीले महासचिव घनश्याम भुसालले चौधरीलाई ३ दिने स्पष्टीकरण सोधेका छन्।

स्पष्टीकरण भनिएको छ, ‘अनेकौँ तथ्यहरूले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन्। हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वविदितै नै छ। त्यस विपरीत, मुलुकको अखण्डता र सार्वभौसमसत्ताका विरुद्ध तपाईँले किन बोल्नु भएको हो।’

चौधरीले राष्ट्र हित विपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरणको जवाफ आइसकेपछि कारबाही प्रक्रिया अघि बढ्ने सम्मानित नेता झलनाथ खनालले बताए।

त्यसबारे उनले नेपाल प्रेससँग भने, पार्टीले स्पष्टीकरण सोधिएको छ। स्पष्टीकरण आउनासाथ के जवाफ हुन्छ त्यसको आधारमा कारबाही हुन्छ।

उनले उपमहासचिव चौधरीको गैरजिम्मेवारपूर्ण, मुलुकको पहिचान, भावना र राष्ट्रिय हितका विपरीत अभिव्यक्ति भएको बताए। पार्टी पदाधिकारीबाट राष्ट्र हित विपरीतको अभिव्यक्ति आएकाले स्पष्टीकरणको जवाफको आधारमा कारबाही प्रक्रिया अघि बढाउने उनले बताए।

त्यसो त २०७७ चुच्चे नक्साको विरोध गर्दा तत्कालीन समाजवादी पार्टीले सरिता गिरीलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको थियो।

त्यसबेलामा सांसद रहेकी गिरीले संसदमा पार्टीको हृवीप उल्लंघन गर्दै लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको विपक्षमा उभिएका थिइन्।

अहिले नेकपा एसका चौधरीले पनि चुच्चे नक्साको विरोध गर्दै भारतकै हो भन्ने अभिव्यक्ति दिएपछि पार्टीभित्र कारबाही गर्नुपर्ने आवाज उठेको छ। यद्यपि, अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरूले स्पष्टीकरणको जवाफ आएपछि निर्णय गर्ने नेताहरूलाई बताउँदै आइरहेका छन्।


प्रतिक्रिया

4 thoughts on “लिपुलेक भारतको हो भन्दा जसपाकी सरिता गिरीको सांसद पद गुम्यो, नेकपा एसले मेटमणिलाई के गर्छ ?

  1. एमाले र ओलि को खोइरो खन्नी मान्छे को हालत यस्तै हुन्छ
    बल्ल खायौ मेट मडि चौधरी
    ठिक भयो
    मलाई त खुसी लायो तिमी आफ्नो थुतुनो धेरै चलाएको थियौ

    1. माधव नेपालले नै बोल्न लगाएका रहेछन भने कारबाहि चाहि कस्लाइ हुन्छ होला?सम्पादक ज्यु।

  2. एमाले फुटाएर समाजवादी बनाईदिएकै भारतले हो । केहि नबुझेर र मुख्य नेतृत्व भारतको निर्देशन अनुसार नै समाजवादीमा लागेका हुन् । मालिकको गुणगान गाउनु दासको धर्म हो । यिनले पनि धर्म निभाएका हुन् । कसको हिम्मत यसलाई कारवाही गर्ने ?

    1. सांसद मेटमणिलाई तत्काल बर्खास्त गर
      राजेन्द्र ताम्राकार

      यही भदौ २५ गते मंगलबार राती प्राइम टेलिभिजनबाट प्रशारित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा प्रस्तोता ऋषि धमलासँगको अन्तरवार्तामा नेकपा एकीकृत समाजवादीका उपमहासचिव कामरेड मेटमणि चौधरीले लिपुलेकबारे दिएको अभिव्यक्ति असाध्यै आपत्तिजनक र निन्दनीय छ । कार्यक्रममा उनले “लिपुलेक र कालापानीमाथि इन्डियाले दाबी प्रस्तुत गरेको छ । मलाई लाग्छ दाबी पुग्छ उसको । दाबी पुग्छ । भारतले लिन पाउँछ । कालापानी र लिपुलेक भारतको होनी ।” भनेका छन् । उनले दिएको अभिव्यक्तिको चौतर्फी विरोध भएपछि चौधरीको पार्टी नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टीका तर्फबाट चौधरीलाई उनले दिएको राष्ट्रघाती अभिव्यक्तिबारे तीन दिनभित्र स्पष्टीकरण दिन भनेका छन् । यस्ता राष्ट्रघाती, देशद्रोही अभिव्यक्ति दिने दलाललाई उनको पार्टीले स्पष्टीकरण सोधेर मात्रै पुग्दैन । मूलुकको कानून बनाउने ठाउँमा पुगेको एकजना जिम्मेवार जननिर्वाचित प्रतिनिधि, संघीय सरकारको मन्त्रीसमेत भैसकेको व्यक्तिले दिएको गैरजिम्मेवार अभिव्यक्तिलाई कुनैपनि हालतमा स्वीकार गर्नै सकिँदैन । मूलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रहित विरुद्धमा मनपरी बोल्ने छुट कोही कसैलाई पनि छैन । त्यसमाथि पनि जनताबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि र एउटा जिम्मेवार राजनीतिक दलको पदाधिकारीबाट यस्तो राष्ट्रघाती अभिव्यक्ति आउनु सर्वथा निन्दनीय र खेदजनक छ । संसदमा सरकार पक्ष र विपक्षमा रहेका संसद्का सबै सदस्यले एकस्वरमा, एकमतले कालापानी, लिपुलेक हाम्रो हो भनेर संसदबाट संकल्प प्रस्ताव पारित भएको छ । त्यतिमात्रै होइन । कालापानी, लिपुलेकको भूगोललाई समेटेर नेपालको नयाँ नक्सा जारी भएको छ । साथै उक्त विषय संविधानको अङ्गसमेत भैसकेको छ । यस्तो अवस्थामा मूलुकको संविधानविपरित, राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसत्ता र अखण्डता खण्डित हुनेगरी अभिव्यक्ति दिने व्यक्तिलाई तत्काल देश निकाला गर्नुपर्छ । सुरुसुरुमा मलाई चौधरी मान्छे ठिकै होलान् भन्ने लागेको थियो । तर, आज आएर उनको असली चरित्र सार्वजनिक भएको छ । यिनी त देशघाती पो रहेछन् । हेक्का रहोस् । कुनैबेला यही संसद्ले यही विषयमा यस्तै प्रकृतीको अभिव्यक्ति दिएर विवादमा तानिएकी तत्कालीन सद्भावना पार्टीकी सांसद सरिता गिरिलाई चौतर्फी जनदबाबपछि उनको पार्टीले सांसद पदबाट बर्खास्त गरेको थियो । यसर्थ अब मेटमणि चौधरीजस्ता राष्ट्रघाती, जनघाती र भारतको दलाललाई तत्काल सम्बन्धित दल र संसद्ले तत्काल पदबाट बर्खास्त गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर