‘काश्मिरे पछ्यौरी’ युट्यूवको ग्लोबल ट्रेन्डिङमा, बाबुकृष्ण भन्छन्- खोइ पत्यारै लागेको छैन – Nepal Press

‘काश्मिरे पछ्यौरी’ युट्यूवको ग्लोबल ट्रेन्डिङमा, बाबुकृष्ण भन्छन्- खोइ पत्यारै लागेको छैन

‘मेरो गीत नेपालमै त ट्रेन्डिङमा आएको छैन, संसारभर हेरे होला भनेर कसरी विश्वास गर्नु ?

काठमाडौं,

निधारैमा टिकी टलक्कै
सुन्तली नानीको मुहार झलक्कै
काश्मिरे पछ्यौरी दार्जिलिङको रेल
लाउँ साइँली पिरती दुई दिन बाँचुञ्जेल

बाबुकृष्ण परियार र दीपिका बयम्बुले गाएको ‘काश्मिरे पछ्यौरी’ बोलको गीत अहिले युट्यूवको ग्लोबल ट्रेण्डिङ नम्बर ९९ मा छ । बाबुकृष्णको युट्युब च्यानलको प्राविधिक पाटो हेरिरहेका आईटी इन्जिनियर राजेन्द्र अर्यालका अनुसार युट्युबको ग्लोबल ट्रेण्डिङमा प्रवेश गर्ने सम्भवतः यो पहिलो नेपाली गीत हो ।

संसारभरका दर्शकले हेरेका गीतहरूलाई युट्यूवले ग्लोबल ट्रेण्डिङमा राख्ने गरेको छ । यही सिलसिलामा बाबुकृष्णको गीत पनि ट्रेण्डिङमा परेको हो । तर, गायक बाबुकृष्ण भने सबैले ग्लोबल ट्रेण्डिङमा गएको बताइरहे पनि आफूलाई भने पत्यार नलागेको बताउँछन् ।

‘गीत यसरी ट्रेण्डिङमा जानु गर्वको कुरा हो भनेर धेरैले भन्नुभएको छ । विश्वबजारमा गीत गयो भनेर पनि भन्नुभएको छ,’ बाबुकृष्णले नेपाल प्रेसलाई भने, ‘मेरा गीतहरू नेपालमा त ट्रेण्डिङमा गएका थिएनन् । अहिले सबैले विश्वबजारमा गयो भन्दा पत्यारै लागेको छैन ।’

बागलुङ, बलेवाका बाबुकृष्ण सानैदेखि गायनमा रुचि राख्थे । उनी गीत संगीतमा लागेको पनि १३/१४ वर्ष नै भइसक्यो । बाबुकृष्णका गीत संगीतप्रतिको लगावले नै यति लामो समयसम्म संघर्ष गरिरहेका छन् । बाबुकृष्ण भन्छन्, ‘सानो मान्छेले ठूलो सपना देख्दैन । हामीलाई त खाना पाए, लाउन पाए पुग्छ । मेरो गीत त्यसरी जाला भनेर मैले सोचेकै थिएन ।’

गीतलाई दर्शक स्रोताले यसरी मन पराइदिनुमा सम्पूर्ण टीमको मिहेनत कारक रहेको बाबुकृष्ण बताउँछन् । यो गीतमा आफूले काम गर्न पाउनु नै गर्वको कुरा रहेको भन्दै संगीतकार तथा गीतकार निश्चल दवाडीलाई गीतको श्रेय दिन्छन् बाबुकृष्ण ।

‘निश्चल जी र म गीत बनाउने बेलासँगै बस्छौं । गीतहरू धेरै प्राक्टिस गर्‍यौं, गाउँछौं । एकअर्कालाई सपोर्ट गर्छौं,’ बाबुकृष्ण गीत निर्माण वेलाको समय सम्झन्छन्, ‘मेलो लागि बनेको गीत चाहिँ अर्कै थियो । तर, मैले यो गीत गाउँछु भनेर उहाँले दिनुभयो, गाएँ ।’

अहिले बाबुकृष्णलाई ‘काश्मिरे पछ्यौरी’ गीतका कारण धेरैले चिने । सात महिना अगाडि सार्वजनिक भएको गीतले अहिलेसम्म १९ मिलियन भ्युज पाइसकेको छ । आफ्नो गीतलाई माया गरिदिएकोमा दर्शकप्रति उनी कृतज्ञ पनि छन् ।

यो बीचमा गीत नचलेपछि बाबुकृष्णले धेरैपटक अब कामै नगरौं होला भन्ने पनि सोचे । तर, कामै रोकेर पनि बसेनन् । बाबुकृष्ण भन्छन्, ‘कहिलेकाहीँ काम नगरौं, जति गरे पनि गीत चल्दैन भन्ने लाग्थ्यो । हाम्रो गीत संगीतको बजार पनि सानो छ । यहाँ जसले पनि भाइरलहरुलाई मात्रै हेर्ने/खोज्ने गर्छन् । राम्रो सृजना गर्ने सधैँ पछाडि पर्ने । तर, एक दिन राम्रो सृजनालाई दर्शकले मन पराउनुहुन्छ भन्ने चाहिँ मलाई सधैँ लाग्थ्यो ।’

अहिले युट्यूवको ग्लोबल ट्रेण्डिङको शीर्ष स्थानमा ‘स्त्री २’ फिल्मको ‘आज की रात’, दोस्रोमा ‘स्त्री २’कै ‘आयी नाइ’, तेस्रोमा कोक स्टुडियोको ‘कारोल जी’, चौथोमा लेडी गागा र ब्रुनो मार्सको ‘आइ डाइ विथ अ स्माइल’, पाँचौंमा ‘ब्याड न्युज’ फिल्मको ‘तोबा तोबा’ रहेका छन् ।

युट्यूवले यस साताका सबैभन्दा लोकप्रिय म्युजिक भिडि‌ओको ‘शीर्ष सय म्युजिक भिडिओ ग्लोबल’ भनेर सार्वजनिक गरेको ‘ग्लोबल चार्ट’मा बाबुकृष्णको ‘काश्मिरे पछ्यौरी’ पनि परेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर