काठमाडौंमा उपचार गरेर आमासँगै फर्किएकी पुथा उत्तरगंगाकी उपाध्यक्ष बाटोमै अस्ताइन् – Nepal Press

काठमाडौंमा उपचार गरेर आमासँगै फर्किएकी पुथा उत्तरगंगाकी उपाध्यक्ष बाटोमै अस्ताइन्

रुपन्देही । रूकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढा आफ्नोसँगै ६१ वर्षीया आमा गोपीमाया बुढालाई उपचार गरेर काठमाडौंबाट फर्के पनि घर पुग्नै पाइनन् ।

उनी भदौ १७ गते काठमाडौं गएकी थिइन् । आमाको उपचार गरेर फर्कने क्रममा उनीहरु चढेको गाउँपालिकाको जिप बागलुङमा दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको हो ।

सो गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत समीर गिरीका अनुसार ३३ वर्षीया गोपीमाया दाँतको समस्याका कारण उपचारका लागि काठमाडौं गएकी थिइन् । यसअघि आमाको पनि काठमाडौंमै उपचार भएकाले त्यसको पनि फलोअपका लागि सँगै लगेर गएकी थिइन् ।

शुक्रबार बिहान मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङमा उनीहरु सवार जिप दुर्घटनामा परेको थियो । बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ को भुखानीमा रा १ झ २०० नम्बरको सरकारी जिप दुर्घटनामा परेको थियो । चालक निदाएका कारण जीप दुर्घटनामा परेको आंकलन गरिएपनि केही प्रमाणित भएको छैन ।

शुक्रबार बिहान भएको दुर्घटनामा भूपेन्द्र र उनकी आमासँगै वडा नम्बर २ का अध्यक्ष ४० वर्षीय जसबहादुर श्रीपाली पनि सँगै फर्केका थिए । घटनामा श्रीपालीको मृत्यु भएको गिरीले बताए ।

काठमाडौंबाट ३ जना लिएर फर्केका चालक रुकुमपूर्वकै भूमे ३ का प्रेमबहादुर पुनको गम्भीर अवस्थामा उपचार भइरहेको छ । उनको धौलागिरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी छ । उनी अझै पनि बेहोस अवस्थामा भएकाले घटना कसरी भयो भन्ने केही खुलेको छैन ।

काठमाडौंबाट फर्कँदै गरेका उनीहरू सवार जिप बागलुङमा दुर्घटनामा परेको हो । उपाध्यक्ष बुढा गत भदौ १७ गते आमालाई लिएर उपचारका लागि काठमाडौं गएकी थिइन् । ‘उपाध्यक्षज्यू दाँत दुख्यो भनेर उपचार गर्न जानु भएको थियो, आमालाई पनि यसअघि गरेको उपचारका लागि फलोअप गर्न जानुभएको थियो, यस्तो कल्पना नगरेको घटना भयो, पालिका अध्यक्षसहित हामी घटनास्थल जाँदै छौं’, गिरीले नेपाल प्रेससँग भने ।

सो घटनामा ज्यान गुमाएका वडाध्यक्ष श्रीपाली पनि कामकै सिलसिलामा भदौ १९ गते काठमाडौं गएका थिए । वडा नम्बर १, २ र ३ का अध्यक्षहरू योजना माग गर्न काठमाडौं गएको भए पनि अरू वडाध्यक्ष अर्कै सवारी साधनमा फर्किएका थिए। तर वडा नम्बर २ का अध्यक्ष श्रीपाली भने उपाध्यक्ष बुढासँगै जिपमा फर्केका हुन् ।

उपचार गराएर घर फर्कदै गरेका उपाध्यक्ष, उनकी आमा र वडा नम्बर २ का अध्यक्षको मृत्युको खबरले आफूहरू मर्माहत भएको गिरीले भने ।

गत बिहीबार उपाध्यक्षले गाउँपालिका अध्यक्ष पूनीराज घर्तीलाई फोन गरेको बिहीबार फर्कने जानकारी गराएको बताउँछन् । उपाध्यक्ष र वडाध्यक्ष २०७९ को चुनावमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार भई निर्वाचित भएका थिए ।

उपाध्यक्ष बुढाका १० वर्षीय छोरा काठमाडौंमा होस्टल बसेर पढ्छन् । उनको घर रुकुमपश्चिम हो भने माइत रुकुमपूर्वमा हो । उनी आमासँगै बसेर राजनीति र सामाजिक कामलाई निरन्तरता दिएकी थिइन् ।

(यो समाचारमा सुरूमा भुलवश अर्को तस्बिर पर्न गएकोमा क्षमाप्रार्थी छौं- सं)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर