उपसभामुख रानाले आफ्नो प्रसंग निकालेपछि प्रधानमन्त्रीको जवाफ- यहाँ राजनीतिक कुरा नगरौं – Nepal Press
संवैधानिक परिषद बैठक

उपसभामुख रानाले आफ्नो प्रसंग निकालेपछि प्रधानमन्त्रीको जवाफ- यहाँ राजनीतिक कुरा नगरौं

उपसभामुखको समर्थनमा बोले प्रचण्ड

काठमाडौं । संवैधानिक परिषद्को बैठकमा उपसभामुख इन्दिरा रानामगरले प्रधानमन्त्री केपी शर्मा ओलीसामू आफूलाई पदबाट हटाउने तयारीबारे जिज्ञासा राखेकी छन् । प्रधानमन्त्रीले भने स्पष्ट जवाफ दिएनन् ।

प्रधानन्यायाधीश सिफारिसबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ बसेको हो । बैठककै क्रममा उपसभामुख रानामगरले आफ्नो व्यक्तिगत प्रसंग निकालेकी थिइन् ।

रानाले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनिन्, ‘मैले लेख्दै नलेखेको पत्रलाई लिएर मलाई हटाउने तयारी भइरहेको छ भन्ने जताततै हल्ला छ । यो मैले गर्दै नगरेको कामको आरोप लगाउँदा अन्तराष्ट्रिय स्तरमा पनि यसले नराम्रो सन्देश जान्छ सम्माननीयज्यू ।’

प्रधानमन्त्री ओलीले भने यो संवैधानिक परिषद्को बैठक भएकाले विषयगत छलफल गर्न भनेका थिए ।

उनले भने, ‘तपाई संवैधानिक परिषद्को सदस्य हो । अहिले प्रधानन्यायाधीश सिफारिस गर्ने विषयमा छलफल भइरहेको छ । त्यो राजनीतिक विषयतिर अहिले नजाउँ । त्यो अहिले यहाँ छलफल गर्ने विषय होइन ।’

बैठकमा सहभागी प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले उपसभामुख रानाको पक्षमा बोलेका थिए । जताततै हल्ला भइरहेकाले उपसभामुखले प्रश्न राख्नु स्वभाविक भएको उनले बताए ।

प्रचण्डले भने, ‘उपसभाुमखज्यूलाई हटाउनका लागि सांसदको हस्ताक्षर अभियान नै सुरु भएको भन्ने सुनिएको छ । त्यसैले उहाँले चासो देखाउनुभएको हो र त्यो स्वभाविक पनि हो ।’

बैठकपछि पत्रकारसँग कुरा गर्दा भने रानाले आफूलाई हटाउने कुरा प्रधानमन्त्रीले बजार हल्ला भनेको बताएकी थिइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर