नारामा हैन व्यवहारमा बाल दिवसको खाँचो, शिक्षामा लगानी नै भविष्यको साँचो – Nepal Press
सन्दर्भ : राष्ट्रिय बाल दिवस

नारामा हैन व्यवहारमा बाल दिवसको खाँचो, शिक्षामा लगानी नै भविष्यको साँचो

संयुक्त राज्य अमेरिकाका पिता भनेर चिनिने बेन्जामिन फ्रैंकलिनको एउटा विश्व प्रसिद्ध भनाइ छः ‘ज्ञानमा गरिएको लगानीले उत्तम ब्याज दिन्छ ।” यसको अर्थ यो हो कि, जब हामी ज्ञान र शिक्षा प्राप्त गर्नमा समय, ऊर्जा, र स्रोतहरू खर्चन्छौं, त्यो लगानीले दीर्घकालीन लाभ र फाइदा दिन्छ । अझ काँचो माटोको रूपमा रहेको बालबालिकालाई शैक्षिक लगानी वृद्धि गरी गुणस्तरिय शिक्षा प्रदान गर्न सकेमा शिक्षाको साँचोद्वारा भविश्यको ताला सहजै खोल्न सकिन्छ ।

राष्ट्रिय बाल दिवस, नेपालले औपचारिकरूपमा विक्रम संवत् २०२१ सालको भदौ ४ गतेदेखि मनाउन सुरू गरेको हो भने २०६३ सालमा आएर भदौ २९ गते मनाउन थालियो । रत्नराज्य लक्ष्मीदेवी शाहले भारत विचरणका बेला महात्मा गान्धीले आफ्नो जन्मदिनमा बाल दिवस मनाउने गरेको देखेकी थिइन् । महान नेताले सामाजिक कामहरू गरी बाल दिवस मनाएको देखेर भारत विचरणबाट फिर्तीपछि शाहद्वारा आफ्नो जन्मदिन पारी विक्रम संवत् २०२१ भदौ ४ मा नेपाल बाल संगठन स्थापना गरी बाल मन्दिरमार्फत टुहुरा, अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बाल दिवसको घोषणा गरी नियमित मनाउन थालेको देखिन्छ ।

बाल दिवस औपचारिकता र नारामा मात्रै नभई कामकाजमा बालबालिका प्रतिको चासो, माया र लगानी गर्नु आवश्यक छ । बालबालिकाको शिक्षामा लगानी गरी बालबालिकाको भविष्य उज्यालो बनाउन बनाऔं ।

वि.सं. २०४६ सालमा बहुदलीय प्रजातन्त्रको पुन:स्थापनापछि अन्तरिम सरकारको गठन भयो र सोही सरकारले संयुक्त राष्ट्र संघीय बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई सन् १९९० को सेप्टेम्बर १४ मा अनुमोदन गर्‍यो । उक्त दिनलाई नै बाल दिवसको रूपमा २०६३ भदौ २९ गते देशव्यापी मनाउन थालिएको इतिहास रहेको छ । तर, आजभोलि सबै किसिमको दिवसहरू नारामा सीमित हुन थालेको देखिन्छ । बर्सेनि मनाइने बाल दिवस पनि आजभोलि सेलाएको छ ।

यहाँ बाल दिवसमा बालबालिकाको शिक्षाको चर्चा गर्न सान्दर्भिक ठानेर बाल अधिकार, कर्तव्य र बालबालिकाको शिक्षाको चर्चा गरिएको छ ।

अधिकार र कर्तव्य एकै रथको दुई पाङ्ग्रा

हामी प्रायजसो औपचारिक कार्यक्रमको आयोजना गरेर- बालबालिकाको अधिकार ‘बासंविस’ हो । बा भनेको बाँच्न पाउने अधिकार, सं भनेको संरक्षणका अधिकार जस्तै गरी विकासको अधिकार र सहभागिताको अधिकार भनेर पढाउछौं । बाल अधिकार महासन्धि र यसका चार आधारभूत सिद्धान्तहरू भेदभाव रहित, सर्वोत्तम हित, दीर्घजीवन विकास र बालबालिकाका विचार तथा भावनाको कदर भनेर सुनाउछौं । यो सिकाउनु आवस्यक छ तर यसबाट देखिने उपलब्धि भने न्यून छन् ।

बालबालिकालाई अधिकार सिकाइ रहेको हामीले कतै कर्तव्य सिकाउन भुलिरहेका त छैनौं ? अधिकार र कर्तव्य एकै रथका दुई पाङ्ग्रा हुन् । बालबालिकाले आफ्ना अधिकार लिनुपर्दछ भने कर्तव्यलाई पनि भुल्नु हुँदैन । आफ्नो आमा, बाबु, परिवार, नातेदार, संरक्षक, गुरु तथा समाजका अगुवाहरूले उनीहरूका भलाइका लागि दिएको राय, सुझाव तथा मार्गदर्शनहरूलाई पालना गर्नु तथा उहाँहरूको सम्मान गर्नु पर्दछ ।

विद्यालय वञ्चित बालबालिकाको कुरा

बाल अधिकारको कुरा गरिरहँदा हामीले नेपालका बालबालिकाहरूको विद्यमान स्थितिबारे पनि चर्चा गरौं । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालमा ९८ लाख ६९ हजार ५ सय ८३ जना बालबालिका रहेका छन् । जुन कुल जनसख्याको ३३.८ प्रतिशत हुन आउँछ । जसमध्ये आज पनि २६ प्रतिशत बालबालिकाहरूसँग पञ्जिकरणको पहिलो खुड्किलो जन्मदर्ता नै छैन । बालबालिकाको आर्जन तथा इलमसँग जोडिएका अवस्था हेर्ने हो भने ४ प्रतिशत बालबालिकाहरू वर्षमा ६ महिनाभन्दा धेरै समय काम गर्न विवश छन् ।

आज पनि ०.५ प्रतिशत बालबालिकाहरू रोजगारदातासँग छन् । अभिभावकविहीन भई आफैँले घर व्यवहार सञ्चालन गर्न बाध्य बालबालिकामात्रै नेपालमा ३१ हजार ५ सय १२ जना छन् र ५.४ प्रतिशत बालबालिकाहरूले विद्यालय टेक्न समेत पाएका छैनन् । एक पटक सोचौं उनीहरुको जीवन कति कष्टकर छ ?

जस्को कोही छैन त्यस्को राज्य हुन्छ

भनिन्छ, जसको कोही छैन त्यसको राज्य हुन्छ । बालबालिकाको क्षेत्रमा काम गर्न सरकारको अधिकारिक संस्था नेपाल बाल संगठन छ । जसलाई बाल मन्दिर भनेर पनि चिन्छौं । अभिभावकविहीन बालबालिकाको संरक्षण, रेखदेख, स्याहार र माध्यमिक तह सम्मको शिक्षा तथा त्यस बेलासम्मको स्वास्थ्य तथा सम्पूर्ण अभिभारा त्यसले बहन गर्दछ । तर, अहिले बाल संगठन राज्यबाट लगानी नपाउने, दातृ संस्थाविहीन तथा सम्पत्तिमाथिको अतिक्रमणको चेपुवामा परेका छन् । यतातर्फ पनि ध्यान दिने कि ! अहिले अभिभावकविहीन बालबालिकाको शिक्षा, स्वास्थ्य, आहर तथा राज्यमा पञ्जिकरण हुनुपर्ने विषयमा केही गैरसरकारी संस्थाहरूले राम्रो काम गरिरहेको छ । यद्यपि प्रश्नहरू भने नउठेका होइन ।

व्यवहारमा बाल दिवस

हामी पनि बाल दिवसको दिनमा सरकारी नारा र औपचारिक कार्यक्रमको तस्वीर सामाजिक सञ्जालमा पोष्ट्याई हाल्छौं । कहीँ औपचारिक कार्यक्रममा मञ्च पाउनासाथ बाल अधिकारबारे भाषण छाँटी हाल्छौं । तर, आफ्ना घरका बालबालिका तथा समाजमा संरक्षण खोजेर बसिरहेका बालबालिकाका लागि आफूले के योगदान गर्न सक्छौं भनेर कहिले सोचेका छौं ? कतै बालगृहको संरक्षणमा रहिरहेका बालबालिकाहरूलाई केही सहयोग गर्नासाथ हामी फोटो खिच्छौं र सार्वजनिक गर्छौं । त्यसको मनोवैज्ञानिक असर के हुन्छ समेत जान्दैनौं । बाल दिवसमा गरिएको औपचारिक कार्यक्रमहरू जस्तै विशेष उत्सव, खेलकुद र सांस्कृतिक कार्यक्रमहरू महत्वपूर्ण हुन्छन् ।

बालबालिकाको क्षेत्रमा काम गर्न भनेर स्थापना भएका सरकारी तथा गैरसरकारी संघसंस्थाहरु पनि औपचारिक कार्यक्रममा नै बाल दिवस मानिरहेका देख्छौं । त्यसर्थ बाल दिवस औपचारिकतामा मात्रै सिमित नगरेर व्यवहारमा झल्कनु आवस्यक छ । बाल दिवसका अवसरमा उठाइने कदमहरूको प्रभाव पनि व्यवहारिक रुपमा क्रमिक सुधार हुनु आवश्यक छ । यथार्थताको धरातलमा बालबालिकाका समस्याहरूको समाधानको लागि दीर्घकालीन र ठोस उपायहरूको खोजी हुनु पर्दछ ।

कतिपय बालबालिका विद्यालय टेक्नै पाउँदैनन् किन ?

आजको विज्ञान, प्रविधिको युगमा पनि बालबालिकाहरू आखिर किन विद्यालय वञ्चित छन् त ? यो प्रश्नको सबैले दिने रेडिमेड जवाफ पारिवारिक आर्थिक अवस्था र परिवारप्रतिको अभिभाराहरूले मात्रै विद्यालय वञ्चित हुनु परेको जस्तो लाग्दैन । नेपालको भौगोलिक अवस्थिति र विद्यालय मर्ज गर्नेबारे सरकारले लिएको नीति यसमा महत्वपूर्ण छ । पहाडमा मानव वस्ती पातलो छ र विद्यार्थी संख्या नपुगेको भनेर अर्को कुनै विकल्पविना नै विद्यालयहरु मर्ज भएका र दूरदराजका आधारभूत तहका विद्यालयहरू बन्द गरिएका छन् । जसले बालबालिकाहरू विद्यालय जाने उमेरमा श्रम गर्न बाध्य भएका छन् ।

अर्कोतर्फ सामाजिक साँस्कृतिक चिन्तन तथा मान्यताहरू, शारीरिक स्थिति र स्वास्थ्य जटिलताका कारण पनि बालबालिकाहरू विद्यालयबाट टाढा रहेका छन् । अहिले पछिल्लो समय सरकारले बिग स्कूलको अवधारणा लिएको छ । यसबाट भने बालबालिको विद्यालय वञ्चितिकरण न्यून हुनेमा भरोसा गर्न सकिन्छ । कतिपय बालबालिकाहरू जसको परिवार उसैको श्रमबाट सञ्चालनको बाध्यता छ भने उस्को लागि बिग स्कुल भनेरमात्रै पुग्दैन । यस किसिमका बालबालिकाका लागि पढ्दै कमाउँदै कार्यक्रमलाई नमूना विद्यालयबाट दुर्गम र ग्रामीण क्षेत्रसम्म पुर्‍याउनु आवश्यक छ । यस्ले विद्यालयमा बालबालिकाको सहभागिता पनि बढाउँछ र पलायन हुनबाट समेत रोक्न मदत गदर्छ ।

बालबालिकाको शैक्षिक गुणस्तरमा लगानीको खाँचो

धेरै विद्यालयहरूमा शैक्षिक तथा प्रशाशनिक सामग्रीहरूको अभाव रहेको छ । पुस्तक, शिक्षण सामग्री, प्रयोगशाला, खेलकुद सामग्री, खेल मैदान र शिक्षाको लागि आवश्यक सुविधाहरू छैनन् । सार्वजनिक विद्यालयको भवन संरचना राम्रो बनेका छन् तर कक्षाकोठामा बालबालिका केन्द्रित नवीनतम् शिक्षण सिकाई पद्धती र प्रविधिहरूको प्रयोग पर्याप्त हुन सकिरहेको छैन ।

शिक्षाको गुणस्तर सुधारका लागि स्थानीय सरकारको तर्फबाट निरन्तर अनुगमन र मूल्याङ्कन हुन सकिरहेको छैन । तीनै तहका सरकार र बालबालिकाका अभिवकहरूले गर्ने लगानीले यी संसाधनहरू बालबालिकाहरुलाई पर्याप्त उपलब्धता गराउँदा मात्रै गुणस्तरीय शिक्षा सुनिश्चित हुन्छ ।

नेपालमा ठुलो संख्यामा बालबालिकाले आधारभूत शिक्षा प्राप्त गर्न सकेका छैनन् । जसका कारणहरू आर्थिक, सामाजिक, नीतिगत र भौगोलिक समस्याहरू हुन् । बालबालिकाको शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षामै लगानीको खाँचो छ ।

बाल दिवस औपचारिकता र नारामा मात्रै नभई कामकाजमा बालबालिका प्रतिको चासो, माया र लगानी गर्नु आवश्यक छ । बालबालिकाको शिक्षामा लगानी गरी बालबालिकाको भविष्य उज्यालो बनाउन बनाऔं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर