आज स्रष्टा अभिनन्दन तथा देउडा उत्सव हुँदै, राष्ट्रपतिले उद्घाटन गर्ने – Nepal Press

आज स्रष्टा अभिनन्दन तथा देउडा उत्सव हुँदै, राष्ट्रपतिले उद्घाटन गर्ने

काठमाडौं । दोस्रो संस्करणको स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक उत्सवको आज हुने भएको छ । दिउँसो १ बजे काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीले जानकारी दिए । एक भव्य समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले कार्यक्रमको उद्घाटन गर्ने छन् ।

विभिन्न विधाबाट पहिचान बनाउन सफल सुदूरपश्चिम र कर्णालीका स्रष्टाहरूलाई राष्ट्रपतिले अभिनन्दन गर्ने छन् । साहित्यबाट सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल सम्मानित हुँदै छन् । उनका थुप्रै पुस्तक प्रकाशित भइसकेका छन् ।

चलचित्र क्षेत्रबाट बिराज भट्ट, खेलकुदबाट दीपक विष्ट, लाइभ देउडाबाट नेत्रराज शाही, पर्दा पछाडिका नायकका रूपमा निर्देशक भीम थापा, पत्रकारिता क्षेत्रबाट वसन्तप्रताप सिंह, गायन क्षेत्रबाट सुदूरपश्चिमका लाल बहादुर धामी कर्णालीका टीका पुन र सुरेश शाही सम्मानित हुँदै छन् ।

मौलिक लोक सङ्गीत बारे कलम चलाएको भन्दै पत्रकार भानुभक्त आचार्य र कमल सरगम चौलागाईँलाई पनि सम्मान गर्न लागिएको छ ।कार्यक्रममा पञ्चे बाजा, छलिया नृत्य, र देउडा गायनका साथै राना थारुको संस्कृति झल्किने प्रस्तुति समेत राखिएको अध्यक्ष अवस्थीले जानकारी दिए ।

उनले सुदूरपश्चिम र कर्णालीको भाषा साहित्य र सङ्गीतलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा चिनाउन स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक उत्सवको आयोजना गरिएको जानकारी दिए ।

‘अग्रजलाई सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले हामीले कार्यक्रम आयोजना गर्न लागेका हौँ’, उनले भने, ‘अघिल्लो वर्षको कार्यक्रम निकै राम्रो भएपछि हामीलाई यस वर्ष पनि आयोजना गर्न उत्साह मिलेको हो । अब प्रत्येक वर्ष हामी लोक संस्कृति चिनाउने गरी कार्यक्रम आयोजना गर्छौ ।’

टिका पुन, लालबहादुर धामी, सुरेश शाही, छत्र शाही, सुप्रीम मल्ल, इस्बु सञ्जय लगायतको मौलिक प्रस्तुति पनि कार्यक्रममा रहने छ ।

कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ । राजधानीबाट सुदूर–कर्णालीको संस्कृति विश्वव्यापीकरण गर्ने र मौलिक संस्कृति जगेर्नाका लागि संस्था स्थापना गरिएको हो । संस्था स्थापनादेखि नै विभिन्न सिजनशील कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ ।

अघिल्लो वर्ष भाद्र ४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमै कार्यक्रमको आयोजना गरिएको थियो । हालका प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा लामो समयदेखि साहित्यको क्षेत्रमा कलम चलाउँदै आएका पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, साहित्यकार आर.डी.प्रभाष चटौत, रामानन्द आचार्य, गायक नन्दकृष्ण जोशी,कलाकार मिथिला शर्मा, यज्ञराज उपाध्याय, डिग्रा देवी बादी, र सङ्गीता रोकाय लगायतलाई अभिनन्दन गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *