ट्रम्पले मार्क्सवादी भन्दै ‘टोकसो’ गर्ने कमलाका पिता डोनाल्ड को हुन् ? – Nepal Press

ट्रम्पले मार्क्सवादी भन्दै ‘टोकसो’ गर्ने कमलाका पिता डोनाल्ड को हुन् ?

काठमाडौं । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई कमरेड भन्छन् । कम्युनिष्ट भन्छन् । मार्क्सवादी भन्छन् । यो भन्ने क्रम कमला डेमोक्रेटिक पार्टीको राष्ट्रपति उम्मेदवार भएपछि झनै बढेको छ । ह्यारिससँग भएको राष्ट्रपतीय चुनावी बहसमा पनि ट्रम्पले यही कुरा भने । उनले भने, ‘उनी मार्क्सवादी हुन् । सबैलाई जानकारी छ उनी मार्क्सवादी हुन् । कमलाका पिता मार्क्सवादी अर्थशास्त्र पढाउँथे । उनले छोरीलाई पनि राम्रो पढाए ।’ तर, कमलाले सार्वजनिकरुपमा आफू पूँजीवादमा विश्वास हुने पटकपटक बताएकी छन् ।

कमलाले त्यसको प्रतिवाद गरिनन् । उसो त कमलाले आफ्नी आमाको ज्यादा चर्चा गर्छिन् । सन् २००९ मा ७० वर्षको उमेरमा बितेकी आमा श्यामला गोपालनको चर्चा गर्ने कमलाले जीवित पिता डोनाल्ड जे. ह्यारिसको भने खासै चर्चा गर्दिनन् । जमाइका जरो भएका डोनाल्ड जे. ह्यारिस अहिले ८६ वर्षका भए ।

सन् १९६० को दशकमा अमेरिका आएका उनले अमरेकिाको क्यालिफोर्नियामा बर्कले विश्वविद्यालयबाट विद्यावारिधि गरे । सन् १९६२ मा सोही विश्वविद्यालयमा उनले दिएको मन्तव्यपछि उनको भेट कमलाकी आमा श्यामलासँग भएको बेलायती अखबार टेलिग्राफले उल्लेख गरेको छ । उनले श्यामलासँग सन् १९६३ मा विवाह गरे ।

कमला सात वर्ष हुँदा सन् १९७१ मा पारापाचुके गरेर अलग भए । उनका दुई सन्तान भन्नु नै कमला र उनकी बहिनी माया हुन् । उनले दोस्रो विवाह गरे क्यालोर किर्लेसँग । उनी वासिङटन डिसीमा कमलाको कार्यालय ह्वाइट हाउस नजिकै बस्ने भारतीय अखबार टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ ।

सन् २०२० को चुनावी अभियानमा पनि गयल थिए पिता, के भनेका थिए अन्तरवार्तामा ?

केही समय अगाडि कमलाले डेमोक्रेटिक पार्टीको सम्मेलनमा बोल्दा परिवारका सबैजसो बोलाइन् । बहिनी माया बोलाइन् । पति डगलस एनहफलाई त स्टेटमा बोल्न पनि लगाइयो । तर, उनका पिता डोनाल्ड जे. ह्यारिस भने आएनन् । वा बोलाइएनन् । तर, उनले पिताबारेमा बोल्दै भनेकी थिइन्, ‘उहाँले मलाई निडर हुन सिकाउनु भयो ।’

सन् २०२४ को चुनावमा मात्रै होइन, सन् २०२० मा पनि कमलाका पिता चुनावमा जोडिएका थिएनन् । उनले एक अन्तरवार्तामा भनेका थिए, ‘सेलिब्रेटी खोज्ने काम मेरो काम होइन । मैले यो भन्दा पर हुने जोडदार प्रयत्न गरेको छु ।’ कमलाले पनि सन् २००३ को अन्तरवार्तामा आफूले पितासँग नजिक हुन नपाएको बताएकी थिइन् । सन् २०२० को शपथ ग्रहण समारोहमा पनि कमालका पिता गयल थिए ।

गाजामा जोडेपछि सन् २०१९ मा विज्ञप्ति निकोलेर कमलाको कुरा खण्डन गरेका थिए पिताले

सन् २०१९ मा त कमला र उनका पिता डोनाल्डको समस्या नै देखिएको सार्वजनिक भएको थियो । कमलाले आफ्नो जमाइकल पितातर्फको कुरा आलोचनात्मक रुपमा राखेकी थिइन् । जमाइकालाई गाँजासँग जोडेर उनले आफूले युवा कालमा गाजा खाएको बताएकी थिइन् । किन युवा कालमा गाजा खानु भयो त भन्ने प्रश्नमा उनले अन्तरवार्तामा भनेकी थिइन्, ‘मेरो परिवारका आधा मान्छे जमाइकाबाट छन् । के तपाइँले ठट्टा गर्नु भएको ?’

कमलाको कुरालाई लिएर पिता डोनाल्डले विज्ञप्ति नै जारी गरेका थिए । उनले भनेका थिए, ‘स्वर्गे हुनु भएका मेरा हजुरआमाहरु तथा मेरा आमाबाबुहरुले पक्कै पनि चिहानमा आफ्नो नाम, इज्जत र जमाइकन पहिचानमा ठट्टा गरेर होस् वा धोकाधडी गरेर पहिचानको राजनीति गर्ने नाममा गाजा खाने जस्तो कुराको सामान्यीकरण गरेकोमा हेर्दै हुनुहुन्छ होला ।’

पिता डोनाल्डले आफू र आफ्नो निकट परिवारका कसैले पनि गाजा नखाएको भन्दै कमलाको कुराको प्रतिवाद गरेका थिए । सन् १९९८ मा सक्रिय प्राध्यापनबाट अवकाश लिएका उनले पछि जमाइकन सरकारको सल्लाहकार पनि भएका थिए ।

कसरी जोडियो कमलाका पितासँग मार्क्सवादी लाइन ?

न्यू योर्क टाइम्सले मंगलबार कमलाका पिताबारेमा एक सामग्री प्रकाशन गर्यो । त्यसमा कमलाका पितालाई ट्रम्पले मार्क्सवादी किन भने भन्ने कुरामा जोड दिइएको छ । समाचारअनुसार कमलाका पिता डोनाल्ड अमेरिकाको प्रतिष्ठित विश्वविद्यालय स्ट्याण्डफोर्डमा मार्क्सवाद पढाउँथे । विश्वविद्यालयको अर्थशास्त्र विभागमा पढाउने प्रथम अस्वेत अनुहार कमलाका पिता भएको न्यू योर्क टाइम्सले उल्लेख गरेको छ ।

सन् १९७६ मा प्रकाशन भएको विश्वविद्यालयका विद्यार्थीहरुले प्रकाशन गरेको अखबार स्ट्याण्डफोर्ड डेलीमा उनको चर्चा गरिएको थियो । त्यसमा लेखिएको थियो, ‘उनी धेरै ओजश्वी छन् । उनले एक पाइप पाइपरले जस्तो विद्यार्थीहरुलाई निओलिबरल अर्थशास्त्रबाट बहकाउँछन् । त्यसैले उनको कार्यकाल नथप्नेबारेमा विरोधी आवाजहरु पनि थिए ।’ उनै आफैं पनि प्रोफेसर इमिरिटसको रुपमा विश्वविद्यालयमा जोडिएका छन् ।

न्यू योर्क टाइम्सले कमलाका पिताले मार्क्सवाद पढाएको मात्रै कुरा गरेको छ । तर, बेलायती आर्थिक विश्व अखबार दी इकोनोमिस्टले भने उनी मार्क्सवादी भएको खुलाएको छ । जुलाईमा प्रकाशन भएको लेखमा भनिएको छ, ‘उनी मार्क्सवादी हुन् । उनको लेखनहरु अस्पष्टतावादी सिद्धान्त निर्माणमा छरपस्ट छन् ।’

दी इकोनोमिस्टका अनुसार सन् १९७८ मा उनले प्रकाशन गरेको पुस्तक ‘पूँजी संकलन र आय वितरण’मा उनले यस्तै कुरा लेखेका छन् । उक्त किताब उनले कमला र उनकी बहिनी मायाको नाममा समर्पण गरेका छन् ।

उनले आफ्नो लेखमा अमेरिकाका अस्वेतहरुलाई उपनिवेशमा जस्तो भएको कुरालाई पनि पूँजीसँग जोडेका थिए । त्यसमा उनले अमेरिकामा अस्वेत मालिक भएको क्षेत्रमा पनि अस्वेत कामदारको शोषणै हुने लेखेर मार्क्सवादी लाइन देखाएका थिए । यो कुरालाई दी इकोनोमिस्टले प्राथामिकतासाथ प्रकाशन गरेको छ ।

कमलाका पिताले आफ्नो देश जमाइकाबारेमा पनि किताब लेखेका छन् । उनले जमाइकाको निर्यातबारेमा सन् १९९७ मा किताब लेखेका छन् । किताबको नाम हो ‘जमाइकाको निर्यात अर्थतन्त्रः निर्याप्तजन्य अर्थतन्त्रतर्फको रणनीति’ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर