भाडाकै घरमा बागलुङका पाँच पालिका – Nepal Press

भाडाकै घरमा बागलुङका पाँच पालिका

बागलुङ । बागलुङका पाँच स्थानीय तह भाडाकै घरबाट सञ्चालन हुँदै आएका छन् । जैमिनी , गलकोट, ढोरपाटन नगरपालिका सहित काठेखोला गाउँपालिकाले भाडाकै घरबाट काम गर्दै आएका हुन् ।

विसं २०५३ मा स्थापना भएको बागलुङ नगरपालिकाले वडा नम्बर ३ रातमाटामा पक्की भवन निर्माण गरे पनि अहिले वडा नम्बर २ स्थित कृषि ज्ञान केन्द्रको कार्यालय मार्फत् सेवा प्रवाह गर्दै आएको छ ।

जैमिनी , गलकोट र ढोरपाटन नगरपालिकाले जग्गा व्यवस्थापन गरी भवन निर्माण थाले पनि काठेखोला गाउँपालिकाको जग्गा व्यवस्थापनमै अल्झिएको छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछि केही पालिकाले पहिलो कार्याकालमै आफ्नै प्रशासनिक भवन बनाएर सेवा सञ्चालन गरे भने केहीले दोस्रो कार्यालयमा आफ्नै प्रशासकीय भवन निर्माण गरी सेवा दिन थालेका छन् ।

निसीखोला, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाले पहिलो कार्यकालमै भवन निर्माण गरेका थिए भने बडिगाड गाउँपालिकाले दोस्रो कार्याकाल सुरु भएपछि आफ्नै प्रशासकीय भवनबाट सेवा सुरु गरको छ । निर्माण कम्पनीको ढिला सुस्तीका कारण गलकोट नगरपालिकाको प्रशासकीय भवन समयमै बन्न सकेको छैन । अगामी मंसिरमा सक्ने गरि विसं २०७९ असारमा सम्झौता भएको भवन निर्माण अहिलेसम्म २८ प्रतिशत मात्रै काम भएको छ । अब तीन महिनामा ७८ प्रतिशत काम सक्न सम्भावना नरहेको नगरप्रमुख भरत शर्मा गैरेले बताए।

पाँच तले भवनको हालसम्म चार तला ढलानको काम मात्रै भएको छ । वडा नम्बर ६ चरौंदीमा सात रोपनी व्यवस्थापन गरेर भवन निर्माण थालेको पालिकाले अहिले भाडाको घरबाट सेवा सञ्चालन गर्दै आएको हो । भवन रु १२ करोड ४१ लाख ५५ हजार लागतमा गैरे बताउनुहुनछ । नगरपालिकाले आफ्नो भवन नहुँदा मासिक रु दुई लाख भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको छ ।

उनले भने“निर्माण कम्पनीले सरासर काम गरेको भए यति बेला सकिन्थ्यो, अहिले सम्झौता मिति सकिन लागेको छ, दुई÷साढे दुई महिना मात्रै बाँकी छ, अझै एक तला ढलान गर्न र अन्य काम गर्न बाँकी छ, साइडमा कामदार निरन्तर लगाइ राखेको छ, तर धेरै कम छन्, त्यति कामदारले कहिले काम सक्ने, यही गतिमा काम भयो भने त दुई÷तीन वर्षमा पनि यो भवन सकिदैन ।”

जैमिनी नगरपालिकाको प्रशाकीय भवन निर्माणका लागि विसं २०७८ मा सम्झौता भए पनि हालसम्म आधा मात्रै काम भएको उपप्रमुख हरिहर शर्माले बताए । आगामी पुसमा सक्ने गरी रु १२ करोड १४ लाखमा सम्झौता भएको भन्दै अहिलेसम्म ५० प्रतिशत काम भएको उनको भनाइ छ । हालसम्म चौथो तलाको ढलान भएको सुनाए। भवन समयमा नबन्दा मासिक करिब रु एक लाख ६० हजार घर भाडा तिर्दै आएको उनी बताउँछन् ।

ढोरपाटन नगरपालिका पनि अहिलेसम्म भाडाकै घरमा कार्यालय सञ्चालन गर्दै आएको छ । नगरपालिकाले वडा नम्बर १ को बुर्तिबाङ बजारमै निर्माण गरी रहेको भवन आगामी चार महिनामा सम्पन्न हुने नगर उपप्रमुख धनबहादुर कायत (कल्याण)ले बताए । अहिलेसम्म ८० प्रतिशतभन्दा बढी काम सम्पन्न उहाँको भनाइ छ । नगरपालिकाले दुई वटा भवन भाडामा लिएर कार्यालय सञ्चालन गरी रहेको जनाउँदै हरेक महिना मासिक एक लाख ३० हजार भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको उाको भनाइ छ ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *