एचआइभी संक्रमितलाई थुन्ने हिरासत नहुँदा चितवन प्रहरीले दर्ता गरेन बहुविवाहको जाहेरी – Nepal Press

एचआइभी संक्रमितलाई थुन्ने हिरासत नहुँदा चितवन प्रहरीले दर्ता गरेन बहुविवाहको जाहेरी

जबरजस्ती मिल्न लगाएको पीडितको गुनासो

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले एक महिलाले दिएको बहुविवाहको जाहेरी लिन अस्वीकार गरि जबरजस्ती मिलाएर पठाएको छ ।

एचआइभी संक्रमित पुरुष आफ्नो श्रीमती छोडेर अर्को महिलासँग सँगै बस्न थालेको प्रमाणसहित बहुविवाहको उजुरी लिएर प्रहरी कार्यालय गएकी महिलालाई चितवन प्रहरीले शुक्रबार जबरजस्ती मिलापत्र गराएको हो ।

भरतपुर महानगरपालिका भित्र घर भएकी ३२ वर्षकी महिला पनि एचआइभी संक्रमित नै हुन् । उनीहरु दम्पत्तीलाई नै डेढ वर्षअघि एचआइभी संक्रमण पुष्टि भएको थियो ।

विदेश जाने क्रममा मेडिकल फेल भएको श्रीमानले बताएपछि उनीहरु दुबैले काठमाडौँस्थित टेकु अस्पतालमा जाँच गराएका थिए । सोही क्रममा आफ्नो ४२ वर्षका श्रीमान र महिलालाई समेत एचआइभी संक्रमण पुष्टि भएको रिपोर्ट आएको थियो ।

उनीहरु दुबैजनाले चितवनबाट औषधि खाँदा अरुलाई थाहा हुनसक्ने जोखिम हुने र समाजबाट तिरस्कृत हुने डरले काठमाडौँबाट नै तीन तीन महिनामा एआरभी औषधि ल्याएर सेवन गर्दै आएका थिए ।

तर, श्रीमानले अरु महिलासँग सम्पर्क गरेको थाहा पाएपछि पटक पटक सम्झाउँदा पनि नलागेपछि न्यायको लागि प्रहरीमा पुगेको उनले नेपाल प्रेससँग कुरा गर्दै भनिन् ।

गत साउन २८ गते श्रीमान अरु महिलासँग सम्पर्क गरेर घर आउन छोडेकोले श्रीमानलाई ती महिलासँग छुटाइदिन अनुरोध गर्दै जाहेरी लिएर महिला जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् ।

तर, जिल्ला प्रहकारी कार्यालय चितवनमा छलफलको क्रममा श्रीमान अर्की महिलासँग सम्बन्धमा रहेको प्रमाण लिएर आउन महिलालाई उल्टै प्रहरीले अह्राएको थियो ।

महिलाले प्रहरीको निर्देशनपछि भरतपुरमै डेरा गरि आफू श्रीमानश्रीमती भनेर बस्दै आएका श्रीमान र ती महिलाको कोठामै पुगेर भिडियोसहित उनीहरुले बहुविवाह गरेको जानकारी दिएकी थिइन् ।

शुक्रबार प्रमाण लिएर गएकी उनलाई एचआइभी संक्रमितलाई राख्ने ठाउँ नभएकोले मिलेर घर फर्किनुको बिकल्प नभएको भन्दै प्रहरीले उल्टै मिल्न दबाब दिएको बताइन् ।

नेपाल प्रेससँग कुरा गर्दै महिलाले भनिन्, – श्रीमान मेरो नभएपछि सम्बन्ध बिच्छेद गर्छु, बहुविवाहमा उजुरी दिन्छु भनेर आएको थिएँ । तर, प्रहरीले एचआइभी भएको कारण उसलाई थुन्ने ठाउँ नै नभएकोले मिलेर जानुको विकल्प नभएको भन्दै मिल्न दबाब दिए ।

उनका अनुसार प्रहरीले बहुविवाहको मुद्धामा २५ दिनपछि पनि छोड्ने नै हो, अहिले छोडेपनि छोड्ने नै हो । तपाइँको मुद्धामा उसलाई थुन्न मिल्दैन मिलेर जानुस् भनेका थिए । प्रहरीको दबाबपछि अर्की महिलासँग सम्बन्धमा नरहने कागज शुक्रबार गरेका छन् ।

पुरुष एचआइभी संक्रमित भएपनि सम्बन्धमा रहेकी ती महिला भने एचआइभी संक्रमणमा नभएकी हुन् । उनीहरु दुबै निर्माण क्षेत्रमा काम गर्दै आएका छन् । महिलाले पुरुषसँगको सम्पर्कमा आएपछि दुई महिनाको गर्भपतन गराएको प्रहरीको छलफलमा नै स्वीकार गरेकी थिइन् ।

अधिकारकर्मी साबित्री पौडेलले ती महिलालाई उदृत गर्दै जानकारी दिए अनुसार ती महिलाको पनि एचआइभी परीक्षण गर्दा झ्याली समय भएकोले संक्रमण नदेखिएको तर एचआइभी संक्रमण ६ महिनापछि पुनः जाँचमा देखिनसक्ने चेतावनी डाक्टरले दिएको बताएका छन् ।

३२ र ४२ वर्षका दम्पत्तीको दुई सन्तान छन् । पाँच वर्षको कान्छो छोरा जन्मिदासम्म दुबैजनामा एचआइभी संक्रमण थिएन । तर, विदेश जाने आउने क्रममा अन्य केटीहरुसँग पनि आफ्नो श्रीमानको सम्पर्क रहेको र सोही कारणले श्रीमानलाई भएको संक्रमण आफूमा समेत सरेको दाबी श्रीमतीको छ । २०६५ सालमा आफैले रोजेर दुबैले विवाह गरेका थिए ।

अहिले श्रीमानको बानी बिग्रिएकोले उसलाई सुधार्न प्रहरीमा जाहेरी दिन आएको आफ्नो जाहेरी दर्ता नभएपछि उनले रुँदै नेपाल प्रेससँग गुनासो गरिन्, —एचआइभी भएपछि त राज्यले न्याय पनि दिन नमिल्ने रहेछ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमाल चितवन प्रहरीमा स्वास्थ्य प्रोटोकल अपनाएर थुनामा राख्न एचआइभी संक्रमितको लागि छुट्टै हिरासत कक्ष नरहेको स्वीकार गर्छन् । तर, उनले बहुविवाह अपराध भएकोले मुद्धा चलाउनै नसकिने भन्ने नभएको दाबी गरे ।

‘हामीसँग पक्राउ परेका महिला र पुरुषलाई राख्ने बाहेक अरु हिरासत छैन, उनले नेपाल प्रेससँग भने, —तर, एचआइभी भएका नै भएपनि अपराधमा मुद्धा चलाउनै नसकिने भन्ने होइन । ती बहिनीको आर्थिक अवस्था अलि कमजोर पनि भएकोले मिलेर गएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर