कांग्रेस–एमालेले जनतालाई अधिकार दिन खोजेनन्ः उपेन्द्र यादव – Nepal Press

कांग्रेस–एमालेले जनतालाई अधिकार दिन खोजेनन्ः उपेन्द्र यादव

रुपन्देही।जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले काँग्रेस–कम्युनिष्टले जनतालाई अधिकार दिन नचाहेको र उनीहरुबाट देशको विकास संभव नभएको दावी गरेका छन् ।

जसपा नेपाल लुम्बिनी प्रदेश समितिको आयोजना तथा जसपा नेपाल जिल्ला समिति रुपन्देहीको संयोजनमा शनिबार भैरहवामा भएको ‘जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान’ अन्तर्गत अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । उनले काँग्रेस–कम्युनिष्टमा अन्तर नभएको समेत दावी गरे । ‘नेपालमा भ्रष्टाचार भएकाले शिक्षा, स्वास्थ्य, कृषि लगायत क्षेत्रको विकास भएन’ उनले भने ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवले जसपा नेपालले मुलुकमा परिवर्तन ल्याउने दावी गरे । मधेशी जनअधिकार फोरम नेपाल हुँदै जसपा नेपालले महिला, दलित, मधेशी, मुस्लिम, जनजाति तथा सम्पूर्ण उत्पीडित समुदायको लागि लडेको उनले बताए । जनता जागरुक र संगठित भए कुनै परिवर्तन असम्भव नभएको उनको भनाइ छ ।

अध्यक्ष यादवले देश र जनताको भविष्य निर्माण आजको मिसन र लक्ष्य भएको बताए । ‘संविधान संशोधन हाम्रो सुरुदेखिको माग हो । कांग्रेस–कम्युनिष्टले जनताको आवाज दबाउन खोजे । सबै समुदायले आफ्नो संविधान सम्झे देशको संविधान हुन्छ । तर, शासक वर्गले आफ्नो लागि संविधान बनाए । यो संविधान निर्माण नै गलत तरिकाले गरियो ।’

नेपालमा संसारको सबैभन्दा महंगो निर्वाचन प्रणाली भएको र निर्वाचनमा पैसाको खेल भएकाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेकोमा जोड दिए । ‘पैसा लुट्ने र लुटाउने जस्तो निर्वाचन भयो, ’उनले भने ।

त्यस्तै जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादवले काँग्रेस, एमाले र माओवादीबाट अब देश चल्न नसक्ने दावी गरे । अब जसपा नेपालले देशको नेतृत्व गर्ने उनले बताए । उनले समतामूलक समाज निर्माणका लागि पार्टी अघि बढेको बताए ।

पार्टीका केन्द्रीय महासचिव रामकुमार शर्माले जसपा नेपालले उत्पीडित समुदायका लागि निरन्तर आवाज उठाउँदै आएको बताए । उनले पार्टीको अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिए । पार्टीका केन्द्रीय सदस्य अर्जुन थापाले प्रचण्डले आफूहरुलाई धोका दिएपछि पछि आफैले धोका पाएको बताए ।

केन्द्रीय सदस्य रामवचन यादवले पार्टीलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए । केन्द्रीय सदस्य भगवती सुवेदीले आउने निर्वाचनपछि उपेन्द्र यादवलाई प्रधानमन्त्री बनाउनुपर्नेमा जोड दिइन् । केन्द्रीय सदस्य सावित्रा वि।क।ले पार्टीको संगठन बनाउन लागिपर्न आग्रह गरिन् ।केन्द्रीय सदस्य अब्दुल रसिद खाँले उपेन्द्र यादव आफ्नो मुद्दाबाट कहिल्यै विचलित नभएको दावी गरे ।

जसपा नेपाल पश्चिम नवलपरासीका अध्यक्ष धरेन्द्र यादवले गाउँघरमा पुगेर संगठन मजबुत बनाउनुपर्नेमा जोड दिए । कपिलवस्तु नगरपालिकाका प्रमुख तथा जसपा नेपालका नेता सुदीप पौडेलले वर्तमान सरकारलाई समर्थन दिनुको औचित्य नभएको बताए । रोहिणी गाउँपालिकाका अध्यक्ष तथा जसपा नेपालका पूर्व संघीय परिषद सदस्य विद्या प्रसाद यादवले जसपा नेपाल सबैलाई पहिचान दिलाउने पार्टी भएको दावी गरे ।

पार्टीको कपिलवस्तु जिल्ला अध्यक्ष शैलेन्द्र यादवले उपेन्द्र यादव व्यक्ति नभइ विचार भएको दावी गरे । जसपा नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवले काम गर्ने व्यक्तिलाई अवसर र जिम्मेवारी दिनुपर्नेमा जोड दिए ।

जसपा नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष रामअवतार यादवको अध्यक्षता तथा मुख्यसचिव राजन राना मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रतिक्रिया

One thought on “कांग्रेस–एमालेले जनतालाई अधिकार दिन खोजेनन्ः उपेन्द्र यादव

  1. जनतालाई नभन्नुस् । मलाई भन्नुस् । तपाईलाई पद चाइएको हो । जनताले पाउने आखिर केही हैन । जनता भन्या छ । आफुले मोज गर्या छ । तोईट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर