‘दलितलाई खै’ भन्दै अर्धनग्न प्रदर्शन, निषेधित क्षेत्र ताेड्न खाेज्दा धकेलाधकेल (तस्बिरहरु) – Nepal Press

‘दलितलाई खै’ भन्दै अर्धनग्न प्रदर्शन, निषेधित क्षेत्र ताेड्न खाेज्दा धकेलाधकेल (तस्बिरहरु)

काठमाडौं । ‘दलितलाई खै’ भन्दै संघीय राजधानी काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म अर्धनग्न प्रदर्शन भएको छ ।

संविधानले दलित समुदायको अधिकारका लागि विभिन्न हक र अधिकारको व्यवस्था गरे पनि सरकारले कार्यान्वयन नगरेको भन्दै दलित अभियन्ता खगेन्द्र सुनारको नेतृत्वमा शनिबार युवाले अर्धनग्न प्रदर्शन गरेका हुन् ।

३८ दिनदेखि हात, खुट्टा र घाटीमा नेल लगाएर काठमाडौंको माइतीघरमा निरन्तर धर्ना दिँइरहेका सुनारको समर्थनमा उत्रिएका युवाले अर्धनग्न भएर विरोध प्रदर्शन गरेका छन् । माइतीघरबाट अर्धनग्न र्‍याली निकालेका उनीहरूले बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा ‘संविधान बन्यो दलितलाई खै ?’, ‘लोकतन्त्र आयो दलितलाई खै ?’ लगायतका नारा लगाइएका थिए । माइतीघरदेखि नाराबाजीसहित बानेश्वर पुगेको प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा केही धकेलाधकेल पनि भएको थियो ।

अर्धनग्न अवस्थामा प्रदर्शनकारी निषेधित क्षेत्रबाट अघि बढ्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्ने क्रममा केही धकेलाधकेल भएको हो । अभियन्ता सुनारले शनिबारको प्रदर्शन असोज ३ को तयारी रहेको बताए ।

उनले भने, ‘नांगो सरकारले दलितमाथि नांगो हस्तक्षेप गरेको छ र दलितलाई पनि उनीहरूले पाउने अधिकारबाट बञ्चित राखेर नंग्याइएको छ । राज्यको अवस्था यो छ भनेर देखाउन हौं । राज्यलाई पनि लाज घिन भन्ने भएन । नांगो राज्यको दलित पनि नांगा छौं भन्ने सन्देश दिन खोजेका हौं ।’

उनले संविधान दिवसको अवसर पारेर असोज ३ मा ठूलो संख्यामा दलित युवा काठमाडौं आउने र सरकारलाई झकझक्याउने बताए ।

दलितका लागि दलित अभियानका संयोजकसमेत रहेका सुनारले मन्त्रिपरिषद् गठन समावेशी नभएको, राजदूत नियुक्ति गर्दा समेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव र छुवाछुतको अन्त्य गर्नका लागि सरकारले प्रभावकारी कानून, नीति कार्यक्रम र बजेटको समेत व्यवस्था नगरेको भन्दै साउन २३ गतेदेखि सुनारले शरीरमा नेल लगाएर माइतिभरमा प्रदर्शन गर्दै आएका छन् ।

माइतिघरमा प्रदर्शन सुरु गरेको केहि दिनमा नै संघीय संसद भवन छिर्न खोजेपछि सुनारलाई प्रहरीले पक्राउ गरेर केहि घण्टा राखेर छोडेको थियो ।

नवराज विक हत्याकाण्डपछि कर्णली प्रदेशबाट जातीय विभेद विरुद्धको आन्दोलन सुरु गरेका सुनारले पछिल्लो समय राजधानी केन्द्रित आन्दोलन गरिरहेका छन् ।


प्रतिक्रिया

One thought on “‘दलितलाई खै’ भन्दै अर्धनग्न प्रदर्शन, निषेधित क्षेत्र ताेड्न खाेज्दा धकेलाधकेल (तस्बिरहरु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *