धिरजसँगै ‘रुकुम मैकोट’ गीतमा नाचे पूर्व उपराष्ट्रपति पुन – Nepal Press

धिरजसँगै ‘रुकुम मैकोट’ गीतमा नाचे पूर्व उपराष्ट्रपति पुन

दिए ‘खुस्मा’लाई सफलताको शुभकामना

काठमाडौं । संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारी रहेको सिनेमा ‘खुस्मा’का मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरी प्रचारको दौडधुपमा व्यस्त छन् ।

शनिवार अभिनेता धिरज मगर नेपाल मगर सांस्कृतिक संघ विशेष उपत्यका समितिले आयोजना गरेको खुल्ला मौलिक कौराह (कानराहा) नृत्य प्रतियोगिता कार्यक्रममा पुगेका थिए ।

यो कार्यक्रमको प्रमुख अतिथिका रूपमा पूर्व उपराष्ट्रपति नन्द किशोर पुन उपस्थित थिए । सोही कार्यक्रममा बोल्दै जनयुद्धको परिवेशमा मगर संस्कार र संस्कृति समेटेर निर्माण गरिएको आफ्नो सिनेमा हेर्न निम्तो दिए । यस्तै, आफ्नो अघिल्लो सिनेमा ‘बाबरी’ रिलिजको क्रममा सिनेमा हेरेर सहयोग गरेको स्मरण गर्दै यो सिनेमालाई त्यो बेलाको जस्तै साथ र सहयोगको अपेक्षा रहेको बताए ।

उक्त कार्यक्रममा अभिनेता मगरले ‘रुकुम मैकोट’ गीतमा नृत्य समेत गरेका थिए । पूर्व उपराष्ट्रपति नन्द किशोर पुनले अभिनेता मगरलाई कार्यक्रममा मगर सांस्कृतिक संघको लोगो अंकित पगरी लगाइदिँदै सफलताको शुभकामना दिए । रुकुमको तकसेरामा जन्मेको मगरको छोरो जो युकेमा हुर्केर नेपाल फर्केर मगर संस्कृतिलाई सिनेमाबाट विश्वलाई चिनाउन लागि परेको भन्दै आफूले समय मिलाएर ‘खुस्मा’ हेर्ने बाचा समेत गरेका थिए ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरे पनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकीय सिनेमा हो । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा विभिन्न अन्तर्राष्ट्रिय सिनेमा महोत्सवबाट अवार्ड प्राप्त गरिसकेका छन् ।

सिनेमाको निर्मातामा वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह(निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दीपक बज्राचार्यको छायांकन रहेको छ । सिनेमाको सार्वजनिक गीत र ट्रेलरले रुचाएका छन् । जसले गर्दा सिनेमाको गीत र ट्रेलर म्युजिक र मूभिज सेक्सन अन्तर्गत ट्रेन्डिङको शीर्ष स्थानमा छन् । त्यसैले सिनेमाप्रति दर्शकको उत्साह उच्च रहेको बुझ्न सकिन्छ ।

सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क ९कोरियन०को संगीत, सुरेन्द्र राना, राम अविरल विष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मसले गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर