गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना जुवा खालबाट पक्राउ, १८ लाख बढी नगद बरामद – Nepal Press

गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना जुवा खालबाट पक्राउ, १८ लाख बढी नगद बरामद

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ बाट जुवा खेलिरहेको अवस्थामा पालिकाका पूर्वअध्यक्षसहित ९ जना पक्राउ परेका छन् ।

प्रहरीले छापा मार्दा उनीहरूको साथबाट १८ लाखभन्दा बढी नगद बरामद भएको छ । बाँस घारीभित्र बनाइएको टहरामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले शनिवार राति ८ बजेतिर छापा मारेको थियो ।

जुवा खेलिरहेको अवस्थामा ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझी, महोत्तरीको गौशाला नगरपालिका–१ का महेश साह, सुनसरीको धरान उपमहानगरपालिका–१५ का ४ युवक राई, दुहबी नगरपालिका–६ का जय किशोर साह पक्राउ परेको प्रहरीले जनाएको छ ।

यस्तै झापाको दमक नगरपालिका–१० का ऋतुवर्ण नेम्वाङ, मोरङको सुन्दरहरैँचा नगरपालिका–१ का जनककुमार मास्के, सोही ठाउँका प्रताप राई, ग्रामथान–४ का अहिलाल माझी र लेटाङ नगरपालिका–९ का लोकनाथ सापकोटा पक्राउ परेका हुन् ।

माझी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्षमा विजयी भएका थिए । पक्राउ परेकाको साथबाट र जुवा खालबाट १८ लाख ५१ हजार ५ सय रुपैयाँ नगद बरामद भएको छ ।

यस्तै १६ थान कौडा, १२ बुक तास, पैसा राख्न प्रयोग गरिने काठको बाकस, झोला, १५ वटा मोबाइललगायत बरामद भएको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए ।

उनका अनुसार जुवा खालबाट १७ लाख २९ हजार ५ सय र पक्राउ परेकाको साथबाट थप १ लाख २२ हजार रुपैयाँ बरामद भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *