सुदूरपश्चिम : करेन्ट लागेर ८ दिनमा ४ जनाको ज्यान गयो – Nepal Press

सुदूरपश्चिम : करेन्ट लागेर ८ दिनमा ४ जनाको ज्यान गयो

डोटी । शुक्रवार दिउसो करिब ४ः३० बजेतिर कञ्चनपुर, भीमदत्त नगरपालिका–१८ कटान बस्ने अन्दाजी ५१/५२ वर्षीय को कृष्णदत्त जोशीको करेन्ट लागेर मृत्यु भयो ।

सुदूरपश्चिम विश्वविद्यालयको प्रशासकीय अधिकृत पदमा कार्यरत जोशीलाई सुदूरपश्चिम विश्वविद्यालयमा नेटको तार जोड्ने क्रममा करेन्ट लागेको थियो । गम्भीर घाइते भएका जोशीको उपचारको महाकाली प्रादेशिक अस्पतालमा निधन भयो ।

प्रहरीका अनुसार सुदूरपश्चिममा ८ दिनको अवधिमा ४ जनाको करेन्ट लागेर मृत्यु भएको छ । बिहीबार गोदावरी नगरपालिका–८ का ५ वर्षीय बालक रितिक बोहराको पनि करेन्ट लागेर ज्यान गयो ।

घर नजिकै खेल्ने क्रममा नाङ्गो तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका रितिकलाई उपचारको लागि धनगढीको निशर्ग अस्पताल पुर्‍याईएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भाद्र २३ गते कञ्चनपुर, बेदकोट नगरपालिका–५ धरमपुर बस्ने १८ वर्षीय हविल डगौराको साउण्ड बक्स मर्मत गर्ने क्रममा करेन्ट लागी घटनास्थलमै मृत्यु भएको थियो ।

यस्तै, भाद्र २१ गते बैतडीको शिगास गाउँपालिका–९ बाजपानी बस्ने १३ वर्षीय बालक बसन्त बोहराको करेन्ट लागेर मृत्यु भयो । स्थानीय काठाको भिर भन्ने ठाउँमा बाख्रा चराउने क्रममा विद्युतको मेनलाइनको तार छोएको रूखमा चढ्दा करेन्ट लागेर रूखबाट खसेर उनको घटनास्थलमै मृत्यु भएको थियो ।

सुदूरपश्चिमका विभिन्न स्थानहरूमा प्रसारण लाइन अव्यवस्थित हुँदा जोखिम बढेको छ । ठाउँ ठाउँमा विद्युतको तार लत्रेर जोखिमपूर्ण भएको डोटी आदर्श गाउँपालिका–४ का मोहनराज ओझा बताउँछन् ।

उनी भन्छन् ‘कतै तारले रुखमा छोएको छ, कतै पोल बाङ्गिएर तार लत्रिएका छन्, जति भने पनि बनाउन सकेका छैनन् ।’

बिद्युत् प्राधिकरणले भने जनशक्ति नभएका कारण समस्या भएको बताउँदै आएको छ ।

समस्याहरू धेरै ठाउँमा रहेको आफूलाई पनि गुनासो आएको तर जनशक्ति नभएका कारण सुधार गर्न नसकिएको बिद्युत् दिपायल वितरण केन्द्रका प्रमुख शिवशंकर सोनी बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *