सदन २ बजेलाई सारियो, माओवादीलाई छलफल गर्न १ घण्टा समय – Nepal Press

सदन २ बजेलाई सारियो, माओवादीलाई छलफल गर्न १ घण्टा समय

काठमाडौं । प्रतिनिधिसभा बैठक १ घण्टा सारिएको छ । दिउँसो १ बजेका लागि तय बैठक माओवादीले आन्तरिक छलफलका लागि समय मागेपछि दिउँसो २ बजेलाई सारिएको हो ।  माओवादी सशस्त्र द्वन्द्व ‘हिंसा’ थियो कि ‘जनयुद्ध’ भन्ने विवादमा फस्दा सदन २६ गतेबाट अवरुद्ध बनेको थियो । आज सचेतक र सभामुखबीच सदन खुलाउने विषयमा भएको छलफलमा माओवादीलाई पार्टीलाई आन्तरिक छलफलका लागि १ घण्टा समय दिइएको छ ।

छलफलपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा भएको कुरा दलमा लगेर राख्ने बताए । उनले त्यसपछि मात्र आजको बैठकमा अवरोध गर्ने नगर्ने सुनाए ।

‘छलफलकै क्रममा छौं । हामीले जुन विषयवस्तु उठाएका छौं । शब्दमा मात्र कुरा हैन । समग्र जनयुद्धको भाव र त्यहाँ व्यक्त भएको विषयसँग सम्बन्ध छ । संसदलाई अघि बढाउनुपर्ने भन्ने कुरा भएको छ । यहाँ भएको कुरामा दलमा लगेर राख्छु ।’

केही दिनअघि सदनमा बोल्ने क्रममा एमाले सांसद योगेश भट्टराईले माओवादी हिंसाका कारण जलविद्युत आयोजनाहरूको काम अघि बढ्न नसकेको भनेपछि माओवादीले आपत्ति जनाएको थियो ।

त्यसक्रममा भट्टराईले व्यक्त गरेको शब्द संसदको रेकर्डबाट हटाउन माओवादीले माग गरेको थियो । सभामुख देवराज घिमिरेले संसद सचिवालयलाई सो शब्द संसदीय मर्यादाभित्र पर्ने वा नगर्ने छानबिन गर्न निर्देशन दिएका थिए । सभामुख घिमिरेले संसदको नियमाली, कार्यव्यवस्था परामर्श समितिको बैठक र संसद सचिवालयको सुझावका आधारमा उक्त शब्द असंसदीय नभएको जानकारी गराएका थिए ।

माओवादीले भने योगेशको उक्त शब्दले जनयुद्धकै अपमान गरेको ठहरसहित निरन्तर सदन अवरुद्ध गर्ने बताएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर