नरेश भट्टलाई एकपछि अर्को सहुलियत, नेपाली समुदायको असन्तुष्टि बढ्दै – Nepal Press

नरेश भट्टलाई एकपछि अर्को सहुलियत, नेपाली समुदायको असन्तुष्टि बढ्दै

काठमाडौं । अमेरिकामा नेपाली चेली ममता काफ्ले बेपत्ता भएको प्रकरणलाई लिएर त्यहाँको न्याय प्रणालीमाथि नै प्रश्न उठ्न थालेको छ । घटनाका मुख्य आरोपी ममताका श्रीमान नरेश भट्टप्रति अदालतले देखाइरहेको सदासयतालाई लिएर नेपाली समुदाय सन्तुष्ट छैन ।

ममता बेपत्ता भएको दिनदेखि नै श्रीमान नरेश शंकाको घेरामा थिए । नेपाली समूदायले दबाब दिएपछि प्रहरीले २२ अगष्टमा नरेशलाई पक्राउ गरेर लग्यो । तर, उनीमाथि हत्या अभियोग दर्ता भएको छैन । ‘लाश लुकाएको’ कमजोर मुद्दा लगाएर नरेशलाई हिरासतमा राखिएको हो ।

ममताको शव नभेटिएका कारण हत्याको अभियोग लगाउन नसकेको प्रहरीको भनाइ छ । प्रहरीले अहिलेसम्म ममताको हत्या भएको भनेर पनि आधिकारिक रूपमा भनेको छैन । यद्यपि, ममताको शवको खोजीमा कयौंपटक घरभित्र र बाहिर प्रहरीहरू परिचालन भइसकेका छन् । मनासस प्रहरी प्रमुख मारियो लुगोले आफूलाई ममता जिवित छिन् भन्ने विश्वास नरहेको मिडियासँग बताएका छन् । यद्यपि, प्रहरीसँग हत्याका प्रमाणहरू नभएको होइन ।

नरेश भट्टले ‘श्रीमती मृत्यु भएको कति समयमा अर्को बिहे गर्न मिल्छ ?’ भनेर गरेको गुगल सर्च, मार्टमा गएर दुईवटा चक्कु किनेको फुटेज, कोठाभरि रगतका टाटा, शौचालयल ढलमा रगतको भेल जस्ता प्रमाणहरू ममता जीवित छैनन् भन्ने आँकलन गर्न पर्याप्त छन् । तर, लाश नभेटिएसम्म हत्याको मुद्दा दायर गर्न प्रहरी हिच्किचाइरहेको छ ।

अहिले दायर भएको लाश लुकाएको सम्बन्धी मुद्दा अमेरिकाको अपराध सम्वन्धी कानूनमा फेलोनी ६ अन्तरगत पर्छ । यसमा धेरै ठूलो सजाय हुँदैन । हत्याको मुद्दा (क्यापिटल मर्डर) फेलोनी १ अन्तरगत पर्छ र त्यसमा आजीवन कारावास हुन सक्छ । नरेशले नै श्रीमतीको हत्या गरेको तथ्यमा नेपाली समुदायमात्र नभएर प्रहरीसमेत विश्वस्त छ ।

यता नरेशप्रति सुरूदेखि नै अदालतले सदासयता देखाइरहेको महसुस नेपाली समुदायले गरेका छन् । नरेश आर्थिकरूपमा सक्षम व्यक्ति हुन् । तर, उनले आफ्नो आम्दानी ‘शून्य’ रहेको दाबी गरेपछि त्यसैका आधारमा उनका लागि ‘पब्लिक डिफेन्डर’ नियुक्त गरिएको छ । जबकि पब्लिक डिफेन्डेर भनेको आफैं वकिल राख्ने हैसियत नभएकाहरूका लागि अदालतले दिने सुविधा हो ।

नरेशलाई दिइएको अर्को सहुलियत भनेको दोभाषेको सुविधा हो । नरेश अंग्रजी मज्जाले बोल्न सक्छन् । पक्राउ पर्नु अगाडि आफ्नै घरबाट स्थानीय मिडियालाई अंग्रेजीमै भटाभट अन्तर्वार्ता दिएका थिए । तर, अदालतमा उनले आफू राम्ररी अंग्रेजी बोल्न नसक्ने भन्दै सीधै बयान नदिने अडान लिए । न्यायाधीशले पनि उनको भनाइमा विश्वास गरे दोभासे राख्न अनुमति दिएको छ । नरेश आफ्ना वकिलहरूसँग मज्जाले अंग्रेजीमा कुरा गरिरहेका हुन्छन् । तर, न्यायाधीशले भने उनीसँग दोभाषेमार्फत प्रश्नोत्तर गर्नुपर्छ । उनले सोझै जवाफ दिँदैनन् ।

नरेशले वकिलहरूमार्फत राखेका सबैजसो मागहरू अदालतले पूरा गरिरहेको छ । नरेशका वकिलले तीन पटक मोसन हियरिङ बोलाए । अदालतले सुनवाइको मिति तोकेको भन्दा अगाडि नै एउटा पक्षले कुनै विषयमा अदालतमा छलफल गराउन चाहेमा मोसन हियरिङको माग गर्न सक्छ । त्यसअनुसार तीनपटक भएका मोसन हियरिङमा तीनैपटक न्यायाधीशले नरेशका वकिलको माग पूरा गरिदिएका छन् ।

नरेशका वकिलको मागअनुसार पछिल्लो मोसन हियरिङ गत शुक्रबार भएको थियो । यसमा नरेशका वकिलले ममता बेपत्ता भएपछि प्रहरीले संकलन गरेका प्रमाणहरू आफूले पनि पाउनुपर्ने माग गरेका थिए । त्यसअनुसार ममता आफ्नो कार्यालयबाट २७ अगष्टमा निस्किएको सीसीटीभी फुटेज नरेशका वकिललाई उपलब्ध गराउन न्यायाधीसले आदेश दिएका छन् । यसैगरी प्रहरीले नरेशसँग पहिलोपटक घरमा गएर सोधपुछ गरेको फुटेज पनि दिन भनिएको छ ।

नरेशका वकिलहरूले ममता हराएकी मात्र हुन्, उनको मृत्यु भएको छैन भनेर सावित गर्न चाहिरहेका छन् । २७ जुलाईमा ममता आफू काम गर्ने युभिए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा अन्तिमपटक पुगेकी थिइन् । कार्यबाट निस्किएर उनले पहिल्यै बुक गरेको उबर क्यान्सिल गरी एउटा कालो कारमा चढेको अनुसन्धानबाट देखिएको छ । कार चढ्नुअघि उनले कार्यालयबाहिर एक सहकर्मीसँग कुराकानी समेत गरेकी थिइन् ।

नरेशका वकिलले ममताले सहकर्मीसँग कुरा गरेको तथा कारमा चढेको फुटेज मागेका हुन्, जुन उनीहरूलाई उपलब्ध भइसकेको छ । उनीहरूले ती सहकर्मी र कारका ड्राइभरसँग समेत आफूहरूले कुरा गर्न पाउनुपर्ने थप माग राखेका छन् । सरकारी वकिलले प्रहरीसँग रहेका कुनै पनि प्रमाणहरू प्रतिवादीलाई उपलब्ध गराउन नमिल्ने तर्क गरेका थिए ।

सरकारी वकिलको भनाइमा ममता कार चढेको फुटेजले खासै अर्थ राख्दैन, किनभने नरेश आफैंले ३१ तारिखको रातिबाट मात्रै ममता बेपत्ता भएको बताएका छन् । त्यस राति आफूहरूले सँगै बसेर खोलेसँग खाएको र भोलिपल्ट बिहान काममा हिँडेपछि मात्रै बेपत्ता भएको भनेर उनले मिडियामा अन्तर्वार्तासमेत दिएका थिए ।

ममता बेपत्ता भएपछि प्रहरीले अगष्ट २ मा पहिलोपटक घरमा गएर नरेशसँग गरेको सोधपुछको भिडिओ पनि नरेशका वकिललाई उपलब्ध गराइएको छ । नरेशले उजुरी गर्न ढिलाइ गरेको आरोप लागेको हुँदा यो भिडिओले उक्त आरोप चिर्ने उनका वकिलको विश्वास छ । प्रहरीले नै आफूलाई केही दिन उजुरी नगरी आफैं श्रीमतीको खोजी गर्न सुझाव दिएको बताउँदै आएका छन् ।

नरेशका वकिलले प्रहरीले जफत गरेको टेस्ला कारमा भेटिएका प्रमाणहरू पनि मागेका थिए । तर, त्यो भने न्यायाधीशले अस्वीकार गरे । नरेशले ममता बेपत्ता भएपछि विक्री गरेको टेस्ला कार फेला पारेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीले नरेशको कोठाभित्र बगेको रगतको फरेन्सीक टेस्ट गर्ने बताएको थियो । उक्त टेस्टबाट त्यो रगत ममताको हो वा होइन भन्ने पुष्टि हुने प्रहरीको भनाइ छ । तर, एक महिना बितिसक्दा पनि उक्त परीक्षणको नतिजा के आयो भनेर प्रहरीले बताएको छैन ।

अर्कोतर्फ ममताकी छोरीको कस्टडी ब्याटलका लागि पनि नरेशले अधिकार पाएका छन् । उनलाई आजीवन जेल सजाय भएको खण्डमा छोरीको संरक्षण कसलाई दिने भन्ने विवाद छ । नरेश आफ्नै परिवारको जिम्मामा पठाउन चाहन्छन् । यसका लागि उनले जेलबाटै मुद्दा लड्न सक्नेछन् ।

तत्कालका लागि भने ममताकी छोरीलाई हजुरआमाको जिम्मा लगाइएको छ । ममताकी हजुरआमा र दाइ केही दिन अगाडि अमेरिका पुगेका थिए । उनीहरूले हिजोमात्रै बच्चाको हेरचाह गर्ने जिम्मा पाएका हुन् । स्थायी रूपमा भने अदालतले नै निर्णय लिने छ । त्यतिञ्जेल चाइल्ड प्रोटेक्टिभ सर्भिसको स्वीकृतिबाट हेर्ने हजुआमालाई केयरिङको अधिकार दिइएको हो ।

अहिले हजुरआमा र मामा छुट्टै अपार्टमेन्टमा बस्न थालेका छन् । उनीहरूलाई नेपाली समुदायबाट सहयोगको वर्षा भइरहेको छ ।

यो पनि पढ्नुहोस्- नरेश भट्टका वकिलको मागअनुसार मुद्दा ‘स्पिडी ट्रायल’ मा, ममताको शव खोजेको खोज्यै प्रहरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *