वनक्षेत्रमा विस्तारित सडकले साँघुरिँदै वन्यजन्तुको वासस्थान – Nepal Press

वनक्षेत्रमा विस्तारित सडकले साँघुरिँदै वन्यजन्तुको वासस्थान

बाँके। बाँके र बर्दियाको वनक्षेत्रमा निर्माण गरिएका सडक संरचना वन्यजन्तुमैत्री नहुँदा वन्यजन्तुको वासस्थान साँघुरिँदै गएको छ।

वनक्षेत्रमा बनाइएका सडक संरचनाले मानवलाई आवागमनमा सहजता भए पनि वन्यजन्तुको वासस्थान खुम्चिँदै जानुका साथै वन्यजन्तुले प्राकृतिक रूपले गर्दै आएको आवागमनमा अवरोध सिर्जना हुँदै गएको हो। वन्यजन्तु ओहोरदोहोर गर्ने वनक्षेत्रमा बनेका पक्की सडकमा सवारीसाधन हुइँकिन थालेपछि वन्यजन्तु मानव बस्तीतिर पस्न थालेको विज्ञहरूको भनाइ छ।

बाँकेमा वन्यजन्तु ओहोरदोहोर गर्ने कम्दी करिडोरलाई छिचोल्दै अहिले राप्ती सोनारी गाउँपालिकाको फत्तेपुर जंगलमा पक्की हुलाकी सडक निर्माण गरिएको छ। पक्की सडक बनेसँगै स्थानीयको दैनिकी सहज भए पनि वन्यजन्तुको आवागमनमा अवरोध सिर्जना भएको शम्शेरगन्ज सबडिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत सुशील सुवेदीले बताए।

वनक्षेत्रमा हुलाकी सडक निर्माण गरिँदा वन्यजन्तु सहज रूपमा ओहोरदोहोर गर्न सक्ने गरी ठाउँ–ठाउँमा ‘अन्डरग्राउन्ड’ र ‘ओभर फ्लाई’को व्यवस्था गरी वन्यजन्तुमैत्री बनाइनुपर्ने बताए। त्यसो हुन नसक्दा वन्यजन्तुको प्राकृतिक आवागमनमा अवरोध सिर्जना भएको सुवेदीको भनाइ छ।

बाघ, हात्तीलगायत वन्यजन्तु ओहोरदोहोर गर्ने नेपाल र भारतको करिडोरमा वन्यजन्तुमैत्री सडक संरचना नहुँदा जंगली जनावर मानव बस्तीमा पसेर क्षति पुर्‍याउँदै आएका छन्।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख मनोज साहले दिगो विकासका लागि नेपालमा वन्यजन्तुमैत्री पूर्वाधार प्रवर्द्धन नहुँदा मानवलाई सहजता भए पनि वन तथा वन्यजन्तुलाई असहज हुँदै गएको बताए।

“वन्यजन्तु संरक्षणकर्मी विकासविरोधी होइनन्, सडकसहितका पूर्वाधार निर्माण गर्दा वन्यजन्तुमैत्री हुनुपर्छ,” उनले भने, “जथाभाबी सडक संरचना निर्माण गर्दा वन्यजन्तु निर्बाध रूपमा आवतजावत गर्न पाउँदैनन्, त्यसैले मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको हो।”

निकुञ्जका प्रमुख साहले वन्यजन्तु, वातावरण र जलवायु अनुकूलतालाई आत्मसात् नगरी गरिएको पूर्वाधार विकास दिगो नहुने भएकाले पूर्व–पश्चिम राजमार्ग, हुलाकी सडकलगायत संरचना निर्माण गर्दा सडकको मुनिबाट र सडक माथिबाट वन्यजन्तु निर्बाध रूपमा आवतजावत गर्न सक्ने गरी वन्यजन्तुमैत्री संरचना निर्माण गर्न जरुरी भएकामा जोड दिए।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख डा। अशोककुमार रामले निकुञ्ज परिसरमा मात्रै नभएर प्रत्येक वनक्षेत्रमा बन्ने संरचनामा वन्यजन्तु सहज रूपमा आवतजावत गर्ने व्यवस्था हुनुपर्ने बताए। जथाभाबी रूपमा पूर्वाधार निर्माणले सामाजिक, आर्थिक र वातावरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसबारे समयमा नै सावधानी अपनाएर संरचना बनाउन सके मात्रै दिगो विकास हुने उनले उल्लेख गरे।

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीले वनक्षेत्रमा अहिले विकासका नाममा निर्माण भएका सडकले वन्यजन्तु हायलकायल अवस्थामा पुगेको बताए। विकासको नाममा एउटै गाउँ पुग्न पाँच वटासम्म बाटो बनाउने अहिलेको कार्यशैलीले मानव–वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको उनले दाबी गरे।

वन तथा वातावरण विद् डा रोशन शेरचनले विकासबाट मानव, वन्यजन्तु र प्रकृतिलाई पनि फाइदा पुग्ने गरी संरचना निर्माण गर्न सकेमा मानव–वन्यजन्तु द्वन्द्व घट्दै जाने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *