विधायन समिति सभापतिमा दाहाल र राई भिड्दै – Nepal Press

विधायन समिति सभापतिमा दाहाल र राई भिड्दै

प्रत्योजित समितिमा भने माओवादीका शर्माको मात्रै एकल उम्मेदवारी

काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)का सांसदको उम्मेदवारी परेको छ । रिक्त रहेको समितिको सभापति पदमा एमालेका तर्फबाट तुलसाकुमारी दाहाल र नेकपा एसकाका तर्फबाट जयन्तीदेवी राईको उम्मेदवारी परेको हो ।

एमालेका उम्मेदवार दाहालको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढंगाना र एमालेकी भगवती न्यौपाने रहेका छन् भने एसका उम्मेदवार राईको प्रस्तावकमा एसकै बेदुराम भुसाल र समर्थकमा नेकपा (माओवादी केन्द्र)का सुरेशकुमार आलेमगर रहेका छन् । एसबाट अहिले सभापतिमा उम्मेदवारी दिएकी राईको २ वर्षे कार्यकाल भदौ २२ गते पुरा भएपछि सभापतिका लागि निर्वाचन प्रक्रिया अघि बढेको हो ।

यसरी हेर्दा सत्ता पक्ष र प्रतिपक्षका सांसद बराबर देखिएका छन् । सत्तापक्ष काँग्रेस र एमालेका ७ जना सांसद रहेका छन् भने प्रतिपक्ष दल माओवादी र समाजवादीका पनि ७ जना नै सांसद रहेका छन् ।

जसपाका सांसद मृगेन्द्रकुमार सिंह दुवै पक्षका लागि निर्णायक बनेका छन् । उपेन्द्र यादव नेतृत्वको जसपा सरकारमा सहभागी नभएको भए पनि अहिलेको सरकारलाई समर्थन जनाएका कारण उसले सभापतिमा सत्तापक्षलाई समर्थन गर्ने सम्भावना बढी छ । त्यस्तो अवस्थामा सत्तापक्षकै सभापति निर्वाचित हुनेछ ।

जसपाका सांसद सांसद मृगेन्द्रकुमार सिंहले दुबै पक्षका उम्मेदवारले मत मागिरहेको भए पनि अहिलेसम्म कुनै पनि निर्णय भइनसकेको नेपाल प्रेससँग बताए । उनका अनुसार निर्वाचन हुनु अघिसम्म पार्टीले कसलाई समर्थन गर्ने भन्ने निक्र्यौल गर्ने बताए ।

राष्ट्रिय सभाकै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा भने माओवादी केन्द्रका मायाप्रसाद शर्माको एकल उम्मेदवारी परेको छ ।
उनको प्रस्तावकमा नेकपा एसका मदनकुमारी शाह ९गरिमा० र समर्थकमा माओवादी केन्द्रकै नरबहादुर विष्ट रहेका छन् ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा १२ जना सदस्य रहेका छन् । जसमा माओवादीका ४ जना, कांग्रेसका पनि ४ जना, एमालेका २ जना र नेकपा एसका पनि २ जना सांसद रहेका छन् । सत्तापक्ष र प्रतिपक्ष विभाजन हुँदा काँग्रेस र एमाले सहित सत्तापक्षका ६ जना पुग्छन् भने माओवादी र नेकपा एस गरेर पनि प्रतिपक्षका ६ जना नै पुग्छन् । यस समितिमा न त सत्तापक्ष न त प्रतिपक्ष कुनै पनि निर्णायक हुन सक्दैन । यद्यपी सभापतिका लागि एकल उम्मेदवारी परेका कारण शर्मा निर्विरोध सभापति चयन हुने भएका छन् ।

राष्ट्रिय सभामा ४ वटा एकल समिति मध्ये दुई वटा खाली भए पनि दुई वटामा भने सत्तापक्षकै सभापति रहेका छन् । जसमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा नेकपा एमाले का सोनाम ग्यालजेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा काँग्रेसका कमला पन्त सभापति रहेका छन् ।

राजनीतिक सहमतिकै आधारमा सभापति छनौट गर्दा रिक्त रहेका २ समितिमा यस अघिकै माओवादी र नेकपा एसका सभापतिलाई निरन्तरता दिने तयारी भए पनि अन्तिम समयमा आएर विधायन व्यवस्थापन समितिमा भने दोहोरो उम्मेदवारी परेको छ ।

राष्ट्रिय सभाका दुई समितिको सभापतिको निर्वाचन कार्य तालिका यस अघि नै सार्वजनिक भइसकेको छ । राष्ट्रियसभा संसद सचिवालयका अनुसार दुबै समितिको सभापतिका लागि सोमबार दिउसो १ बजे निर्वाचन गर्ने कार्य तालिका छ ।

कार्यतालिका अनुसार आइतबार बिहान साढे १० बजे देखि साढे १२ बजेसम्म प्रस्ताव दर्ता गर्ने, आइतबार दिउसो १ बजे प्रस्ताव सूची सार्वजनिक गर्ने र सोमबार दिउसो १ बजे सम्बन्धित समितिको बैठक कक्षमा प्रस्तावलाई निर्णयार्थ प्रस्ताव गर्ने कार्य तालिका रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *