माओवादी आफ्नो अडानबाट पछि नहटेपछि आजको प्रतिनिधिसभा बैठक स्थगित – Nepal Press

माओवादी आफ्नो अडानबाट पछि नहटेपछि आजको प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज बस्ने तय भएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

बैठक भोलि दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । माओवादी सांसदहरुले सदन अवरुद्ध गरेपछि सदन खुलाउनेबारे सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको हो ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले एमाले सांसद योगेश भट्टराईले सदनमा बोल्दा प्रयोग गरेको ‘हिंसा’ शब्द रेकर्डबाट नहटाएसम्म सदन चल्न नदिने  अडान लिएकाे थियाे । दिउँसो सचेतक र सभामुखबीच सदन खुलाउने विषयमा भएको छलफलमा माओवादीले पार्टीमा छलफल गर्न १ घण्टा समय मागेको थियो ।

तर, सत्ता पक्ष आफ्नै अडानमा भएकाले आफूहरू निर्णयबाट ब्याक हुने अवस्था नभएको माओवादी सांसद माधव सापकोटाले बताएका थिए ।
त्यसपछि १ बजेका लागि तय बैठक २ बजेलाई सारिए पनि फेरि सवा ३ लाई सारिएको थियाे । संसद भवनमा सभामुखले दलका सचेतक र प्रमुख सचेतकसँग छलफल गरेपनि सहमति जुट्न नसकेपछि आजकाे लागि बैठक स्थगित गरिएकाे सभामुखको सचिवालयले जनाएको छ ।
माओवादी सशस्त्र द्वन्द्व ‘हिंसा’ थियो कि ‘जनयुद्ध’ भन्ने विवादमा फस्दा सदन २६ गतेबाट सदन बन्धक बनेको छ । योगेशको उक्त शब्दले जनयुद्धकै अपमान गरेको ठहरसहित माओवादीले निरन्तर सदन अवरुद्ध गर्ने निर्णय गरेको थियो ।
केही दिनअघि सदनमा बोल्ने क्रममा एमाले सांसद योगेश भट्टराईले माओवादी हिंसाका कारण जलविद्युत आयोजनाहरूको काम अघि बढ्न नसकेको भनेपछि माओवादीले आपत्ति जनाएको थियो ।

त्यसक्रममा भट्टराईले व्यक्त गरेको शब्द संसदको रेकर्डबाट हटाउन माओवादीले माग गरेको थियो । सभामुख देवराज घिमिरेले संसद सचिवालयलाई सो शब्द संसदीय मर्यादाभित्र पर्ने वा नगर्ने छानबिन गर्न निर्देशन दिएका थिए । सभामुख घिमिरेले संसदको नियमाली, कार्यव्यवस्था परामर्श समितिको बैठक र संसद सचिवालयको सुझावका आधारमा उक्त शब्द असंसदीय नभएको जानकारी गराएका थिए ।

 

 


प्रतिक्रिया

One thought on “माओवादी आफ्नो अडानबाट पछि नहटेपछि आजको प्रतिनिधिसभा बैठक स्थगित

  1. हिंसा मात्र होईन ज्यानमारा युद्व थियो त्यो । मान्छे मारेर आतंकित गरेर त्यसको प्रभाव ठूलो देखाउन खोजेको हो । हिंस्रकलाई जेल पनि कोच्नुपर्छ । माओवादीका टाउकेलाई मस्ति गर्न मान्छेको ज्यान लिने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर