४२ लाखको तेल बेवारिसे बनाएर कहाँ बेपत्ता भए चालक ?
चितवन । चितवनको नारायणगढ-मुग्लिन सडक खण्डमा पर्ने सीमलतालबाट ट्रक खसेको सूचना आइतबार बिहानै चितवन प्रहरीले पायो । पटक-पटक दुर्घटना पर्ने गरेको उक्त सडक क्षेत्रमा भवितव्य हुनसक्ने प्रहरीको प्रारम्भिक आँकलन थियो ।
तर, प्रहरी उक्त ठाउँमा पुगेर घटनास्थल छानबिन गर्दा दुर्घटना भवितव्य नभएर जानाजान गराइएको हुनसक्ने निर्क्यौलमा पुगेको छ ।
प्रहरीले छानबिन गर्दा ट्रकभित्रबाट दुई हजार दुई सय २५ कार्टुन सनफ्लावर तेल बोकेको चलानी नम्बर प्राप्त गरेपछि र घटनास्थलको अवस्था हेरेपछि शंकास्पद घटना हुनसक्ने प्रहरीले निर्क्योल गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार २२२५ कार्टुन तेलको मूल्य ४२ लाख ५ हजार २५९ रूपैयाँ भ्याटसहित उल्लेख गरिएको छ ।
ठूलो परिणाममा खाने तेल बोकेको ट्रकका चालक यमबहादुर घले रहेको र उनको सम्पर्क नम्बरसमेत उल्लेख गरेर शुभमालिका ट्रेडिङ प्रालि सिद्धार्थनगर भैरहवाले भैरवी कर्पोरेट प्रालि ललितपुरमा खानेतेल लोड गरेर पठाएको चलानीबाट खुलेको छ ।
एसबी १५७-८१/८२ चलानी नम्बर भएको खानेतेल बोकेर ना. ६ ख ६२८३ नम्बरको ट्रक भदौ २८ गते भैरहवाबाट हिँडेको देखिएको छ । तर, ३० गते बिहानमात्रै दुर्घटना भएको भेटिएको छ, चितवन प्रहरी प्रवक्ता डीएसपी रिजाल भन्छन्, ‘चालकको नम्बर स्वीच अफ, सहचालक पनि सम्पर्कविहीन र गाडी धनी पनि सम्पर्कमा नआउनुको पछाडि कारण रहेको भने देखिन्छ ।’
उनका अनुसार ४२ लाख बढीको चलानी भएपनि ट्रकमा आधा पनि तेल छैन । सबै तेलको कार्टुन फुटाइएको अवस्थामा र पोका पोका गनेर मुचुल्का गर्नुपर्ने अवस्थामा रहेको उनले बताए ।
डीएसपी रिजालका अनुसार सामान पठाउने र प्राप्त गर्ने व्यक्ति भने सम्पर्कमा आइसकेका छन् । चालकको पनि घर पत्ता लगाइएको र सम्पर्कको प्रयास गरिएको उनले बताएका छन् ।