अनमोल केसी ‘हाम्फालेर’ जोगिए, ‘रावायण’ डुब्दा पल शाह घायल ! – Nepal Press

अनमोल केसी ‘हाम्फालेर’ जोगिए, ‘रावायण’ डुब्दा पल शाह घायल !

काठमाडौं । पल शाह र पुजा शर्मा अभिनित चलचित्र ‘रावायण’ फ्लप भएको छ । पहिलो सातामै कमजोर व्यापार गरेपछि चलचित्रले लगानी उठाउन नसक्ने निश्चित देखिएको हो ।

अघिल्लो शुक्रबार रिलिज भएको चलचित्रलाई दोस्रो सातामा उक्लिन नै धौधौ पर्यो । अहिले पनि केही हलहरुमा रावायण चलिरहेको छ, तर दर्शक आउन छोडेका छन् । हलमा दर्शक नभएर शो रद्द गर्नुपरेका खबरसमेत सार्वजनिक भएका छन् । उच्च लगानी भएको फिल्मका लागि यो निराशजनक स्थिति हो ।

यो चलचित्रबाट सबैभन्दा ठूलो चोट त पूजा शर्मालाई नै लागेको छ । उनको स्टारडम मात्रै उदांगो भएन, करोडौं लगानीसमेत डुब्यो । फेरि यस प्रकारको दक्षिण भारतीय फिल्मको अन्धनक्कल गर्नुभन्दा अगाडि उनले १० पटक सोच्नेछिन् ।

रावायणको व्यापारिक असफलताले अभिनेता पल शाहलाई पनि ठूलो झट्का लागेको छ । पल जेलबाट निस्किएपश्चात उनको स्टारडम के भयो भन्ने वास्तविक परीक्षा थियो रावायण । उनले यसअघि ‘पुजार सार्की’ मा पनि अभिनय गरेका थिए, जुन हिट भयो । तर, उक्त चलचित्र सफल हुनुमा पलले ठूलो श्रेय पाउन सक्दैनन् किनकी चलचित्रमा उनको भूमिका अहम् थिएन । अभिनेता प्रदीप खड्काको भूमिका र अभिनयले पुजार सार्कीलाई धानेको छ ।

रावायणमा भने पल सोलो हिरो हुन् । अझ उनले यसमा हिरो र भिलेनको दोहोरो भूमिका निर्वाह गरेका छन् । यदि चलचित्र चलेको भए यसको सबैभन्दा ठूलो जस पल शाहलाई नै जान्थ्यो । जेलबाट निस्किएपछि उनको स्टारडममा थप चार चाँद लागेको स्वीकार्नै पर्थ्यो । ठीकठाक व्यापार गरेको भए पनि पललाई धेरै धक्का पर्ने थिएन । तर, लगानीको तुलनामा फिल्मको व्यापार निकै कमजोर रह्यो, जबकि रिलिज अगाडि राम्रै हाइप बनाएका थिए, पल र पूजाले ।

रावायणको असफलतापछि पलका फ्यानहरु निराश छन् । कतिपयले उनलाई म्युजिक भिडिओमै सिमित हुन पनि सुझाव दिएका छन् । म्युजिक भिडिओबाट पललाई आर्थिक हिसाबले पनि राम्रै फलिफाप भइरहेको छ । तर, ठूलो पर्दा र सानो पर्दाको फरक उनले अवश्य बुझेका छन् । पललाई चलचित्रमै सफल भएर देखाउनु छ ।

स्मरणीय छ कि रावयाणमा पल शाह पहिलो छनोटको हिरो थिएनन् । यो चलचित्रका लागि पूजाले सुरुमा महंगा नायक अनमोल केसीलाई अफर गरेकी थिइन् । अनमोलको जोडी भएर अभिनय गर्ने रहर पनि थियो पूजाको । सुरुमा अनमोलले स्वीकृति पनि जनाए । तर, पछि पूजासित आफ्नो केमस्ट्री नमिल्ने ठानेर पन्छिदिए । अनमोलको यो व्यवहारबाट पूजालाई निकै चोट परेको थियो । अन्ततः उनले यो चलचित्र नै नबनाउने निधो गरिन् ।

पछि यही स्क्रिप्टमा निर्देशक सुदर्शन थापाले चलचित्र बनाउने सुरु गरे । उनले पनि अनमोल केसीलाई नै लिए । आफूले तयारी गरेको चलचित्र सुदर्शनले बनाउन लाग्दा पूजा रिसाएकी थिइन् । तर, अनमोल फेरि पनि ‘ब्याक’ भए । उनले एडभान्स लिइसकेको रकम फिर्ता गरे । यही इस्यूमा सुदर्शनले अनमोल केसीविरुद्ध प्रहरीसमेत गुहारेका थिए । प्रहरीले पक्राउ गरेर केही दिन हिरासतमा राखेको थियो ।

अनमोलले छोडेको रोलमा पनि सुदर्शनले पल शाहलाई अफर गरे । त्यसपछि पूजा पनि प्रोजेक्टमा जोडिएकी हुन् । पल जेलबाट छुटेपछि चिसिएको पूजासँगको सम्बन्धमा यो सहकार्यले फेरि बहार आयो । चलचित्रमा दुवैले खुब मिहिनेत गरेर पूजाले दिल खोलेर खर्च समेत गरिन् । प्रदर्शनअघि पब्लिसिटीमा पनि निकै जोडबल लगाएका थिए उनीहरुले । तर, पहिलो दिनबाट दर्शकको आकर्षण देखिएन ।

जबसम्म कन्टेन्ट बलियो र सुद्ध हुँदैन, मेकिङमा जति खर्च र मिहिनेत गरे पनि दर्शक तान्न सकिँदैन भन्ने दृष्टान्त पनि बनेको छ रावायण । केही दक्षिण भारतीय चलचित्रले नेपालबाट पैसा सोहोरेको देखेर त्यस्तै खालको भद्दा कन्टेन्टमा लोभिएका थिए पूजा सुदर्शन । तर, चलचित्रले दर्शकलाई कुनै अपिल गर्न सकेन ।

बरु नायक अनमोल केसीले लिएको निर्णय सही सावित भएको छ । तत्कालीनरुपमा केही विवाद उनले खेप्नुपर्यो । हिरासतमा समेत पुग्नुपर्यो । तर कालान्तरमा एउटा कमजोर चलचित्रबाट उनी जोगिएका छन् ।

 


प्रतिक्रिया

3 thoughts on “अनमोल केसी ‘हाम्फालेर’ जोगिए, ‘रावायण’ डुब्दा पल शाह घायल !

  1. यस्ताे रेः
    जबसम्म कन्टेन्ट बलियो र ”सुद्ध” हुँदैन, मेकिङमा जति खर्च र मिहिनेत गरे पनि दर्शक तान्न सकिँदैन भन्ने दृष्टान्त पनि बनेको छ रावायण ! 🙂

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर