२ महिनापछि मैदान फर्किएका मेस्सीको शानदार पुनरागमन, २ गोल र एक असिस्ट – Nepal Press

२ महिनापछि मैदान फर्किएका मेस्सीको शानदार पुनरागमन, २ गोल र एक असिस्ट

काठमाडौं । चोटका कारण दुई महिना मैदान बाहिर रहेका अर्जेन्टिनी स्टार लियोनल मेस्सीले शानदार पुनरागमन गरेका छन् ।

मेजर लिग सकर–एमएलएसअन्तर्गत आइतबार बिहान भएको खेलमा मेस्सी चम्किएपछि इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई ३–१ गोलले हरायो । मेस्सीले दुई गोल र एक असिस्ट गरे ।

२६ ‍औँ मिनेटमा लुइस स्वारेजको पासमा सुरुवाती गोल गरेका उनले चार मिनेटलगत्तै अग्रता अर्को गोल थपेका थिए । दोस्रो हाफको इन्जुरी समयमा मेस्सीको पासमा स्वारेजले गोल गरेका थिए । खेलमा सुरुवाती अग्रता फिलाडेल्फिया युनियनले दोस्रो मिनेटमै लिएको थियो।

गत जुलाई १५ तारिखमा भएको कोपा अमेरिकाको फाइनलमा उनी घाइते भएका थिए । त्यसयता उनले क्लबले खेलेका ९ खेल गुमाएका थिए ।

इन्टर मियामी यो सिजन एमएलएसको इस्टर्न कन्फेरेन्समा फराकिलो अग्रतासहित शीर्षस्थानमा छ । उसले २८ खेलमा ६२ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको सिनसिन्नाटीको ५२ अंक छ । मेस्सीले जारी लिगमा १४ गोल र १५ असिस्ट गरेका छन् । स्वारेजको नाममा १७ गोल र ६ असिस्ट छ । शीर्षस्थानमा रहेका डिसी युनाइटेडका क्रिस्टियन बेनटेकको १९ गोल छ ।

मेस्सी घाइते भएका कारण यसबीचमा राष्ट्रिय टोलीमा पनि उपलब्ध थिएनन् । उनको अनुपस्थितीमा अर्जेन्टिनाले खेलेको पछिल्लो खेलमा हार ब्यहोरेको थियो । कोपा अमेरिकाको फाइनलमा हराएकै टोलीसँग अर्जेन्टिना पराजित भएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *