यातायात व्यवस्था विभागका महानिर्देशक फेरिए, सूचनाका रिज्यालको सरुवा
काठमाडौं । यातायात व्यवस्था विभागसहित विभिन्न ३ विभागका महानिर्देशक फेरिएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवको सरुवा गर्ने क्रममा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा कामकाजमा खटाएको हो । रिजाल ७ महिना अघि महानिर्देशकको जिम्मेवारीमा आएका थिए ।
यस्तै उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय मधेश प्रदेशका प्रदेश सचिव राजिव पोखरेलको भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको छ । सम्भव मन्त्रालयले पोखरेललाई विभागको महानिर्देशको जिम्मेवारी दिने वा त मन्त्रालयमा कार्यरत प्रशासन सेवाको सहसचिवलाई खटाउने सम्भावना छ ।
यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगत रहेको सूचना तथा प्रशारण विभागमा महानिर्देशकको जिम्मेवारीमा रहेका सहसचिव बलराम रिज्यालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । रिजाल करिव ३ महिना अघि मात्रै विभागको महानिर्देशकको जिम्मेवारीमा गएका थिए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियार सरुवा भएर आएकाले सम्भव त उनैलाई सूचना तथा प्रशारण विभागको महानिर्देशकको जिम्मेवारी दिइने छ ।
यदि उनले नपाएको अवस्थामा मन्त्रालयमा कार्यरत प्रशासन सेवाको कुनै सहसचिवलाई महानिर्देशकको जिम्मेवारी मन्त्रालयले दिनेछ ।