पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षतिकाे अध्ययन गर्न छानबिन समिति गठन
काठमाडौं । पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षती भएका विषयमा छानविन गर्न समिति गठन भएको छ ।
काठमाडौँ उपत्यकाको बालाजु, पुलचोकलगायतका क्षेत्रमा पानी वितरण प्रणालीमा केही दिन यतादेखि देखा परेका पाइपलाइन फुट्ने र चुहिने समस्याका कारण भएको संरचनात्मक क्षतिबारे खानेपानी मन्त्री प्रदीप यादवले स्थलगत निरीक्षण गर्दै समस्याको जड पत्ता लगाउन छानबिन समिति गठन गरेका हुन् ।
आइतबार मन्त्री यादवले मन्त्री स्तरीय निर्णय गर्दै ३० दिनभित्र पाइपलाइन समस्याको कारण, संरचनामा भएको क्षति र भविष्यमा यस्तो घटना दोहोरिन नदिनका लागि समाधानका उपायसहितको प्रतिवेदन पेश गर्न मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।
उनले उपत्यकामा मेलम्ची लगायतका स्रोतबाट उपलब्ध पानीको वितरण प्रणालीलाई व्यवस्थित, दिगो, र सुरक्षित बनाउन र नागरिकलाई निर्बाध रुपमा सेवा उपलब्ध गराउन समिति गठन गरिएको बताए ।
मन्त्री यादवले बारम्बार पाइपलाइन फुट्ने समस्या तत्काल समाधान गर्न महत्वपूर्ण रहेको बताउदैँ पानी वितरण प्रणालीलाई थप सुदृढ बनाउन आवश्यक सुधारका उपाय अवलम्बन गर्न निर्देशन दिएका छन् ।
उक्त समितिलाई ३० दिनभित्र पाइपलाइन फुट्ने र चुहिने समस्याका कारण, हालसम्मको क्षति र आगामी दिनमा यस्ता समस्याबाट जोगिनका लागि समाधानका उपायसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।
उनले प्रतिवेदनका आधारमा मन्त्रालयले थप ठोस कदम चाल्ने र आगामी दिनमा पाइपलाइन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने योजना रहेको बताए ।
उपत्यकामा भएका पाइपलाइन फुट्ने समस्याले सडक, घर तथा अन्य संरचनामा क्षति पुर्याएको र आगामी दिनमा थप क्षति हुन सक्ने सम्भावना रहेको भन्दै मन्त्री यादवले पाइपलाइन विस्तारको क्रममा गरिएका त्रुटिलाई सुधार गर्दै भौतिक संरचनाको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्नसमेत निर्देशन दिए ।
उक्त छानविन समितिको सदस्यमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका उप–प्रबन्धक उमेशबाबु मरहठ्ठा, आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का कार्यकारी निर्देशक टिकाबहादुर चौधरी र इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकका सह प्राध्यापक डा.सुरज लामिछाने रहेका छन् ।
समितिको सदस्य सचिवमा काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जिविक्रम राणा रहेका छन् ।