खुकुरी प्रहार गरेका चक्रे मिलन समूहका वडाध्यक्ष पुर्पक्षका लागि थुनामा – Nepal Press

खुकुरी प्रहार गरेका चक्रे मिलन समूहका वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

रुपन्देही । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं २ का वडाध्यक्ष ३८ वर्षीय ज्ञानु भनिने ज्ञानेन्द्रराज वलीसहित पाँच जना पुर्पक्षका लागि थुनामा गएका छन् ।

बाँकेको विनौनाका युवा सन्दीप विष्ट र सुलभ मल्ललाई खुकुरी प्रहार गरेको घटनामा जिल्ला अदालत बाँकेले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। वली एमालेबाट निर्वाचित वडाध्यक्ष भए पनि गुन्डा नाइके चक्रे मिलन समूहमा आबद्ध रहेको प्रहरीको भनाइ छ ।

आइतबार न्यायाधीश दीपक घिमिरेको एकल इजलासले पाँचै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

अदालतका सूचना अधिकारी सुरेश मल्लका अनुसार राप्ती सोनारी– २ का ३२ वर्षीय बामे भन्ने चूडामणि ‌वली, ३२ वर्षीय रत्न भण्डारी, ३७ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर डाँगी र नेपालगञ्ज उपमहानगरपालिका–६ का ३१ वर्षीय बाला भनिने सन्तोष गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

नवीन भण्डारी भनिने नवीन गुरूङ, ऋषि भनिने पूर्णचन्द्र देवकोटा, आगमन प्रताप सिंह, विशाल बस्नेत र नारायण डाँगी भनिने नारायण डिसी फरार छन्।

भदौ १ गते शनिवार बेलुकी राप्ती सोनारी–२ का २८ वर्षीय सन्दीप विष्ट र बैजनाथ–७ प्रशुरामपुरका २८ वर्षीय सुलभ मल्लमाथि एक समूहले आक्रमण गरेको थियो। उनीहरूको भारतको लखनउमा दुई जना घाइतेको उपचार भइरहेको छ।

जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार फरार रहेका लोकेन्द्र भनिने लोकबहादुर डाँगीलाई प्रहरीले केही दिन पहिले मात्रै पक्राउ गरेको थियो।

वडाध्यक्ष ओलीसहित अन्य चार जनालाई घटना भएकै राति प्रहरीले नियन्त्रणमा लिएको थियो। तर खुकुरी तथा खुँडा प्रहारमा संलग्न भएको आरोप लागेका पाँच जनालाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन।

घाइतेमध्ये सन्दीप विष्टकी २८ वर्षीया श्रीमती चेतना पुरी विष्टले भदौ २ गते वडाध्यक्ष ओलीसहित नौ जनाविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत लिखित उजुरी दिएकी थिइन्।

उनीहरूले पत्रकार सम्मेलन नै गरेर कुनै कारणले घटनाका अभियुक्त बाहिर निस्किए आफूहरू खतरामा पर्ने भन्दै जसरी पनि कारबाही गर्न माग गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *