आँधिमूलमा भुजेल जातिको धार्मिक ‘ग्रन्थपूजन’ – Nepal Press

आँधिमूलमा भुजेल जातिको धार्मिक ‘ग्रन्थपूजन’

तनहुँ । यहाँको बन्दीपुर गाउँपालिका–५ स्थित आँधिमूल मन्दिरमा आइतबार भुजेल जातिको संस्कार, संस्कृतिको धार्मिक ग्रन्थपूजन गरिएको छ ।

भुजेल संस्कार संस्कृतिसँग आधारित राँगा र भेडाको सिङबाट बनेको बाजा (पुतुङ) र खैँजडी बजाउँदै धार्मिक ग्रन्थपूजन गरिएको हो । भुजेल जातिको धार्मिक ग्रन्थका लेखकद्वय विशम भुजेल र प्रदिप भुजेलद्वारा लिखित पुस्तक विमोचनको पूर्वसन्ध्यामा ग्रन्थपूजन गरिएको हो ।

उक्त कार्यक्रममा दार्जिलिङबाट आउनुभएका भुजेल संस्कृतिविद् (फोरो) रतन खवास र प्रमोद खवास लगायतको सहभागिता रहेको थियो । भुजेल संस्कृति एशोसिएनका प्रमोद खवास र भुजेल भाषामा विद्यावारिधि गर्नुभएका डा. बिधुप्रकाश कायस्थ पनि सहभागी ग्रन्थपूजनमा सहभागी थिए ।

भुजेल जातिका संस्कार, संस्कृति र प्रकृति पुजनमा आधारित धार्मिक ग्रन्थ “म्याहङो इम्याहङअ” ग्रन्थ आज विमोचन कार्यक्रम छ । भुजेल जातिको भाषा संस्कार र संस्कृतिको संरक्षणका लागि यस पुस्तक कोसेढुङ्गा सावित हुने विश्वास गरिएको लेखक विशम भुजेलले जानकारी दिए ।

उनका अनुसार पछिल्लो समय भुजेल जातिको रैथाने ज्ञान, सीप लगायत भाषा संस्कार, संस्कृति लोप हुँदै जान थालेपछि संरक्षण गर्न पुस्तक लेखिएको हो । “राज्यले हाम्रो भाषा संस्कृतिको संरक्षणतर्फ ध्यान दिन सकेको छैन् । जातीय सङ्घसंस्थाहरु लोपोन्मुख भाषा, संस्कार र संस्कृतिको पक्षपोषण भन्दा बाहिर गएर दलीय भागबन्डामा लिप्त हुँदा लोप हुने खतरामा पुगेको छ”, उनले भने ।

म्याहङो इम्याहङअ पुस्तक खोज अनुसन्धान गरेर सन् २०१२ मा पाण्डुलिपी तयार गरिएको अर्का लेखक प्रदिप भुजेलले बताए। प्रकृतिपूजक भुजेल समुदाय बसोबास गर्ने नेपाल र भारतका विभिन्न स्थानमा पुगेर उनीहरुको भाषा संस्कृतिको विषयमा खोजी गरी पुस्तक तयार पारिएको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *