सहकारी ठगीमा धनराज गुरुङमाथि अनुसन्धान गर्न संसदीय समितिको सिफारिस, रवि लामिछानेबारे के आयो निष्कर्ष ? – Nepal Press

सहकारी ठगीमा धनराज गुरुङमाथि अनुसन्धान गर्न संसदीय समितिको सिफारिस, रवि लामिछानेबारे के आयो निष्कर्ष ?

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले ठगीमा संलग्न विभिन्न व्यक्तिहरूलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदन सोमबार सदस्यले हस्ताक्षर गरेर संसद्लाई बुझाउने तयारी रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारीबाट जीवी राईले गोर्खा मिडियामा ल्याएको पैसा खर्च गर्नमा संलग्न देखाइएको छ । सहकारीबाट पैसा निकाल्न भने रविको भूमिका नदेखिएको समितिका एक सदस्यले बताए ।

ती सदस्यका अनुसार अनुसार लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक भएकाले त्यहाँ आएको रकम खर्च गर्दा उनले हस्ताक्षर गरेका हुन् ।

गोरखा मिडिया कम्पनीका अध्यक्ष जीवी राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेका थिए ।

समितिका अर्का सदस्यका अनुसार रवि, जीवी र छवि समेतले गोर्खा मिडियाको सेयर लिने, पैसा जम्मा गर्ने र भौचर बुझाउने कार्य कानूनसम्मत देखिएको छैन ।

कांग्रेस उपसभापति गुरुङमाथि अनुसन्धान सिफारिस

समितिले नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ सहकारीको रकम अपचलनमा संलग्न रहेको ठहर्‍याएको छ । उनीमाथि अनुसन्धान गर्न समितिले सिफारिस गरेको छ ।

समितिले तयार पारेको प्रतिवेदनमा ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १४ करोड रुपैयाँ अपचलनमा गुरुङ र उनकी श्रीमती ज्योति गुरुङको संलग्नता रहेको भन्दै अनुसन्धान गर्नका लागि सिफारिस भएको हो ।

समितिले छानबिन गरिरहेका बेला सहकारी मितेरी सहकारी संस्थाका सञ्चालकबाटै उजुरी परेपछि संसदीय छानबिन विशेष समितिले सहकारीको स्थलगत अध्ययन गरेको थियो । उनीमाथि पनि अनुसन्धान गर्न समितिले सरकारी निकायलाई पत्राचार गर्ने समितिमा सहमति भएको हो । समितिका सदस्यका अनुसार प्राप्त प्रमाणका आधारमा गुरुङमाथि अनुसन्धान गर्न समितिले सिफारिस गर्ने सहमति जुटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर