बागमती प्रदेशका ‘बेकाम’ मन्त्री, जसले शपथ खाएकाे ५४ दिन हुँदा पनि पाएका छैनन् मन्त्रालय – Nepal Press

बागमती प्रदेशका ‘बेकाम’ मन्त्री, जसले शपथ खाएकाे ५४ दिन हुँदा पनि पाएका छैनन् मन्त्रालय

हेटौंडा । मुख्यमन्त्री बहादुर सिंह लामाको कार्यकक्ष अर्थात् मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा एउटा सानो कोठामा कहिलेकाहीँ मात्र आउँछन् बागमती प्रदेशका विनाविभागीय मन्त्री मदुकुमार श्रेष्ठ ।

मन्त्रालय नपाएको कारण उनलाई उति सारो कामको चटारो छैन । अन्य मन्त्रीहरू जस्तो उनलाई दैनिक कर्मचारीसँगको मिटिङ, अनुगमन, कार्यक्रमको उद्घाटनमा पनि व्यस्त बन्नु पर्दैन ।

उनको कार्यकक्षमा योजना माग्ने कार्यकर्तादेखि जागिर माग्ने शुभचिन्तकको भीड पनि हुँदैन । लामा नेतृत्वको सरकार गठन भएपछिको ५४ दिनको समय उनको दैनिकी यसरी नै चलेको छ ।

गत साउन ९ गते मुख्यमन्त्रीसँगै शपथ लिएका श्रेष्ठ अहिलेसम्म भूमिकाविहीन छन् । आफूभन्दा पछि मन्त्री भएकाहरूले मन्त्रालय पाएर काम सुरु गरिसक्दासमेत मुख्यमन्त्री लामाले श्रेष्ठको मन्त्रालय तोकेका छैनन् ।

मन्त्री नियुक्तिको समयमा काङ्ग्रेसको आन्तरिक राजनीतिमा देखिएको किचलोको कारण श्रेष्ठ जिम्मेवारविहीन बनेको काङ्ग्रेस वृत्तमा चर्चा छ । उनी जिम्मेवारविहीन बन्नुपरेको अर्को कारण काङ्ग्रेसले सत्ता साझेदार एमालेसँग गरेको ‘भद्र’ सहमति उल्लंघन पनि हो ।

सरकार गठनको समयमा मुख्यमन्त्रीसहित १३ मन्त्रालय बनाउने सहमति थियो । जसमा काङ्ग्रेस ७ र एमालेको ६ वटा मन्त्रालय हुने भनिएको थियो, तर काङ्ग्रेसले उक्त सहमतिको अपव्याख्या गर्दै सात मन्त्रालय भने मुख्यमन्त्रीबाहेक हो भन्ने बखेडा झिकेपछि १३ वटा मन्त्रालयमात्र रहेको बागमतीमा मुख्यमन्त्रीसहित १४ मन्त्रीले शपथ लिए ।

शपथपछिको सकस भने मुख्यमन्त्रीलाई पर्न गयो । बजेटपछि सरकार गठन भएको कारण नयाँ मन्त्रालय निर्माण गर्दा बजेट कताबाट व्यवस्थापन गर्ने एउटा समस्या छ भने अर्को समस्या कुन मन्त्रालय फुटाउने भन्नेमा हो ।

एमालेको भागमा परेको मन्त्रालय फुटाउने सम्भावना नरहेको र काङ्ग्रेसकाे भागमा परेको मन्त्रालय फुटाउन नदिने आफ्नै मन्त्रीको घेराबन्दीमा मुख्यमन्त्री लामा परेका छन्, जसले गर्दा मदुकुमार कति दिन विनाविभागीयको ट्याग लगाएर हिँड्नुपर्ने अझै टुंगो छैन ।

हालसम्म जिम्मेवारी नपाएका श्रेष्ठले आफूले चाँडै महत्त्वपूर्ण मन्त्रालय पाउने विश्वास व्यक्त गरे । मन्त्रालयको विषयमा छलफल भइरहेको भन्दै उनले चाँडोभन्दा चाँडो आफ्नो मन्त्रालयको विषयमा आमनागरिकले थाहा पाउने बताए ।

चाँडै जिम्मेवारी दिने तयारीमा छु: मुख्यमन्त्री लामा

५४ दिनदेखि जिम्मेवारी नपाएका श्रेष्ठलाई चाँडै मन्त्रालयकाे जिम्मेवारी दिने तयारी गरेको मुख्यमन्त्री लामाले बताए ।

मन्त्रालय थप्ने कि फुटाउने भन्ने विषयमा सत्ता साझेदार दलसँग छलफल भइरहेको बताउँदै उनले पार्टीमा आन्तरिक कुराकानी पनि भइरहेको बताए ।

राजनीतिमा कहिलेकाहीँ समस्याको सामना गर्नुपर्ने बताउँदै लामाले आफू उक्त समस्यालाई समाधान गर्दै चाँडोभन्दा चाँडो श्रेष्ठलाई भूमिका दिन तयार रहेको बताए ।

मन्त्रालय फुटाउने या थप्ने कुरामा हाम्रो समर्थन हुन्न : एमाले

नेकपा एमालेले भने मन्त्रालय टुक्राउने र थप्ने विषयमा आफूहरूको सहमति नरहने जनाएको छ ।

एमाले सरकारमा सहभागी हुँदा मन्त्रालय टुक्राउने या थप्ने विषयमा कुनै छलफल या सहमति नभएको र मुख्यमन्त्रीले आफ्नो सहयोगको लागि विनाविभागीय मन्त्री नियुक्त गरेको जानकारी गराएको एमाले बागमती प्रदेशसभाका प्रमुख सचेतक मधुसूदन पौडेलको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर