खाता रोक्का तथा फुकुवाको स्पष्ट व्यवस्था गर्दै राष्ट्र बैंकले जारी गर्‍यो विनियमावली – Nepal Press

खाता रोक्का तथा फुकुवाको स्पष्ट व्यवस्था गर्दै राष्ट्र बैंकले जारी गर्‍यो विनियमावली

कस्तो अवस्थामा खाता रोक्का तथा फुकुवा गर्न सकिन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले खाता रोक्का तथा फुकुवाको लागि स्पष्ट व्यवस्था गर्न विनियमावली जारी गरेको छ ।

विभिन्न कारणले खाता रोक्का तथा फुकुवामा देखिएको अन्यौलता विनियमावलीले हटाउने नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकले जारी गरेको खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली यही असोजबाट लागू हुनेछ ।

केन्द्रीय बैंकले भनेको छ , ‘बैक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्ने सम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११० को प्रयोजनको लागि नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ११० को उपदफा (२) को खण्ड (ण) ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकको सञ्चालक समितिबाट विनियमावली तर्जुमा गरी लागू गरिएको छ ।’

कुनै इजाजतपत्र प्राप्त संस्थामा रहेको खाता रोक्का गर्नको लागि अधिकारप्राप्त अधिकारीले सो कानुनको व्यवस्था स्पष्ट उल्लेख गरि खाता रोक्का गर्नुको स्पष्ट कारण खुलाई प्राकृतिक व्यक्तिले राष्ट्र बैंकलाई लिखित अनुरोध गरेमा तुरुन्त खाता रोक्का हुनेछ ।

खाता रोक्का गर्न खातावालाको नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र, वा नेपाल सरकारले जारी गरेको स्पष्ट परिचय खुल्ने आधिकारिक विवरण तथा तीन पुस्ते विवरण विवरण केन्द्रीय बैंकमा पेश गर्नु पर्नेछ ।

तर कानुनी व्यक्तिको हकमा भने खाता रोक्का गर्नुको स्पष्ट कारण, फर्म, कम्पनी तथा संस्थाको खाता रोक्का गर्नुपर्दा खातावालाको आधिकारिक नाम, ठेगाना, दर्ता नम्बर र स्थायी लेखा नम्बर, कुनै निश्चित खाता मात्र रोक्का राख्नुपर्ने अवस्थामा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर र खाता रहेको बैंकको विवरण केन्द्रीय बैंकमा लिखित रूपमा पेश गर्नुपर्नेछ ।

आंशिक खाता रोक्का राख्नुपर्ने भएमा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर, रोक्का राख्नुपर्ने रकम (अक्षर र अङ्कमा) र खाता रहेको बैंकको विवरण पेश गर्नुपर्नेछ । खाता रोक्काको पत्र इमेल मार्फत समेत पठाउन सकिने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

यता फुकुवाका लागि भने खाता रोक्का राख्न अनुरोध गर्ने निकायको अधिकारप्राप्त अधिकारीले आंशिक रोक्का रहेको खाता फुकुवा, निश्चित रोक्का रहेको खाता फुकुवा वा सम्पूर्ण रोक्का रहेको खाता फुकुवा गर्न अनुरोध गरेबमोजिम रोक्का रहेका खाता फुकुवा गर्न राष्ट्र बैंकले इजाजतपत्रप्राप्त संस्थालाई निर्देशन दिनेछ । तर, रोक्का रहेको खाता अदालतको आदेशबमोजिम फुकुवा गर्न इजाजतपत्रप्राप्त संस्थालाई राष्ट्र बैंकको निर्देशन अनिवार्य हुनेछैन ।

इजाजतपत्रप्राप्त संस्थाले सम्पूर्ण खाता रोक्का, निश्चित खाता रोक्का, आंशिक खाता रोक्का एवम् खाता फुकुवा गर्न राष्ट्र बैंकले दिएको निर्देशनबमोजिम अविलम्ब खाता रोक्का वा फुकुवा गरी खाता रोक्का वा फुकुवा भएको जानकारी तत्काल राष्ट्र बैंक र सम्बन्धित अनुसन्धान गर्ने अधिकारप्राप्त अधिकारीलाई गराउनुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *