रविको संलग्नता गोर्खा मिडियामा मात्र, कारवाही सिफारिस गर्ने कि नगर्नेमा समितिभित्र विवाद – Nepal Press
सहकारी छानबिन संसदीय समिति

रविको संलग्नता गोर्खा मिडियामा मात्र, कारवाही सिफारिस गर्ने कि नगर्नेमा समितिभित्र विवाद

जीवीले ६५ करोड रूपैयाँ विभिन्न सहकारीबाट गोर्खा मिडियामा ल्याएको पुष्टि, सो रकम खर्च गर्नमात्र रविको हस्ताक्षर

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगीमा सिधै दोषी ठहर्‍याउन सकेन । जीवी राईले गोर्खा मिडियामा ल्याएको रकम खर्च गर्ने सवालमा मात्रै रविलाई जिम्मेवार देखाइएको छ ।

तत्कालीन गृहमन्त्री लामिछानेले सहकारीको रकम अपचलन गरेको भन्दै तत्कालीन प्रतिपक्षी कांग्रेसले संसदमा आवाज उठाएको थियो । कांग्रेस महामन्त्री गगन कुमार थापाले रविले सहकारीबाट रकम निकालेको प्रमाण आफूसँग रहेको संसदमा बताएका थिए । यही विषयमा लगातार संसद अवरोध भएपछि संसदीय छानबिन समिति बनाउने सहमति भयो ।

छानबिन समिति गठनपूर्व यसको कार्यादेश (टीओआर) बनाउनका लागि चार सदस्य समिति बनाइएको थियो । एमाले, माओवादी र रास्वपा सत्तामा तथा कांग्रेस प्रतिपक्षमा हुँदा यो समिति गठन भएको हो । कांग्रेसले लामिछानेलाई निरन्तर आरोपित गरिरहँदा एमाले-माओवादीले उनको बचाउ गरेका थिए । संसदीय समितिमा एमालेका सूर्य थापालाई संयोजक बनाइयो । कांग्रेसबाट ईश्वरी न्यौपाने र दीलेन्द्र बडू, एमालेबाट सरिता भुसाल, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

त्यसबेलाको सत्ता समीकरण अनुसार गृहमन्त्री लामिछाने अनुकूल अवस्थामा थिए । संयोजक सूर्य थापासहित एमालेका २, माओवादीका एक, रास्वपाका एक गरी चारजनाको बहुमत उनको पक्षमा थियो । कांग्रेसका दुई र राप्रपाका एक गरी तीनजना विपक्षमा थिए । तर, अहिले समीकरण बदलिएको छ ।

एमाले-माओवादी समीकरण भंग भएसँगै माओवादी र रास्वपा विपक्षमा पुगेका छन् । राप्रपा पनि विपक्षमै छ । कांग्रेस र एमालेले सत्ता सहकार्य गरिरहेका छन् । राजनीतिक कित्ता बदलिएपश्चात एमालेको रविलाई हेर्ने दृष्टिकोण पनि बदलिएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली रविप्रति पहिलेजस्तो सकारात्मक छैनन् ।

अहिले संसदीय समितिको गणित हेर्दा सत्तारुढ दल एमाले र कांग्रेसका चारजना बहुमतमा छन् । कांग्रेसका सदस्यहरूलाई जसरी पनि रविलाई दोषी देखाउने ‘म्यान्डेट’ पार्टीको थियो । कांग्रेस–एमाले एक ठाउँमा आउँदा उनीहरुले चाहेजस्तो प्रतिवेदन लेख्न सक्ने अवस्था बन्यो ।

स्रोतका अनुसार अनुसार रविलाई रविलाई कारवाही सिफारिस गर्ने कि नगर्ने भन्नेमा समितिभित्र अझै विवाद छ । समितिका सदस्य शिशिर खनालले प्रतिवेदनमा हस्ताक्षर भइनसकेको भनेर ट्वीटरमा लेखेका छन् । यदि रविलाई दोषी देखाएर कारवाही सिफारिस गर्ने निर्णय भएको खण्डमा खनालले नोट अफ डिसेन्ट लेख्ने पार्टी स्रोत बताउँछ । माओवादीले पनि रास्वपालाई साथ दिने छ । राप्रपाको अडान भने प्रष्ट छैन ।

‘मिडियामा विभिन्न स्रोतबाट आएको पैसा आफूले खर्च गरेको सभापतिले नै स्वीकार गर्नुभएको छ,’ रास्वपा स्रोतले भन्यो, ‘यो कुरा प्रतिवेदनमा उल्लेख गर्दा आपत्ति होइन । तर, सहकारीको रकम हिनामिनामै उहाँलाई दोषी देखाउन खोजियो भने मान्य हुँदैन ।’

माओवादी र रास्वपाका दुई सदस्यले हस्ताक्षर नगर्दा पनि प्रतिवेदनमा बहुमत जुट्छ, तर यो सर्वस्वीकार्य नहुने भएकाले संयोजक सूर्य थापा सहमतिकै प्रयासमा छन् ।

समिति एक सदस्य भन्छन्, ‘रविजीको नाममा सहकारीबाट पैसा निकासा गरिएकोसम्म देखिन्छ, तर उहाँ आफैंले हस्ताक्षर कतै पनि गर्नुभएको छैन । उहाँ सहकारीको सदस्य पनि नरहेको हुँदा आफैंले रकम हिनामिना गर्न सक्ने अवस्था देखिँदैन । यसमा एकल जिम्मेवार जीवी राई हुन् ।’

स्रोतका अनुसार जीवीले विभिन्न सहकारीबाट कुल ६५ करोड रूपैयाँ ल्याएर गोर्खा मिडियामा लगानी गरेका छन् । रविलाई प्रवन्ध निर्देशक बनाएर जीवीले सो मिडिया सञ्चालन गरेका हुन् । उनलाई केही प्रतिशत ‘स्वेट सेयर’ पनि दिएका थिए । रविलाई सेयर दिने क्रममा गोर्खा मिडियाकै रकम प्रयोग भएको थियो ।

पदीय हिसाबले सञ्चालक भए पनि रवि खासमा तलवी कर्मचारी नै थिए । जीवीले कहाँबाट ल्याएर पैसा लगानी गरेका हुन् भन्ने आफूलाई थाहा नभएको बयान उनले दिँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर